विराट हेल्थ कलेजको डीआईबाट बलात्कृत युवतीको बयान : ‘राक्षस बसेको कलेजमा म जान सक्दिनँ’

- खुमा ओली  

विराटनगरमा कोठा भाडामा बस्दै आएकी सीमा पोखरेल (नाम परिर्वतन) फार्मेसी विषय लिएर विराट हेल्थ कलेजमा अध्ययन गर्दै थिइन् । दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेका बेला अनुसासन प्रमुख (डीआई) सुरज भनिने अमर सुवेदी परीक्षा हलमा प्रवेश गरे । परीक्षा दिइरहेकी १८ वर्षीया सिमालाई चिट दिन खोजे, सिमाले चिट लिन नमानेपछि उनका अगाडि फालेर उनी बहिरिए । त्यसपछि परीक्षा सकेर सिमा आफ्नो कोठा तिर लागिन् । उनी कोठामा पुगेको केही समयपछि कसैले ढोका ढकढकाक्यो । सिमाले ढोका खोलिन्, ढोकामा सुवेदी उभिएका थिए । सीमा आश्चर्य मान्दै हेरिरहिन् त्यतिजेलसम्म सुवेदी कोठमा पसिसकेका थिए । सिमाले उनीतर्फ हेर्दे प्रश्न गरिन्, तपाई किन यहाँ आउनु भएको ? सुवेदीले जवाफ दिए, म पानी पिउँन आएको हुँ मलाई पानी देऊ । सिमाले पानी दिइन् । पानी खाइसकेपछि सुवेदीले उनलाई एक सय रुपैयाँ दिएर चुरोट किन्न पठाए ।

सिमाले बयानमा भनेकी छन्, ‘मैले पानी दिएँ, पानी खाइसकेपछि मलाई एक सय रुपैयाँ दिएर चुरोट किन्न पठाउनुभयो, चुरोट लिएर आएपछि मलाई पानी पिउन दिनुभयो । पानी खाइसकेपछि चक्कर लागेजस्तो भयो ।’ सिमा होसमा आउदा भोलिपल्ट बिहान भइसकेको थियो । उनले भनेकी छन्, ‘होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको थियो । कोठामा बियरका बोतल, चुरोटका ठुटा र कागज छरपष्ट थियो, बेडमा रगतको टाटै–टाटा थियो । मेरो जिउमा भित्री बस्त्र समेत थिएन ।’ सिमाले आफूमाथि सुवेदीले बलात्कार गरेको भोलिपल्ट बिहानमात्र थाहा पाइन् । यो पहिलो घटना थियो ।

त्यसपछि सुवेदीले करणी गरेको भिडियो देखाएर उनलाई धम्क्याउँदै कहिले डेरा त कहिले होटलमा लगेर बलात्कार गरे । यो परिशानीबाट दुर हुन उनले डेरा खोजेर चारपटकसम्म सरिन्, तर सुवेदीले पिछा छाडेनन् । गत जेठको अन्तिमतिर सिमालाई फोन गरेर धम्कीपूण स्वरमा धरान आउन भनियो । यत्रो अत्याचार सहँदै आएकी सिमा पनि डराएर धरानको जाने बसमा चढिन् । सिमाले भनेकी छन् । ‘मलाई मिति र समय याद भएन, जेठ अन्तिमतिर धरान आइज भन्दै धम्काएपछि म बस चढेर धरान गएँ, धरान पुगेपछि त्यतैबाट मोटरसाइकलमा राखेर संखुवासभाको खादबारीमा लगेर भेनस होटलमा ३ दिन राखी पटक पटक जवरजस्ती करणी गरे ।’ कोठा सरिसकेपछि पनि पिछा नछोडेका सुवेदीले पछिल्लो पटक असार २८ गते सिमाकै काठामा पुगेर बलात्कार गरे ।

चार महिनासम्म यो शृङ्खला चलिरहेको हुन्छ । यही बीचमा कहानीमा अर्को ट्वीस्ट आउँछ विराटनगरका जग्गा कारोबारी विनोद राउत पनि जोडिन्छन् । गत जेठको अन्तिम साता सिमालाई बेलुका सुवेदीले विराट होटलमा बोलाएका थिए । होटलको १०४ नम्बर कोठामा राउत पनि पुग्छन् । दुवैजनाले सिमामाथि करणी गरेपछि राति नै होटलबाट बाहिरिन्छन् । सिमा अब मानसिक रुपमा विछिप्त भइसकेकी हुन्छिन् । सिमालाई होटलमा लगेको समय याद छैन । साथै होटलको रेकर्डमा पनि नाम नभेटिएका कारण समय खुलेको छैन । सुवेदी र राउत साथी हुन् । उनीहरु दुवै राष्ट्रिय खेलकुद परिषद्को मोरङको कराते प्रशिक्षक पनि हुन् ।

डीआईले पटक पटक बलात्कार गरेपछि मानसिक रुपमा विछिप्त सिमा गत चैतदेखि नियमित कलेज जान सकिनन् । यहाँसम्म आइपुग्दा पनि सुवेदीले पिछा गर्न भने छाडेनन् । त्यसपछि सिमाले केही सुवेदीबाट पिछा छोड्ने उपाय खोजिन् । यहि क्रममा उनले सुवेदीका छोरालाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर आफूमाथि भएको जवरर्जस्तीको को बेलिबिस्तार लागाउँदै बुवालाई सम्झाउन आग्रह गरिन् । आफ्नो जीवन बर्बाद भएको भन्दै सिमाले सुवेदीका छोरालाई सन्देश लेखिन् । उनी लेख्छिन्, ‘लास्ट गर्दै हुनुहुन्छ, के गर्नु म ? प्लिज मेरो लास्ट होप तपाईंमात्रै हो अब ।’

तर उनले आफ्नो बुवालाई सम्झाउन नसक्ने जवाफ दिए । उनको यस्तो जवाफपछि सिमाले आमा (सुरजको श्रीमती) को फोन नम्बर मागिन् । तर ममीलाई हर्ट हुने भन्दै उनले फोन नम्बर पनि दिएनन् । गत साउन ६ मा कलेजबाट सिमाको घरमा फोन गएपछि घटनाले नयाँ मोड लियो । उनी लामो समयदेखि कलेज नगएको खबर पाएपछि अभिभावकले सोधीखोजी गरे । सीमाकी आमाले बयानमा भनेकी छन्,‘कलेजबाट श्रीमानको नम्बरमा फोन आयो । तपाईकी छोरी चैतदेखि कलेज आएकी छैनन् । कलेजमा प्राक्टिकल परीक्षा भइरहेको छ, तपाइँकी छोरी फेल भए कलेज जिम्मेवार हुने छैन भनि फोन गरेपछि सोही दिन मेरो श्रीमान बिराटनगर १७ मा बस्ने छोरीको कोठामा पुगी छोरीलाई कलेज किन नगएको भनि सोधीखोजी गरी घरमा लिएर जाँदा निजको शारीरिक तथा मानसिक अवस्था नाजुक रहेको थियो ।’

गत साउन ७ गते शारीरिक तथा मानसिक रुपमा विछिप्त भएकी छोरीलाई उनका बुवाले घर लिएर आए । भोलिपल्ट सिमाका बुवाले कलेजमा फोन गरेर छोरीको अवस्था ठिक नभएको र स्वास्थ्यमा सुधार आएपछि कलेज पठाउँने जानकारी गराए र छोरीलाई आवश्यक प्राक्टिकल चलिरहेकोले कलेज जानु पर्छ भन्दा सिमाले जान मानिन् । उनले रुदै भनिन्,‘कलेजमा राक्षस बसेको छ, म जान सक्दिन ।’

सिमाका बुवाले बयानमा भनेका छन्,‘छोरीले केलेज जान नसक्ने कुरा बताएपछि मेरो छोरीमाथि केही घटना भएको होला भनि शंका मानि म सहित श्रीमती र छोरी विराट हेल्थ कलेज पुग्यौँ । त्यसपछि मेडम रुवी शर्मा लगायत ६ जना शिक्षकहरुसँग कुराकानी गर्ने क्रममा छोरीले अपराधी यही हो भनी सुरज भन्ने अमर सुवेदीलाई देखाइन् ।’

तर यता बलात्कारको आरोप लागेका सुवेदीले आफूले बलात्कार नगरेको बयान दिएका छन् । उनले बयानमा भनेका छन्, ‘एक वर्ष अघि कलेज आउँदा कलेजको अनुशासन पालना नगरेकाले निजलाई अनुशासनमा रही कलेज आउन सम्झाई बुझाई गरेको र पटक पटक सम्झाउँदा समेत कलेजको अनुशासन पालना नगरेकाले निजलाई गेटबाट छिर्न नदिई रोकेको हो । सोही विषयमा रिसइवी राखी मेरो विरुद्ध जवरजस्ती करणी गरेको भनि जाहेरी दरखास्त दिएको हुनुपर्छ । ’

यता अर्का बलात्कारको आरोप लागेका विनोद कुमार राउत क्षेत्रीले पनि यो कुरा साँचो नभएको दाबी गरेका छन् । उनले बयानमा भनेका छन्,‘सुरज भनिने अमर सुुवेदी मेरो सानै देखिका साथी हुन् । जाहेरी दिनेवाली निजलाई मैले चिनेको पनि छैन, देखेको पनि छैन । मैले निजलाई जवरर्जस्ती करणी गरेको छैन कुन मनसायले म विरुद्ध जवरर्जस्ती करणीमा जाहेरी दिएकी हुन् मलाई थाहा भएन ।’