हिरा लुटपाटमा पक्राउ परेका युवा जस्तै बन्न आम युवालाई श्रम मन्त्रीको अपिल (भिडियोसहित)

दियो पोस्ट  

 

काठमाडौं । श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर फेरी विवादमा परेका छन् । हिरा लुटपाट र अश्लिल भिडियोमा बार्गेनिङ गरेको अभियोगमा पक्राउ परेका आपराधिक पृष्ठभूमिका सुजन आचार्यको बर्थडेमा उनी पुगेका हुन् । त्यति मात्रै होइन मन्त्री कुँवरले उनको जन्मदिनमा विशेष भाषण समेत गरेका थिए । आफूलाई टीभी टुडेका सञ्चालक बताउने आचार्यले कुँवरलाई आफ्नो बर्थ डेमा प्रमुख अतिथि बनाएका हुन् । समारोहमा मन्त्रीले केक काट्नुका साथै संक्षिप्तमा भाषण पनि गरेका छन् । आचार्यको बर्थ डे याक एन्ड यती होटलमा मनाइएको थियो । पाँचतारे होटलमै बोलाइएपछि मन्त्री दलबलसहित पुगेका थिए । आफ्नो भाषणमा उनले युवा व्यवसायीलाई प्रोत्साहित गर्न कार्यक्रममा आएको बताए ।

उनले भाषणमा भनेका थिए,– ‘सबैभन्दा पहिला सुजन आचार्यजीलाई हार्दिक बधाई दिन चाहन्छु ।
अरु देशका मान्छेले १५ वर्षमा यति बिलियन डलर कमायो, २० वर्षमा यति बिलियन डलर कमायो भनेर पढिन्थ्यो । आज आफ्नै अगाडि २२ वर्षीय युवा सुनौला सपना देखेर यो राष्ट्रलाई अघि बढाउन र समृद्ध बनाउन आफ्नो योगदानको हिस्सा खोज्दै अगाडि आएको छ । नेपाललाई युवा व्यवसायीको रुपमा चिनाउन प्रयास गरिरहेको यस्तो युवाको जन्मोत्सव मनाउन पाउँदा र सहभागी हुन पाउँदा धेरै खुशी लागेको छ । ’
सबै युवाले आचार्य जस्तै बन्नु पर्ने उनको सल्लाह थियो ।

आचार्य केही महिना अगाडि मात्रै एक नायिकाको अश्लील भिडियोमाथि ब्ल्याकमेलिङ घटनामा पक्राउ परेर केही दिनपछि धरौटीमा छुटेका थिए । यो मुद्दा अहिले पनि खेपिरहेका उनी विभिन्न घटनामा पटक–पटक पक्राउ परेका र जेलसमेत बसेका व्यक्ति हुन् । साथै २०७६ साल चैत १० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा लुटपाटमा संलग्न रहेको आरोपमा तीजना प्रहरी र एक ‘पत्रकार’लाई पक्राउ गरेको थियो । पक्राउ परेका कथित पत्रकार यिनै सुजन आचार्य थिए । प्रहरीका अनुसार जिल्लाको कैलाश गाउँपालिकास्थित गोगनेकी धनलक्ष्मी गुरुङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका प्रहरी र पत्रकारले साँझ लुटपाट गरेका थिए । उनीहरूको साथबाट ६१।३० क्यारेटको १२।२६० ग्रामको हीरा एक थान, जीईएम आइडेन्टिफिकेसन रिपोर्ट, चाइनिज पेस्तोल एक थान, ७ राउण्ड गोली, सञ्चार सेट चार थान, क्यामेरा एक थान, ल्यापटप एक थान र मोबाइल ६ थान बरामद भएको थियो । अदालतको फैसलाबाट एक वर्षभन्दा बढी जेल सजाय भुक्तानी गरेर आचार्य बाहिर निस्केका हुन् ।
को हुन् आचार्य ?

उदयपुरको त्रियुगा नगरपालिका घर भएका सुजन भर्खरै २१ वर्षका भए । उनी विरुद्ध २०७६ सालमै स्रोत नखुलेको अर्बौं रुपैयाँ आर्जन गरेको भन्दै सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको थियो ।

 

सम्बन्धित खबर