विश्वलाई क्रान्ति र विद्रोह सिकाउने सोभियत संघ के हो ?

दियो पोस्ट  

अन्तिम सोभियत नेता मिखाइल गोर्वाचोभको निधनसंगै सोभियत संघबारे चर्चा फेरि शुरु हुन थालेको छ । आज भन्दा ठिक ३० बर्ष अगाडि सोभियत संघ बिघटन भएको थियो । सोभियत संघको बिघटनलाई वर्तमान रुसी राष्ट्रपति भ्लादमिर पुटिनले २० औं शताब्दीकै सबै–भन्दा ठुलो भू–राजनितिक बिपत्तिको रुपमा व्याख्या गरेका थिए । पुटिनले यहाँसम्म भनेका छन् कि ‘यदि मेरो हातमा आधुनिक रुसको इतिहासलाई बदल्न सक्ने क्षमता भएको भए म सोभियत संघको बिघटन लाई उल्टाईदिने थिएँ । यो पुटिनको मात्र होईन सबै रसियनहरुको मनोविज्ञानको प्रतिबिम्ब पनि हो ।’

सोभियत संघको गठन केवल एक देशको क्रान्ति मात्र थिएन । बरु यसको व्यापक अन्तराष्ट्रिय आयाम पनि थियो ।  विश्व भरका मजदुर, किसान र उत्पीडित जनताको लागि सोभियत संघ आशा र भरोसाको केन्द्र पनि थियो । तत्कालिन साम्राज्यवादी विश्वको विलोम र प्रतिधुर्ब पनि थियो । युरोप र अमेरिकाका मजदुर वर्गले जुन सुबिधा पाएका थिए । त्यसको कारण आफ्ना देशका मजदुरहरुले सोभियत संघबाट प्रभावित भएर क्रान्ति र विद्रोह नगरुन् भन्ने नै थियो । यस्तै युरोप र अमेरिकामा पनि लोक कल्याणकारी व्यवस्था लागु गरिएको थियो । यसकारण पनि पुँजीवादी देशहरुले आफ्ना नागरिकहरुको माया र ममता भन्दा पनि शिक्षा र स्वास्थ्य जुन सोभियत संघमा नि:शुल्क थियो त्यसको सिको गर्न उनीहरु बाध्य भएका थिए । जब सोभियत कमजोर भयो र बिघटन भयो पुँजीवादी देशहरुले नबउदारबादको नाममा लोककल्याणकारी व्यवस्थालाई उल्ट्याउन थाले । शिक्षा र स्वास्थ्य क्षेत्रलाई विश्वव्यापी रुपमा निजीकरण गर्न थाले ।

सोभियत संघको अर्को देन थियो, साम्राज्यवाद र उपनिवेशवाद विरुद्धको लडार्ईं । १९१७ मा सोभियत संघ स्थापना भएपछि यो देश साम्राज्य स्थापना र विस्तार तर्फ लागेन । जबकी अन्य यूरोपेली देशहरु र अमेरिका उपनिवेश बिस्तारको होडबाजीमा लागेका थिए । बरु सोभियत संघ उपनिवेशमा जकडिएका देशहरुको लागि आशाको केन्द्र बनेको थियो । चीन, भारत, अफ्रिका र ल्याटिन अमेरिकाका क्रान्तिकारीहरु सोभियत संघमा सहायता र तालिमको लागि आउने गर्थे । यिनै विद्रोही युवाहरुको लागि सोभियत संघ गठन भएको ३ वर्ष भित्रमै १९२१ मा पूर्वका श्रमिकहरुको कम्युनिस्ट युनिभर्सिटी (Communist University of the Toilers of the East ) खोलिएको थियो । जसका विद्यार्थीहरु मध्ये भियतनाममा राष्ट्रपति होचि मिन्ह, भारतका प्रख्यात नेता एम एन रोय, चीनका सर्बोच्च नेता देङ्ग सियाओपिङ्ग, ताइवानका राष्ट्रपति चियांगको र टर्कीका कवि नाजिम हिक्मत उल्लेखनीय मानिन्छन ।

दोश्रो बिश्वयुद्धपछि उपनिवेशबाट एसिया र अफ्रिकाका देशहरु मुक्त्त हुन थाले । यसको प्रमुख कारण पनि सोभियत संघलाई मान्न सकिन्छ । तेश्रो विश्वका देशहरुमा कम्युनिस्ट पार्टीहरुले राष्ट्रिय मुक्ति आन्दोलनहरु सुरु गरेका थिए । ति राष्ट्रिय मुक्ति आन्दोलनहरु सफल होलान् र ति देशमा पनि सोभियत संघ जस्तै कम्युनिस्ट शासन स्थापना होला भन्ने डरले यूरोपेली देशहरुले बाध्य भएर आफ्नो उपनिवेश नचाहदा नचाहदै हटाउनु पर्यो । सोभियत संघ नभएको भए सायदै तेश्रो विश्वका देशहरुबाट उपनिवेशवाद अन्त्य हुन्थ्याे होला ।

सोभियत संघले बिश्वको स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय भूमिका खेलेको थियो । त्यसको एउटा उदहारण हो बिफर उन्मुलन कार्यक्रम । सोभियत संघले १९५८ देखि २० वर्षभित्र डेढ अर्ब डोज बिफर बिरुद्धको खोप उत्पादन गरेर बिश्वका ४५ वटा देशहरुलाई उपलब्ध गराएको थियो । कतिपय देशहरुमा आफ्नै प्लेन बाट ति खोपहरु ढुवानी समेत गरिदिएको थियो । जसका कारणले गर्दा बिश्वबाट बिफर उन्मुलन गर्न सम्भव भयो । त्यस्तै मस्कोमा रहेको आफ्नो Institute of viral Preparations(IVP, Moscow) मा संसार भरिका खोप उत्पादकहरु लाई खोप उत्पादन सम्बन्धि तालिम पनि उपलब्ध गराएको थियो ।

सोभियत संघको अर्को उल्लेखनीय देन भनेको विश्वभर अझ तेस्रो विश्वका देशहरुमा ज्ञान र विज्ञानको प्रसार गर्नु थियो । सोभियत संघले लेभ तोल्स्तोय, अन्तोन चेखव, फ्योदोर दोस्तोवस्कीहरु जस्ता लेखकहरुका क्लासिकल रुसी साहित्यहरु, म्याक्सिम गोर्की, निकोलाइ ओस्त्र्भ्स्की र मिखाइल सोलोखोभकाहरुका समाजवादी यथार्थवादी पुस्तकहरुलाई बिश्वका अनेकौ भाषाहरूमा अनुवाद गरेर सुन्दर छपाई र आकर्षक बाइन्डिङ सहित बिश्व भर लगभग सित्तैमा बितरण गर्थियो । सोभियत संघले साहित्य बाल साहित्य र बिज्ञानका पुस्तकहरु समेत वितरण गर्थ्याे । यो काम सोभियत संघले आफू विघटन नभइन्जेलसम्म जारी राख्यो । सोभियत संघ विघटन भएको ३० बर्ष भइसक्दा समेत आज पनि बिश्वभर ती पुराना सोभियत साहित्य प्रति मानिसहरूमा अनुराग रहेको पाइन्छ । सोभियत संघको सिको गरेर बिश्वभर साहित्यको प्रसारको काम अरु समाजवादी देशहरुले पनि गर्थे । पुर्वी जर्मनी १९८९ मा बिघटन भएपछि एकीकृत जर्मनीको सरकारले ५० हजार टन न्यु ब्रान्ड समाजवादी साहित्यका पुस्तकहरुलाई डम्पिङ साइटमा गाडेको थियो । हिटलरले किताब जलाएको सम्झना गराउने भएकोले ती किताबहरु जर्मनी सरकारले जलाउन सकेन ।

सोभियत संघले पश्चिमको तुलनामा अपेक्षाकृत कमजाेर आर्थीक अवस्थाका बाबजुद पनि बिश्वभर अनेकौं देशहरुलाई उल्लेखनीय आर्थिक सहायता गरेको थियो । जसका कारण अमेरिका लगायत पश्चिमका देशहरु पनि आर्थीक
सहायता गर्न बाध्य भएका थिए । जसले गर्दा तेश्रो विश्वका देशहरुले दुवै तर्फबाट सहायता पाउथेँ। सोभियत संघ बिघटन भएपछि त्यो अवस्था हटेको छ । अचेल अनुदान र सहायता कम, ऋण बढी आउन थालेको छ।
त्यस्तै सोभियत संघको बिघटनपछि बिश्व एक धुर्वीय बन्यो । जसको कारण एक्लो महाशक्ति बनेको अमेरिकाले यो ३० वर्षमा अनेकौं सैन्य हस्तक्षेपहरु गर्यो ।

इराक, सोमालिया, अफगानिस्तान, इराक, लिबिया र सिरिया जस्ता थुप्रै ठाँउमा अमेरिकाले सैन्य हस्तक्षेप गर्यो । जसमा लाखौं मानिसहरुको मृत्यु भयो । यदि विश्व दुई ध्रुबमा हुन्थ्यो भने अमेरिकाले यसरी निर्धक्क सैन्य हस्तक्षेप गर्न सक्दैन थियो ।

सम्बन्धित खबर