उड्ने सपना देख्दा–देख्दै कैद भएकी पुतलीको कथा,‘ ऐना झ्यालको पुतली’

- फूलमती  

ऐना झ्यालको पुतली नेपाली फिल्म क्षेत्रमा फरक स्वादको कथा हो । निर्देशक सुजित विडारी धन्यवादका पात्र हुनुहुन्छ ।

यो चलचित्रले व्यापारिक लाभ कति उठाउला भन्न सकिँदैन तर एक पटक हेर्न पुग्नेले दुख मान्नु पर्ने छैन । चलचित्रले समाजलाई दिशा निर्देश गरिरहेको हुन्छ । नेपाली चलचित्रले महिलालाई मजाकको पात्र बनाएका धेरै घटना छन् । जसले महिललाई  वस्तुमा परिणत गर्ने प्रयत्न गरिरहेको छ । जसरी विद्यालयले समाजको मनोविज्ञान निर्माणमा सहयोगी भूमिका निभाउँछ त्यस्तै गरी चलचित्रले पनि आफ्नो भूमिका निभाएको हुन्छ ।

हिजो आज सुचना प्रविधिको विकाससँगै विद्यार्थीहरु समेत स्क्रिनमा भूल्ने गरेका छन् । जसले उनीहरुको ध्यानलाई अध्ययन र पाठ्यक्रम भन्दा अन्यत्र मोडिरहेको छ । त्यसकारण पनि उनीहरुलाई जोड दिएर चलचित्रहरु निर्माण गरिनुपर्छ । सिने क्षेत्रमा फरक र शानदार तरिकाले समाजको यथार्थतालाई टपक्क टिपेर आइपुगेको छ ऐना झ्यालको पुतली ।

पर्दामा देखिएको आफ्नै बाल्यकालको कथा

पुल्चोकस्थित लबिम मलमा रहेको क्युएफएक्सको हलमा हतार–हतार टिकट लिएर भित्र छिरेँ । एकपटक हलको चारैतिर नजर डुलाएँ । त्यति ठूलो हलमा जम्मा ४० जना । निकै दुःख लाग्यो । आफ्नो सिट  खोजेँ र बसेँ । फिल्म हेर्ने हतारमा पुगेकी म लगभग २० मिनेट एकोहोरो विज्ञापनहरु देखिएपछि  दिक्कै लाग्यो । मेरो २२ वर्षे जिवनमा सबैभन्दा हतारको समय थियो त्यो ।

केहीबेरमा नै फिल्म शुरु भयो । फिल्म हेर्दाहेर्दै कतिबेला सकियो थाहा नै भएन । कतिपटक हासेँ र कतिपटक रोएँ थाहा छैन । तर, आडमा बसिरहेको साथीले म रोइरहँदा म तिर हेर्दै रुमाल दिएको चाहिँ याद छ । कसरी एउटा फिल्मले मेरो सिङ्गो बाल्यकाललाई नै प्रस्तुत गरिदियो ?  म झस्केँ । मैले फिल्म हेरिरहेको आभाष नै गरेकी थिइनँ । मलाई लाग्यो, म मेरो बाल्यकाल बाँचिरहेकी छु ।

शायद, धेरैलाई ऐना झ्यालको पुतली हेर्दा बाल्यकालको याद आयो होला । तर, मलाई मेरो बाल्यकाल मात्रै नभएर पुतली जस्तै उड्न खोज्दा–खोज्दै महिलालाई कैद गरिदिने यो समाजको याद आयो । एउटी बालिका जो पुतली जस्तै उड्ने सपना देख्दादेख्दै कैद हुन् बाध्य हुन्छे । त्यो कैद बालिकाको जिन्दगीको थोरै मात्र हिस्सा यो फिल्मले समेट्न सकेको छ ।

दिदिभाइको प्रेम

फिल्मको सुरुवात देखि मध्यान्तरसम्म दिदी भाई झगडा गरिरहेको जस्तो दृश्य देखिन्छ । तर बाल्यकालमा गरिने ती प्रेमले भरिएका झगडाहरु कति मिठा हुन्छन् । नजिक भएर पनि दिदिबहिनी दिदि भाई प्रति कति प्रेम छ भन्ने महशुस गर्न सकिँदैन तर टाढा भएपछि ती झगडाहरु नभएर प्रेमपूर्वक गरिएका स–साना उट्पट्याङ्ग थिए भन्ने थाहा हुन्छ ।

जब चलचित्रकी पात्र विद्यालाई पहिलोपटक रजस्वला हुन्छ र उसलाई लुकाइन्छ तब भाइ र उ बीचको प्रेमलाई यत्ति मीठो संग प्रस्तुत गरिएको छ कि मैले मेरो गुमाएको भाइलाई एक्कासि सम्झन पुगेँ ।

बाल्यकालको नमीठो घटनाको याद

बहिनी पहिलोपटक रजस्वला हुनु र मेरो घरमा भाइ जन्मनु एकै साथ भएको थियो । रजस्वला भएर छाउगोठमा बस्नुपर्दाको दुःख र कठिनाइहरु मैले राम्रोसँग भोगेकी थिएँ । त्यसैले मैले बहिनीलाई छाउगोठमा बस्न दिईनँ । ३ वर्षपछि भाइ बित्यो । कसरी र के कारणले उ बित्यो थाहा छैन तर हाम्रो समाजको चेतनाले दोष हामीलाई दियो । रजस्वलामा छाउगोठमा नबसेको, भाइलाई छोएको, भाइलाई हेरेको कारण नै भाइ मर्यो भन्ने हल्लाले हाम्रो समाजमा घर गर्यो । भाइ गुमाएपछि हामी बसिरहेको गाउँमा बस्न सकेनौं र बाध्य भएर गाउँ छाड्यौं । लामो समय भएको थियोे मैले यो घटनालाई आफ्नो मानसपटलमा आउन समेत दिएकी थिइनँ तर यो फिल्मले एकाएक मेरो बाल्यकाललाई सम्झायो ।

१६ वर्षको उमेरमा नै कैद महिला

पुतली जस्तै उड्ने सपना देख्दादेख्दै कसरी एउटी महिला कैद हुन्छे ? सक्षम हुँदाहुदै कसरी यो वर्गीय समाजले महिलालाई पछाडि धकेलिदिन्छ ? उड्ने रहर गर्दागर्दै कसरी काटिन पुग्छन् महिलाका प्वाँखहरु ? ऐना झ्यालको पुतलीले एउटी महिला कसरी कैद हुन पुग्छे भन्ने विषयलाई निकै मीठो गरि प्रस्तुत गरेको छ । हरेक महिलाको जिन्दगी त्यहाँ देखाइएकी पुतली (विद्या)को भन्दा खासै फरक छैन होला । विद्या कि आमा जो विवाहपछि जाडरक्सी खाएर मात्तिएर बस्ने लोग्नेलाई सहँदै परिवार सम्हालेर बसीरहेकी छन् । जस्तो भएपनि लोग्ने सबथोक हो भन्ने सोचाइमा नै बाँचिरहेकी, जनतन घर धानिरहेकी विद्या कि आमा आफ्नो जस्तो जिन्दगी छोरी(विद्या)ले जिउन नपरोस् भन्ने सोचेर पढाइरहेकी छन् । तर, वर्गीय समाजमा महिलाको आर्थिक, सामाजिक स्थिति र उत्पादनसंगको सम्बन्धबारे त हामी छर्लङ्ग नै छौं । त्यही वर्गीय समाजले आमा र छोरी दुवैका सपनाहरूलाई चुँडिदिन्छ । न त आमाले छोरीको जिन्दगीमा नयाँपन थपिदिन सक्छे न त छोरी आमाको भन्दा फरक जिन्दगीको आभाष गर्न पाउँछे ।

आफूले धेरै पढ्ने सपना देख्दा–देख्दै र अब्बल हुँदाहुदै पनि कलिलो उमेरमा आफूभन्दा उमेरले निकै ठूलो पुरुषसंग बाधिनुपर्ने बाध्यता यो फिल्मले देखाएको छ । आफ्नो स्वतन्त्र उड्ने सपनालाई शब्दमा बुन्दै कवितामा उतारेकी विद्याको मुना पुस्तकमा कविता छापिएको थाहा पाउँदा उसका स्वतन्त्र उड्ने सपनाहरू भत्किसकेको थियो । जब पुतलीको स्वतन्त्र उड्ने प्वाँखहरु काटिन्छन् त्यो संगै फिल्म सकिन्छ ।

लगभग २ घण्टाको फिल्म पुतलीको प्वाँख काटिएपछि सकियो तर कुनैपनि महिलाको जिन्दगी फिल्मको अन्त्य जसरी नसकियोस् । कुनैपनि महिलालाई फिल्मको अन्त्यमा झुकिरहेको विद्याको शिर जस्तो झुकाइरहनु नपरोस् । ८ हजार वर्ष देखि शोषणमा परिरहेका महिलाहरूको शिर कसरी झुकाउन सफल हुन्छ पितृसत्ताले, त्यसको छर्लङ्ग दृश्य देख्न सकिन्छ ऐना झ्यालको पुतलीमा ।

काठमाडौंमा के छ ?

ऐना झ्यालको पुतलीमा भएका हरेक दृश्यहरु नेपाली समाजको यथार्थता हो । यस फिल्ममा एउटा बालक पटकपटक घरको स्थितिको कारण काठमाडौ पुग्ने सपना देख्छ । उसलाई लाग्छ, काठमाडौ पुगेपछि सपनाहरू पूरा हुन्छन् । पैसाको अभाव हुँदैन । बाल मस्तिष्कमा काठमाडौ नै सपनाको शहर भन्ने छाप कसरी बस्न पुग्यो ? एकातर्फ चरम गरिबी र अर्कोतर्फ नेपाल भनेको काठमाडौ मात्रै हो भन्ने जस्तो भान राज्यले दिलाउँछ । हरेक थोक राजधानी केन्द्रित मात्रै हुन पुगेको छ । गाउँ–गाउँमा सिहदरबार भन्दै संघियता ल्याए पनि राज्यको हरेक सेवा सुविधा गाउँ गाउँसम्म पुग्न सकिरहेका छैन ।

ऐना झ्यालको पुतलीलाई बधाई

राम्रो हुँदाहुँदै पनि कतै न कतै केही गल्ती हुन्छन् नै । फिल्ममा देखाए जस्तो सहज छैन, छाउगोठमा बस्न । पहिलोपटक रजस्वला हुँदा छाउगोठमा बस्दाको पीडा र छाउगोठ भित्रको महिलाको वास्तविक जीवन देखाउन चुकेको छ ऐना झ्यालको पुतली । फिल्म जगतमा फरक र समाजको एउटा विषयलाई टपक्क टिपेर ल्याउन त्यति सहज पक्कै पनि छैन तर ऐना झ्यालको पुतलीले गरेको प्रयासले फिल्म जगतमा नयाँ तरङ्ग पैदा गरेको छ । यस्ता फिल्महरु धेरै बन्नुपर्छ । धन्यवाद सुजित बिडारी दाई र केदार जी लगायतको सम्पूर्ण टिमलाई । बधाई छ, ऐना झ्यालको पुतली ।

सम्बन्धित खबर