“महिला हक अधिकारको कुरा गर्नु पुरुषको विरोध गर्नु होइन्”

- फूलमती  

ललितपुर महानगरपालिका महिला विकास प्रमुखः महेश्वरी बिष्ट

बाल्यकालमा महिलाहरु माथि हुने विभेद मैले भोग्नु परेन । आर्थीक हिसाबले सम्पन्न परिवार र म एक्ली छोरी । तर, म हुर्केको ठाँउमा अरु केटीहरु भने पढ्न जाँदैन्थे । जब म कक्षा ८ मा पढ्थेँ त्यतिबेला मलाई महिलामाथि शोषण भइरहेको छ भन्ने अनुभव भयो । घरमा सबै काम महिलाले गर्नुपर्ने, पुरुषले भनेका सबै कुराहरु मान्नु पर्ने र आर्थीक रुपमा पनि पुरुषमा नै निर्भर हुनुपर्ने यस्तो खालको वातावरण परिवार र समाजमा देखेपछि मलाई महिलाको लागि केही गर्नुपर्छ है भन्ने लाग्यो । महिलाका दुख देखेर विवाह गर्नु हुँदैन भन्ने मानसिकता बन्यो । आफू आत्म निर्भर हुनुपर्छ र आँफू संगै सबै महिलाहरुको लागि लड्नुपर्छ भन्ने चेतना ८ कक्षामा पढ्दा नै आयो । एसएलसी सकेपछि म काठमाडौं आए । पढाई संगै कामलाई पनि अगाडि लानुपर्छ भनेर मैले गार्मेन्टको तालिम लिएँ । गार्मेन्टको तालिम लिएर म सफल व्यवसायी र पैसा पनि कमाउन सक्थेँ । सोच नआएको पनि होइन् तर मलाई त्यतिले मात्रै हुँदैन भन्ने लाग्यो । पढाईलाई अगाडि बढाउदै मैले सबै कामहरु सिक्न थालेँ । मलाई कपडा बुन्नदेखि लिएर डिजाइन गर्न सबै आउँछ ।

विवाह किन गर्ने भन्ने अझै पनि लाग्छ

सबैले विवाह गर्नुपर्यो भनेर चौतर्फी दबाव दिन थाले । मास्टर्स पढ्दा–पढ्दै विवाह भयो । हामी हुर्केको समाज त यही नै हो । तर, मलाई विवाह गर्ने सोच कहिल्यै आएन । अहिले पनि किन विवाह गर्ने भन्ने सोच आँउछ । आफ्नो घरपरिवार, आफन्त र समाजमा महिलाहरुले जिएको जिन्दगी देखेर म यस्तो जिन्दगी जिउने छैन लाग्थ्यो तर पनि विवाह भयो ।

विवाह पछिको जीवन

विवाह पछिको महिलाको जीवन मैले नजिकबाट देखेकी थिएँँ । त्यसैले मलाई वैवाहिक जीवनदेखि मन मरिसकेको थियो । विवाहपछि सबै कामहरु आफ्नो हिसाबले गर्न पाइँदैन । कतै न कतै केही न केही कुराले अल्झ्याउँछ नै । मेरो विवाह भएपछि छिटै नै बच्चा भयो । मास्टर्स पढ्दै नै थिएँ । महिला विकासको फर्म खुलेको देखेर फर्म भरेकी थिएँँ । त्यसपछि त महिला विकासको जिम्मेवारी पनि आइपुग्यो र त्योसंगै बच्चाको जिम्मेवारी । सबै कामहरु संगै गर्नु मुश्किल थियो तर मैले सबै कामहरु मिलाएर गर्नुपर्छ, पछि हट्नु हुँदैन भन्ने लाग्यो ।

बच्चासंगै काममा जाँदाको संघर्ष

महिला विकासको कामको सिलसिलामा एउटा जिल्ला जानुपर्ने थियो । म खटाएको जुनसुकै जिल्ला जान तयार थिएँँ । यदि मैले चाहेको भए म आफ्नो आसपासका जिल्लाहरु पनि रोज्न सक्थें तर मलाई डडेलधुरा जान मन थियो । त्यहाँका महिलाहरुको स्थिति बुझन् मन थियो । शहर भन्दा परका महिलाहरुको जनजीवन कसरी चलिरहेको छ, कसरी बाँचिरहेका छन् बुझ्न मन लाग्यो र मैले डडेलधुरा नै रोजें । म कामको सिलसिलाले डडेलधुरा बच्चा संगै जाँदैछु भनेपछि घरपरिवार, माइतीघर र आफन्त सबैले गाली गर्न थाले । सबै भन्थे,“कहिल्यै अफ्ठयारो तरिकाले नबसेकी मान्छे, संधै मिठो खाएकी मान्छे, बच्चा लिएर किन जाने ? आफूँलाई त दुख दिने नै भयौ र बच्चाले पनि दुख पाउने भयो, सबथोक पुग्या छ किन जाने ?” यस्ता धेरै प्रश्नहरु मेरा अगाडि खडा गरिएको थियो । त्यतिबेला मलाई साथ दिने र मेरो पक्षमा उभिने कोही थिएनँ । मलाई आफ्नो लागि धन–पैसा जोड्ने भन्दा पनि महिलाको लागि काम गर्ने मन थियो । त्यसैले सबै चुनौतीहरुको सामना गर्दै डडेलधुरा जाने निर्णय तय गरें ।

डडेलधुरा पुग्दा

डडेलधुरा पुग्दा मलाई त्यहाँका महिलाको जीवन देखेर निकै नै गाह्रो भयो । त्यहाँका महिलाको पहिरन, खुवाई, जीवनशैली, स्वास्थ्य निकै नै दयनिय थियो । डडेलधुराको ठाँउ भने जस्तो खाना नपाइने, केही थोक पनि आँफूले भने जस्तो हुँखैनथ्यो तरपनि मैले त्यही ठाँउ रोजे । मैले यो ठाँउमा काम गर्नैपर्छ भन्ने लाग्यो । महिलाहरु च्यातिएका पेटीकोटमा मजेत्रो बेरेका, महिनाबारी हुदाँ लगाउने प्याड त परको कुरा भित्री कपडा टालाहरु समेत थिएँनन् । कपडामा रगत, बसिरहेको ठाँउमा रगत, खाना संधै रोटी र नुन, वर्षै पिच्छे बच्चा जनमाउने, ३० वर्षका महिला पनि चाउरी परेका ५०–६० वर्षका जस्ता देखिने । यस्तो सबै कुराहरु देखेपछि मलाई यहाँ काम गर्नैपर्छ भन्ने लाग्यो । तपाईंहरु खाना के खानुहुन्छ भनेर सोध्दा,“हामी त रोटा र नुन खुसार्नी खान्छौं” भन्थे । सुत्केरी हुदाँ समेत राम्रो खानपिन थिएँन्, बच्चाहरु प्रत्येक वर्ष जन्मने, प्रायः बच्चाहरु धेरै मर्थे ।

डडेलधुरामा आएको परिवर्तन

मैले डडेलधुरामा बसेर पाँच वर्ष काम गरें । सुरुको तीन महिना त साग खान नपाएर हरिया रुख देख्दा पनि पकाएर खानु पाए जस्तो लाग्थ्यो । त्यहाँ खानाको लागि निकै गाह्रो थियो । तर, त्यहाँका महिलामा परिवर्तन ल्याउन जरुरी थियो । महिलाहरु जम्मा गर्ने, कुराकानी गर्ने र बुझाउने प्रयत्न गर्न थालें । सीप सिक्नm सरकारले दिने लोनको बारेमा सबै कुराहरु भन्दा उनीहरु यस्ता कुरा नगर्नु भन्थे । त्यहाँका बैंकहरु पनि पैसा दिन्नथे । महिलालाई उद्यम गर्न दिएको पैसा बैंकको ढोकाबाट महिला निस्केपछि पुरुषको हातमा पुग्थ्यो । पुरुषले जुवा खेल्ने, जाँड रक्सी खाने गरेर पैसा उडाउने काम गरेपछि बैंकले पनि पैसा दिन छाडेछ ।
मैले डडेलधुराको महिलालाई हाम्रो जिन्दगी यस्तो होइन् भन्दा उनीहरु भाग्य त हो, यस्तै हो भनेर बस्थे । गहुँ रोपेको खेतमा तरकारी पनि रोप्नु भनेर बिउ दिँदा समेत श्रीमानलाई सोध्नुपर्छ भन्थे । खेतबारी देखि लिएर सबै कामगर्ने महिला अनि सोध्नु पर्ने पुरुषलाई ? महिलाहरुलाई हाम्रो जिन्दगी यस्तो जिन्दगी होइन्, परिवर्तन गर्न सकिन्छ भनेर धेरै जोड गरेर सिकाउन थालें । महिला विकासको कार्यलयमा नै न छिर्ने पुरुषहरुलाई पनि बोलाएर ल्याएर सम्झाउने कामगर्न थालें । एउटा कार्यक्रममा त मलाई तपाईंले महिलाहरुको बारेमा सोच्नु, उनीहरु भेला गर्नु, पुरुष किन बोलाएको भनेर एकजनाले भन्नुभएको थियो । त्यसपछि मैले महिलाहरुलाई अगाडि बढाउन पुरुषलाई पनि बुझाउनुपर्छ भनेर भनेकी थिएँँ । महिलाहरुको हक अधिकारको कुरा गर्नु पुरुषको विरोध गर्नु होइन् । प्रकृतिले त हामीलाई एकअर्काको लागि बनाएको हो । यो कुरा बुझ्न र बुझाउन जरुरी देखिन्छ ।

बैंकबाट पैसा लिएर लगानी गरेर काम गर्ने देखि लिएर धेरै कामहरु डडेलधुराका महिलाहरले गर्न थाले । त्यहाँका महिलाहरुमा अहिले आएको परिवर्तन देखेर मलाई निकै खुशी लाग्छ । अहिले त्यहाँका महिलाहरु केही केन्द्रीय राजनीति गरिरहेका छन् त केही अहिले व्यवसाय गर्दै छन् । केही साम्सद समेत भएका छन् ।

शहर र गाँउमा महिलाहरुको स्थिति एउटै

म ललितपुर महानगरपालिकाको महिला विकास प्रमुख भएपछि यहाँ धेरै ठूला भनिने जनप्रतिनीधिहरु महिला हिंसाका कुरा नगर्नू भन्थे । तपाईं आएको ठाँउमा होला यहाँ त छैन भनेर सुनाउथे । मलाई पनि लाग्थ्यो, वास्तवमा त्यस्तो होइन रहेछ । डडेलधुरा र ललितपुरका महिलाहरुको स्थितिमा खासै फरक छैन । हरेक ठाँउका महिलाहरु उत्पीडनमा परेका छन् । ललितपुरका महिलाहरुको स्थिति बुझेपछि यहाँका महिलाहरुलाई घरबाट बाहिर ल्याउन, आँफू माथि भएका शोषणहरु खुलेर राख्ने वातावरण अहिले बनेको छ । महिलाका लागि महिला अभियान देखि लिएर, सीप सिकाउने, तालिम दिने कामहरु अहिले भइरहेको छ ।

निकायहरुको मौनता
महिलाहरुको आवाज सुन्ने, महिलाको पक्षमा लड्ने निकायहरु सेलाएका छन् । एकजनाले मात्रै कामगर्न खोज्दा यति धेरै परिवर्तन हुन्छ भने सम्बन्धित निकायहरुले कामगर्ने हो भने परिवर्तन सम्भव छ । तर, सबै निकायहरु सेलाएर बसेका छन् । गर्न खोज्ने हो भने गर्न सकिन्छ । महिलाहरुको स्थितिमा सुधार ल्याउन र परिवर्तन गर्न सबै जुट्नु पर्छ ।

मैले प्रधानमन्त्रीको जेन्डर युनिटमा काम गर्दा हामीले त्यहाँबाट योजना, नीति नियम बनाउने देखि लिएर धेरै कामहरु गरेका थियौं ।

अहिले पनि म संग १२/१३ जनाको टिम छ । सबै संग मिलेर कामहरु गर्ने तालिम दिने, लैङिगक हिंसाका विषयमा कक्षाहरु चलाउने काम गर्दैछु । तीजको अवसरमा पनि दर खाने कार्यक्रम होइन् महिला माथि हुने शोषणका बारेमा प्रशिक्षण गर्ने कार्यक्रमहरु पनि आयोजना भैरहेका छन् । महानगरपालिकाले बजेट नछुटयाए पनि मैले व्यक्तिगत रुपमा भएपनि गर्नुपर्छ भनेर थुप्रै कामहरु गरेकी छु । एउटा व्यक्ति मात्रै लाग्दा त यति गर्न सकिन्छ भने सबै निकायले पहल गर्ने हो भने महिलाहरुलाई अगाडि ल्याउन सकिन्छ ।

 

सम्बन्धित खबर