कमाठमाडौं । ठगी आरोपमा फरार एक अभियक्तलाई प्रहरीले नक्सालस्थित मेरियट होटलबाट पक्राउ गरेको छ ।
यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका आलमलाई प्रहरीले पक्राउ गरेर विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको छ । आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका व्यक्ति हुन् । आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका थिए ।
उनी भीआईपी पास प्रयोग गरी राहदानी चेक नै नगराइ विमानस्थलबाट बाहिरिएको अध्यागमन कार्यालयले जनाएको छ । विमानस्थलबाट होटेलसम्म मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडीमा गएको प्रहरीले जनाएको छ । दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए । यूएई संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीलाई लिन गएका बेला अन्सारीले आलमलाई आफ्नै गाडीमा हालेर होटेल पुर्याएका हुन् ।
आलमसहित तीन जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा आलमविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको कसुरमा कारबाहीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।