काठमाडौं । दाङको संघीय क्षेत्र नम्बर २ मा ईन्जिनियर विशाल अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महरा निर्वाचित उक्त क्षेत्रबाट अधिकारीले उम्मेदवारी दिएका हुन् । आगामी मंसिर चार गर्ने हुने संघ तथा प्रदेशको निर्वाचनमा सोही क्षेत्रबाट पूर्व मुख्य मन्त्री तथा नेकपा एमालेका प्रभावशाली नेता तथा महासचिव शंकर पोखरेलको क्षेत्र हो ।
सोही क्षेत्रबाट अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अधिकारीले विज्ञप्ति निकालेर अब नेपालमा राजनीतिक अधिकारका लागि आन्दोलन आवश्यक नरहेको तर, सुशासन र आर्थिक विकास आवश्यक भएको उनको घोषणामा उल्लेख छ ।
‘मुलुकमा अब थप राजनीतिक अधिकार प्राप्तिको आन्दोलन आवश्यक छैन् । छ त केवल सुशासन, आर्थिक विकास र समुन्नत नेपाल निर्माणको अभियान । समुन्नत समाजका लागि नयाँ सोच र विकासको मोडलबारे जानकारी भएकाहरूले नेतृत्व गर्नुपर्छ भन्ने आम आवाज छ,’ विज्ञप्तिमा भनिएको छ,‘दिगो र भरपर्दो विकासका लागि योगदान गर्ने दृढ इच्छाका साथ मैले लुम्बिनी प्रदेश दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको छु ।’