अनुः फूलमती
“गोरो रंग बिना सुन्दरता सम्भव छैन ।” यस्तो म होइन्, हाम्रो समाजले संधै भन्ने गरेको छ । गोरो रंग नै सुन्दर हुनुको एकमात्र आधार हो भन्ने मानक समाजले बनाएको छ । र, बाल्यकालदेखि नै हामी त्यही सोचका साथ हुर्केका छौं । यो रंगभेदी समाजमा गोरो वर्ण नभएकाहरूले भेदभाव, हिंसा र घृणाको सामना गर्नुपर्ने हुन्छ । मेरो अनुहार कालो छ वा म गोरी रङ्गको छैन । जसको कारण मैले आफ्नो अनुहारका कारण बाल्यकालदेखि नै धेरै किसिमका हिंसा र विभेदको सामना गरेकी छु ।
हाम्रो छालाको रंगले यो पितृसत्तात्मक समाजमा लैङ्गिक आधारमा धेरै महत्व राख्छ । हाम्रो समाजले केटीहरूलाई विवाहको सामग्रीको रूपमा मात्र हेर्छ । त्यसैले समाजले केटीहरु र विवाहको सम्भावनाका लागि ‘सुन्दर’ हुनु नै सबैभन्दा महत्वपूर्ण कुरा रहेको बताएको छ । यहाँ सुन्दर हुनु भनेको गोरो रङ्ग हुनु मात्र हो । सुन्दरताको सन्दर्भमा पितृसत्ताको यो उपायले महिलाहरूलाई आपसमा विभाजित गर्ने काम गर्छ । साथै यसले महिलाको मानसिक र सामाजिक स्थितिमा पनि नराम्रो असर पार्छ । त्यसैले रंगभेदको कुरा गर्दा यो कुरा अक्सर बिर्सिन्छ कि पितृसत्ताले छालाको रंगको आधारमा कसैलाई कम वा बढी सुन्दर ठान्ने कुरा बिर्सन्छ तर लैङ्गिक विभेदको कुरा गर्दा यहाँ पितृसत्ताले सबैलाई समान व्यवहार गर्छ । हामीले प्रायः हाम्रो वरिपरि देख्ने रङ र सामाजिक व्यवहारसँग सम्बन्धित केही विचारहरूबाट यो बुझ्न सक्छौं ।
हाम्रो परिवारमा आज पनि छोराको जन्मलाई महत्व दिइन्छ । यस्तो अवस्थामा छोरीको जन्म परिवारमा शोकको लहरभन्दा कम हुँदैन । तर छोरीको रङ्ग हेर्दा त्यो दुःखको मात्रा पक्कै बढ्छ वा घट्छ । उदाहरणका लागि केटीको अनुहार गोरो छ भने दुःखको मात्रा अलि कम हुन्छ । “केटी भएपनि के भयो त, सुन्दर(गोरी) त छे” भन्दै परिवारका सदस्य सन्तुष्ट हुन्छन् । मानौं कि केटी जन्मनुको ‘दुःख’को भरपाई उसको रंग गोरो भएकाले गर्छ । तर छोरीको अनुहार गोरो नहुँदा यो दुःख पूरै शोकमा परिणत हुन्छ । परिवारका सदस्यले ‘एक त भगवानले छोरी दिनुभयो, त्यो पनि कालीे’ भन्दै दुःख व्यक्त गर्छन् ।
“तिम्रो अनुहार राम्रो छैन । अब कुनै सम्बन्ध भेटियो भने छिट्टै बिहे गर्नु राम्रो हुन्छ ।”
“केटी सुन्दर छ, जति चाँडो बिहे हुन्छ, त्यति राम्रो । आजको समय राम्रो छैन ।”
यी दुई कुराहरू प्रायः दुई फरक रंगका केटीहरूलाई भनिन्छ । दुबैको रंग फरक भए पनि केटी हुनु एउटै हो । त्यसैले हरेक बहानामा उनीहरुलाई विवाहको दबाब दिइन्छ । केटीको अनुहार कालो छ भने अब सम्बन्ध नभेट्ने र भेटिए पनि राम्रो नहुन सक्छ भनिन्छ । काली केटीहरूले जुन केटा पाउँछन्, उनीहरूले विवाह गरिहाल्नुपर्छ नत्र भने उनीहरुका लागि राम्रो सम्बन्ध नभेटिन् सक्छ भन्ने कुरा बारम्बार महशुस गराइन्छ । सोही समयमा यदि गोरी केटीलाई सम्बन्ध आयो भने केटी सुन्दर छ कतै गलत नहोस् भनी चाँडै बिहे गरिदिन्छन् । एक त यो समाजले आँफै एउटा मात्रै रङ्गलाई महत्व दिन्छ अनि उसलाई बचाउने नाममा छिट्टै बिहे गरिदिन्छ ।
“तिमी गहुँगोरी छौ । कहाँ छिट्टै जागिर पाउने ?”
“कामको लागि, चार पैसा कमाउन, धेरै मेहनत गर्नुपर्छ र आफ्नो योग्यता प्रमाणित गर्नुपर्छ ।
उनी हेर्दा सुन्दर छिन् । त्यसै काममा पक्कै पनि राखेको होइन् ।
यसले मालिकलाई खुशी तुल्याएको हुनुपर्छ ।” महिलाले कुनै काम गर्दा एकै ठाउँमा महिलाले दुई किसिमको अवस्थाको सामना गर्नुपर्ने हुन्छ किनभने उनीहरुको रंग एक अर्काभन्दा फरक हुन्छ । अनुहार गोरो नहुने महिलालाई उ भित्र केही कमी छ भन्ने महसुस गराइन्छ र यदि उ आफ्नो करियरमा अगाडि बढ्न चाहन्छे भने धेरै मेहनत गर्नुपर्छ । हरेक पाइलामा उसले आफ्नो योग्यता प्रमाणित गर्नुपर्छ । तर, त्यही ठाँउमा यो पितृसत्तात्मक समाजको मापदण्डअनुसार सुन्दर मानिने महिलाको ‘क्षमता’माथि प्रश्न उठाइन्छ । समग्रमा भन्नुपर्दा यहाँ पनि पितृसत्तात्मक समाजको उदेश्य महिलाहरुलाई उनीहरुको रंगको आधारमा दुई खेमामा बाँड्ने हो ।
जब यहाँ महिलाहरूको कुरा आउँछ, पितृसत्तात्मक व्यवस्थाले अझ नजिकबाट काम गर्दछ । शताब्दीयौंदेखि गोरी केटी र गहुँगोरी वा कालो केटी भनेर रङगको आधारमा दुई भागमा विभाजन गर्ने प्रथा हाम्रो समाजमा चल्दै आएको छ । महिलाहरूलाई सधैं लिंगको आधारमा उनीहरुमा केही न केही त कमी भएको महसुस गराइन्छ ।