पृथ्वीनारायण शाहको ब्रतबन्धस्थल मैदीकोट : जहाँ दलु शाहको दरबार थियो !

दियो पोस्ट  

राजु झल्लु प्रसाद

मैदी (प्रयाश: मैधी/मैघी लेखिएको पाइएको) कोटमा श्री ५ पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएको सुनिएपनि यस सन्दर्भमा धेरै कुराहरू मिश्रित छन्, स्पष्ट छैन । प्रमोद भट्टको किताब पढ्न पाएको छैन । स्व. विष्णुप्रताप शाहज्युले ‘आफ्नो माटो’ नामको मैदीको स्मारिका पनि खोजिरहेकै छु ।

यस्तैमा शाहलाई नन्द मिश्रका सन्तान हर्ष मिश्रले मन्त्र सुनाएको खुल्न आएको छ । यसपाली घरबसाइमा यो सहित विविध कुरा खोजीको विषय हुने भयो । पृथ्वीनारायण शाहको व्रतबन्धमा प्रयुक्त तामाको सुरो पूजारीसँग छ भन्ने कुरा आएको छ ।

साथै, स्व. राजेन्द्र प्रताप शाहले एक वर्षअगाडि लेख्नुभएको थियो- “३७-३८ सालतिर ईतिहास संशोधन मण्डलबाट प्रा. दिनेशराज पन्त र प्रा.डा. महेशराज पन्त गएका थिए। म कहाँ वसे । मैले मैदीको सबै ठाउँको ताम्रपत्र, शिलापत्र र हस्तलिखित ग्रन्थ खोजेर देखाइदिएँ। फेला पारेसम्मको सबै हस्तलिखित ग्रन्थको काठमाडौ ल्याएर स्क्यान गरेर फर्काइयो।स्क्यान गर्न दिए बापत पेज गनेर पैसा दिइएको थियो ।”

इतिहासविदद्वय पन्त दाजुभाइ दुवैसँग यस विषयमा सोधीखोजी गर्नु नै छ । महेशराज सरसँग छुस्स भेट हुँदा यसबारे बोल्न चासो देखाउनुभएको छ, दशैंपछि त्यो काम गरौंला ।

पुरातत्त्व विभागले २०३२ सालमा गरेको रिसर्चको संक्षिप्त अंश पनि यहाँ राख्छु, पूर्ण अंश छिटै प्रकाशित गर्नेछु । त्यतिबेला धादिङ र रसुवाको १ महिने भ्रमणको क्रममा देवीप्रसाद लम्साल, बलराम चित्रकार, राधेश्याम भट्टराई मैधीकोट आइपुगेका थिएँ !

———————————

“…..गोरखामा युवराज वीरभद्र शाहको स्वर्गे भएपछी राज्यको उत्तराधिकारीमा खिचोला मच्चिएको थियो । राजा पृथ्वीपति शाहका छोराहरू दलुशाह र उद्योतशाह गोरखाको राजा हुने प्रयत्न हुने गर्दथे तर युवराज वीरभद्र शाहका छोरा नरभूपाल शाहको घोषणा भएपछी दलु र उद्योत शाह गोरखाबाट निकालिएका हुँदा मैधीमा आएर (बस्न थाले) । यिनै दलुशाहको दरबार हाल मैधी कोटमा थियो भनिन्छ । अहिले कायम रहेको भैरवीको मन्दिर दलुशाहको दरबारभित्र पर्छ ।

स्थानीय चौतारियाहरूका अनुसार अहिले मैधीकोटमै दलुशाहको दरबार थियो । ठुलो भुइँघर थियो, गोलाकार थियो । ढुंगाको गाह्रो, खरको छानो भएको त्यो दरबार जन्मवृक्षको एउटा खाँबो कार्यम गरि निर्माण गरिएको थियो । अर्थात् एउटा सालको रुख नढालिकनै त्यसलाई मूल ठाम तुल्याइएको त्यो दरबारको पूर्व, पश्चिम र उत्तरपट्टि एकएक प्रवेशद्वार थिए । प्रत्यक्षदर्शीहरूका अनुसार दरबार ठुलो थियो, थुप्रै कोठा थियो । भगवती भैरवीको स्थाने उता कोठामै थियो । भैरवी रहेको कोठामा एउटा झ्याल पनि देखेको कुरा स्थानीय बुढापाका बताउँदछन् । तर, भुँइतले दरबारमा अरू कुनै मालसामान वा चीजबीज भने कसैले देखेका छैनन् । गाउँलेहरू यसको संरक्षण गर्दै थिए, छुने काम गदै थिए तर दरबार भत्कन थाल्यो । दरबारको घुमाउरो छाना मन्दिराकार, गजूराकार थियो । सुरक्षाकै अभावमा सं २००६ सालतिर त्यो दरबार भताभुंग भयो । अनि सरकारी सहयोगले कोट भैरवीको मन्दिर बनाइयो । त्यो पनि नाशिएपछी गाउँलेहरूले जीर्णोद्धार गरेर वर्तमान मन्दिरको रुप दिएका छन् ।

यो दरबार दलुशाहको दरबार हो भने यहाँ कोट भैरवी दलुशाहको इष्टदेवी हुनु धेरै सम्भाव्य हुन् जान्छ । दलुशाहको दरबारको डायमिटर २५ मिटर छ । कोटमा एउटा ढुंगाको डुड छ, जसको आकार १६१*५२ से. मिटर छ ।

कोटबाट निकै तल पर्ने वैष्णवीस्थानको आसपासमा देखिने इँटहरूको प्राचीनताले त्यस क्षेत्रमा पनि प्राचीन दरबार हुन् सक्ने भग्नावशेषको संकेत नदिने होइनन् ।

श्री ५ वडा महाराजधिराजको व्रतबन्ध

चौतारियाद्वयका अनुसार विशाल नेपाल राज्यका एकीकर्ता श्री ५ वडा महाराजध्रिआज् पृथ्वीनारायण शाहको शुभ व्रतबन्ध मैधीकोटस्थित दलुशाहकै दरबारमा सम्पन्न भएको थियो । पृथ्वीनारायण शाहको व्रतबन्ध दरबारमै हुनु औचित्यको कुरा हो ।

तर, यहाँका कुनै-कुनै बासिदा भने बतासे र सातदोबाटोको बीचमा पर्ने मजकोट चैनपुर् भन्ने ठाउँको एक चौतारीमा राष्ट्रनिर्माताको व्रतबन्ध भएको कुरा बताउँदछन् । यस चौतारीको समीपमै वैष्णवीको स्थान छ र मन्दिरको वरिपरी पुरानो इँटहरू पाइन्छन् । यहि दलुशाहको दरबार भएको भए यस चौतारोमा हुन् पनि असम्भव छैन ।….. (प्राचीन नेपाल, २०३२ साल)”

 

सम्बन्धित खबर