भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राई विरुद्ध पक्राउ पुर्जी जारी !

दियो पोस्ट  

काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी हिमालय राईले जाहेरी दिएकी थिइन् । तर बौद्ध प्रहरीले लामो समयदेखि जाहेरी दर्ता नगरी बसेको थियो । चैत ११ गते उनले महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त (महिला सेल) कालीमाटी, महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र सोही कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलविरुद्ध उच्च अदालत पाटनमा रिट हालेकी थिइन् ।

 

साढे तीन महिनापछि असार २९ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले पीडितको रिटमा फैसला गर्दै ‘जाहेरी दर्ता गरी आवश्यक कारबाही गर्नू’ भनी विपक्षीहरूमा नाममा परमादेश जारी गरेपछि प्रहरीले जाहेरी दर्ता गरेको हो । जाहेरी दर्तापछि मात्रै महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते बहुविवाहविरुद्धको उजुरी दर्ता गरेको हो ।

पक्राउ पुर्जी जारी भएपनि प्रहरीले अगाडी नै सुचना चुहाएर अभियुक्तलाई भगाएको आरोप छ ।

के थियो घटना ?

नेपाली कांग्रेसबाट निर्वाचित पूर्व अध्यक्ष राईकी श्रीमतीको हृदयाघातका कारण ०७८ जेठ अन्तिम साता निधन भएको थियो । त्यसपछि भोजपुरको साविक खार्ताम्छा गाविस पुर्ख्यौली घर भई ललितपुरको सुनाकोठी बस्दै आएकी ३९ वर्षीया हिमालयलाई ०७८ मंसिर १३ गते परम्पराअनुसार विवाह गरी उनले कुमारीगलस्थित घर भित्र्याएका थिए ।

 

नेपाली कांग्रेसको १४ औं जिल्ला महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधिसमेत भएकाले महेश नवदुलहीसहित १६ गते विराटनगर गए । उताबाट फर्केपछि जेठीकी छोरीको हेरचाह गर्दै हिमालयले घर सम्हाल्न थालिन् । कामको सिलसिलामा गृह जिल्ला जान्छु भनी माघमा भोजपुर गएका महेश अचानक सम्पर्कविहीन भए ।

कामविशेषले हिमालय फागुन १६ गते घरबाहिर गएकी थिइन् । बेलुकी फर्कंदा अपरिचित महिला भित्रबाट निस्किई आफू महेशकी श्रीमती भएको दाबी गर्दै उनलाई गेटबाटै छिर्न दिइनन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी माया राईसँग उनको विवाह भएको खुलेको थियो । त्यसयता हिमालय सुनाकोठीस्थित माइतीकै शरणमा रही कानुनी उपचारका लागि प्रहरी र अदालत धाइरहेकी छन् ।

घटनाको भोलिपल्ट उनी सुरक्षा तथा न्यायको माग गर्दै कालीमाटी महिला सेलमा निवेदन दिन पुगिन् । अनुसन्धानका क्रममा उपस्थित भएकी श्रीमती दाबी गर्ने ती महिलाले महेशले मंसिर २ गते (हिमालयसँग विवाह गर्नुभन्दा ११ दिनअघि) नै आफूसँग विवाह गरेको प्रमाण पेस गरिन् । साल्पासिलिछो गाउँपालिकाकै वडा नं.२ बाट विवाह दर्ता प्रमाणपत्र जारी भएको छ ।

जबकी महेश र उनी २ गते भोजपुरकै पौवादुङ्मा गाउँपालिका र अरुण गाउँपालिकामा पार्टीको कार्यक्रममा सहभागी थिए ।‘‘महेश राईले मसँग विवाह गरेका हुन् तर मेरो चिनजानमै नभएकी महिलासँग विवाह गरेको भनी मलाई नै उल्टै कान्छी श्रीमती देखाउन मंसिर २ गतेको मिति राखेर विवाह दर्ता गराइएको छ,’ हिमालयले भनिन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहसम्बन्धी सजायको व्यवस्था गरेको छ । उपदफा १ मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा कुनै पुरुष र उपदफा २ मा पुरुष विवाहित भएको भन्ने जानीजानी कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ । सो कानुनअनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । साथै त्यस्तो विवाह स्वतः बदर हुनेछ ।

कान्तिपुर दैनिकको सहयोगमा

सम्बन्धित खबर