काठमाडौं । जिउँदै मान्छे इँटाभट्टमा जलाएर सामूहिक हत्या गरेको अभियोगमा विगत तीन वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद आफताव आलमलाई कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस क्षेत्रीय कार्यसमितिले उनलाई गृहक्षेत्र रौतहट २ को उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो ।
कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताका अनुसार क्षेत्रीय कार्यसमितिबाट आलमको नाम सर्वसम्मत सिफारिस भएको छ ।
नख्खु कारागारमा रहेका अफ्ताब आलमलाई सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत साता भेटेका थिए । स्रोतका अनुसार करिब एक घन्टा भएको छलफलमा आलमले रौतहट २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न चाहेको बताएका थिए ।
मन्त्री कार्कीले यसमा सहजीकरण गर्न सघाउने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धतापछि उनको नाम सर्वसम्मतले सिफारिस भएको हो ।
र गुप्ताले क्षेत्रीय कार्यसमितिबाट आलमको नाम सर्वसम्मत सिफारिस भएको बताए ।