दही खाएको आरोपमा दलित बालिकालाई बन्धक बनाउने श्रेष्ठलाई साढे ४ वर्ष कैद

दियो पोस्ट  

रामेछाप । दलित बालिकालाई आफ्नो घरभित्र पसेर दही खाएको भन्दै बन्धक बनाउने रामेछापका शेरबहादुर नगरकोटी ‘श्रेष्ठ’लाई अदालतले साढे चार वर्ष कैद सजाय हुने फैसला भएको छ ।
उनलाई जातिय छुवाछुत र शरिर बन्धक कसुरमा दुवै सजाय जोडेर ४ वर्ष ६ महिना कैद सजाय हुने ठहर भएको हो ।

जिल्ला अदालत रामेछापले नगरकोटीलाई जातीय छुवाछुत कसुरमा गत भदौ २९ गते नै दोषी ठहर गरि एक वर्ष कैद र ७५ हजार जरिवाना गर्ने ठहर गरेको थियो । शरिर बन्धक सम्बन्धी कसुरमा दोषी ठहर गर्दै थप ३ वर्ष ६ महिना कैद र ३५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।
त्यस्तै उनकी श्रीमती बालकुमारी नगरकोटीलाई जातिय छुवाछूत कसुरमा ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
पीडित बालिकालाई पीडकबाट क्षतिपूर्ति बापत ७० हजार रुपैयाँ भराउने फैसला भएको छ ।

गत ३० फागुनमा १२ वर्षीया दलित बालिकाले आफ्नो घरभित्र प्रवेश गरेर दही खाएको आरोपमा मन्थली नगरपालिका– ६ का नगरकोटीले खाँबोमा बाँधेर कुटपीट गरि यातना दिएका थिए । बालिकाको अभिभावक, शिक्षक, पत्रकार र जनप्रतिनिधिले पीडित बालिकालाई उद्दार गर्न अनुरोध गर्दासमेत नगरकोटी दम्पत्तिले बालिकालाई मुक्त गर्न अस्विकार गरेका थिए ।

घटनास्थलमा पुगेका सरोकारवालालाई नगरकोटीको परिवारले घर चोख्याउनु पर्ने र घरै जिम्मा लिनुपर्ने सर्त राखेका थिए ।

चौतर्फी दबाव २१ घण्टापछि प्रहरी घटनास्थल पुगेपछि पीडित बालिकालाई बाँधेको स्थानबाट उद्दार गरेको थियो । पीडितले जाहेरी दिएपछि रामेछाप प्रहरीले नगरकोटी दम्पत्तिलाई पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले गत २९ भदौमा जातिय विभेद तथा छुवाछूत कसुरमा कैद सजाय गर्ने फैसला गरेको थियो भने असोज ७ गते शुक्रबार शरिर बन्धक सम्बन्धी कसुरमा उनकै इजलाशबाट कैद सजाय निर्धारण भएको थियो ।
नगरकोटीका छोरा रोशनलाई भने अदालतले सफाइ दिएको छ ।

साथै, पीडित राहत कोषमा एक हजार चार सय रुपैयाँ जम्मा गराउने फैसलासमेत भएको छ ।

सम्बन्धित खबर