कपडा र काजु तस्करसँग राजश्व अनुसन्धान विभागका उच्च अधिकारीको साँठगाँठ !

दियो पोस्ट  

काठमाडौं । नेपाल भारत सिमा नाकाबाट विभिन्न माल वस्तु तस्करी हुने गरेको छ । केहीदिन अघि प्लाष्टिकको दाना भनेर अर्कै सामान नेपाल भित्र्याउने दुई वटा ट्रक भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ । उक्त ट्रक चेकजाँच गर्दा कपडा र काजु किसमिस लगायत सामान भेटियो ।

भंसार कार्यालय प्रमुख मनिराम पौडेलले संचार माध्यमलाई दिएको जानकारी अनुसार ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्बरको भारतीय मालबाहक गाडी भंसार परिसरबाटै नियन्त्रणमा लिएको थियो । ट्रक र मालसामान नियन्त्रणमा लिए पनि चालक भने फरार भए ।

यसरी दुई करोड मुल्यबराबरको माल तस्करी गरेर ल्याउने गिरोहबारे भंसारकै अधिकारीहरु जानकार नभएको होइन तर, उच्च तहको सेटिङमा वास्तविक तस्करलाई उन्मुक्ति दिइएको स्रोतको भनाई छ । स्रोतका अनुसार यसरी काठमाडौं भित्र्याउने तस्करको नाइके हुन्– राजु थापा उर्फ राजेन्द्र । नेपाल भारत सिमाका विभिन्न नाकाबाट दैनिक अर्बौंको तस्करी गर्दै आएका थापाको राजश्व अनुसन्धान विभागकै उच्च अधिकारीसँग साँठगाँठ रहेको खुलेको छ ।
राजश्व अनुसन्धान विभागमै निर्देशक पदमा कार्यरत उपसचिव सन्तोष पौडेलको गहिरो सम्बन्ध देखिएको छ । लामो समयदेखि विभागको निर्देशक कार्यरत पौडेलको मोबाइल नम्बर ९८५११–––९७ र तस्करीका नाइके राजु थापाको मोबाइल नम्बर ९८०४४–––६२८ बीच पटक पटक सम्पर्क देखिएको हो । स्रोतका अनुसार नेपाल भित्रिने तस्करीको कारोबारबाट राजश्व अनुसन्धान विभागमा कार्यरत पौडेललाई २५ प्रतिशतसम्म कमिशन दिनेगरि दुई पक्षबीच सम्झौता भएको छ । थापाले बाहिर देखाउन भने ९८४५०…९५२ नम्बर चलाउँदै आएका छन् । चितवन घर भएका थापा तस्करीका लागि भने ९८०४४ नम्बर प्रयोग गर्छन् । पौडेलकै सक्रियताका कारण राजुमाथि राजश्व अनुसन्धान विभागले मुद्दा चलाउन सकेको छैन । तस्करीमा पटक पटक मुछिएका थापाले राजश्व अनुसन्धान विभागकै डिजी नवराज ढुंगाना मार्फत प्रधानमन्त्री पुत्री गंगा दाहाललाई सेटिङ मिलाएको हल्ला चलाएका छन् । उनले मासिक ५० लाख रुपैयाँ बालुवाटारमा बुझाउने गरि आफूले सेटिङ मिलाएको हल्ला चलाउने गरेका छन् । रक्सौलबाट नेपाल तस्करीको ठेक्का लिएका रमाशंकर कलवार र गुड्डु मात्रै होइन रुन्चे भनिने मदन गुप्ताको समेत यो धन्दामा संलग्नता छ । खुलमखुल्ला कपडा तस्करी भएपनि राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले केही कारबाही गर्न सकेको छैन ।

यसअघि नै भैरहवा भंसारमा एजेन्टको का मगर्ने मिलन गुरुङले जाली कागजात तयार पार्ने र दैनिक ४ देखि ५ ट्रक कपडा काठमाडौं तस्करी भइरहेको थियो ।

यसअघि राजश्वले छापा हान्दा भागाभाग भएका थिए तस्कर !

कपडा तस्करीबारेका समाचार दियोपोस्टले पटक पटक प्रकाशन गर्दै आएको छ । यसअघि समाचार प्रकाशित भएपछि तत्कालिन राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले अपरेशन नै चलाएका थिए । उनको सक्रियतापछि तस्करहरु एकाएक सिमा पारी पुगेका थिए । पौडेलकै सक्रियतामा न्युरोड क्षेत्रका नाइके मनोज कलवार पक्राउ परेकाथिए । त्यसपछि राजु थापा लगायत तस्करहरु सिमा पारी पुगेका थिए । त्यतिबेला धनुषा घर भएका आनन्द जलानले राजु मार्फत तस्करीको धन्दा गर्ने गरेका थिए ।

पौडेल भन्छन्,‘मैले एक पैसा लिएको छैन’

यस विषयमा प्रतिक्रिया लिन राजश्व अनुसन्धान विभागका निर्देशक सन्तोष पौडेललाई सम्पर्क गर्दा उनले राजु थापासँग सम्बन्ध भएको विषयमा स्पष्ट जवाफ दिएनन् । तर, एक पैसा पनि नलिएको उनको दाबी छ । ‘त्यो विषय उहाँलाई नै सोध्नु होला । मैले एक पैसा पनि लिएको छैन,’ उनले भने ।