धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले यसअघि जिल्ला समन्वय समितिलाई कोसेलीको रुपमा दिएको पौने करोड मुल्य पर्ने स्कोरपिओ गाडी फिर्ता ल्याएको छ । यसअघिका अध्यक्ष प्रेमनाथ सिलवालले गैरकानुनी रुपमा जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाललाई सुविधामा दिएको सवारी साधन फिर्ता ल्याएको हो ।
एमालेबाट निर्वाचित अध्यक्ष सिलवालले समन्य समितिका अध्यक्ष तथा नेकपा एमालेका नेता नेपाललाई गाउँपालिकाको बजेटबाट महँगो गाडी खरिद गरेर उपहार दिएका थिए । उक्त गाडी हालका समन्वय समितिका अध्यक्ष नवराज अधिकारीले नव निर्वाचित गाउँपालिका अध्यक्ष परशुराम खतिवडालाई हस्तान्तरण गरेका छन् ।
स्रोतका अनुसार उक्त गाडी गाउँपालिका उपाध्यक्ष सविता अर्यालले चढ्नेछिन् । उनी एकीकृत समाजवादीको तर्फबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी हुन् ।