सन्दीप प्रकरण : पीडितको जन्ममितिको कागज झिकाउन आदेश

दियो पोस्ट  

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी बसाइसराइ गरी गएको स्थानीय तहबाट अभिलेख झिकाउने आदेश दिएको हो ।

बिहीबार दिउँसो सुरु भएको सुनुवाइमा सरकारी वकिल सुरवीर परियारले बहस गरेका थिए। परियारपछि पीडित किशोरीका तर्फबाट मोहना अन्सकारी र नारायण चौलागाईंले पनि बहस गरे।

अदालती समय सकिएपछि न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा रहने गरी शुक्रबारका लागि सुनुवाइ सार्ने भनेकी थिइन्। तर लामिछानेका कानुन व्यवसायी सरोज घिमिरेले पीडितको यकिन जन्ममिति जनाउने कागज मगाउने आदेश माग गरे। पीडितले बसाइँ सरेको कागजातमा यकिन जन्ममिति उल्लेख हुनसक्ने भन्दै घिमिरेले इजलासमा उक्त कागजात झिकाउने आदेश माग गरेका थिए।