धादिङमा जातिय छूवाछूत : बाजा बजाउन गएका दुई युवामाथि पानी छोएको निहुँमा कुटपीट

दियो पोस्ट  

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका ४ थर्पुका ३ जना विरुद्ध जातीय छुवाछुत गरेको आरोपमा ०८० भदौ १८ गते जिल्ला प्रहरी कार्यालय धादिङमा २ जना पीडितले उजुरी दिएका छन् ।
लाखे जात्रा र गाई जात्राको अबसरमा भदौ १४ गते बाजा बजाउन र लाखे नाचका लागि सहभागी भएका नेत्रावती डबजोङ गाउँपालिका ४ थर्पुका २३ वर्षीय विकास परियार र २८ वर्षीय ध्रुब दमैलाई पानी छोएको र घरभित्र पस्न लागेको आरोपमा कुटपिट समेत गरिएको थियो ।

थर्पुमा पसल समेत संचालन गर्ने कुण्डलादेबी माविका शिक्षक अम्मर श्रेष्ठ, उनकि पत्नि ३५ वर्षीया कोपिला श्रेष्ठ र पटक पटक जेल सजाँया भोगेका २९ वर्षीय अनिल श्रेष्ठले डुम भन्दै कुटपिट गरेकोले कारबाहि गराउन सहयोगका लागि अधिकारकर्मीहरुसमक्ष विकास परियारले बताउनुभयो ।

लाखे जात्रामा थाकेपछि पानी खानका लागि ढोकामा पुगेर माग्ने बित्तिकै कोपिलाले लछारपछार गर्दै दमै भएर भित्र आउछस् भनेर बाहिर निकाले भने शिक्षक अम्मर श्रेष्ठले कुटपिट गरेको अरुपनि आएर कुट्न थालेपछि भागेर ज्यान जोगाएको पीडितले परियारले जानकारी दिनुभयो । के भएको भनेर सो ठाउमा पुगेका ध्रुबलाई हालै रिहा भएका अनिल श्रेष्ठ लगायतले कुटपिट गरेर घाईते भएका पीडित दमैले बताउनुभयो ।
विरामी परेका कारण दुईदिनसम्म घरमै सुतेको बताउने पीडितहरु न्याय पाईन्छ भन्ने थाहापाएपछि उजुरीका लागि आएका थिए ।
उजुरी दिएपछि पीडितहरुको भदौ १७ गते स्वास्थ्य परिक्षण र उपचार धादिङ अस्पतालमा भएको छ ।