केपी ओलीकै शैलीमा प्रधानमन्त्री सचिवालयको चन्दा आतंक, सोम धितालको संलग्नता !

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका सदस्यहरू ‘पैसा उठाउ धन्दा’मा लागेको भेटिएको छ । यद्यपि प्रधानमन्त्री प्रचण्ड भने भ्रष्टाचारको विरोध गर्दै सुशासनको वकालत गरिरहेका छन् । तर, उनकै सचिवालयका सदस्यहरू पैसा उठाउँदै समाचार नलेखिदिन आग्रह गर्छन् । यसले प्रधानमन्त्रीको भ्रष्टाचारविरोधी अभियान अरुको बदनाम गरेर आफू र आफ्ना वरिपरिका लागि कमाउ अभियान हो कि भन्ने देखिएको छ । आज प्रकाशित आर्थिक दैनिकमा खबर छ ।

प्रधानमन्त्री दाहालको अन्तर्वार्ता प्रसारण गर्ने नाममा उनको सचिवालयले उठाउ धन्दा सुरु गरेको छ । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले भान्जा मनोज पाण्डेमार्फत जे–जस्ता अर्थोपार्जनको योजना बनाएका थिए अहिले प्रधानमन्त्री दाहालको सचिवालयले त्यसको नक्कल गर्दै त्यसैगरी रकम असुली धन्दा चलाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले सचिवालयको ‘लेटर प्याड’को दुरूपयोग गरेर प्रधानमन्त्री दाहालको अन्तर्वार्ता कार्यक्रम नेपाल टेलिभिजनमा सञ्चालनका लागि विवादास्पद मिडिया हबलाई विज्ञापन, आर्थिक सहयोग गर्न पत्र लेखेका छन् । प्रेस संयोजक शर्माले सहयोग गर्न भनेकै संस्था मिडिया हब भने नेपाल टेलिभिजनमा प्रसारण गरेको विज्ञापनको करोडौँ बक्यौता रकम नतिरेर विवादित छ ।

प्रधानमन्त्री सचिवालयले दबाब दिए पनि नेपाल टेलिभिजनले मिडिया हबलाई कार्यक्रम गर्न नदिने भनेपछि त्यसको विकल्पमा अल थ्री मिडिया घर प्रालिको नाममा कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको र त्यसको व्यवस्थापनको जिम्मेवारी मिडिया हबलाई दिइएको छ ।

‘मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तनहरू भए, व्यवस्था फेर्न हामी सफल भयौँ । तर, अवस्था परिवर्तन गर्न सकिएको छैन । अवस्था परिवर्तनको आधार समृद्ध राष्ट्र नै हो । जनअपेक्षाकृत सरकारको पहलकमदी, सुशासन, आर्थिक समृद्धि, रोजगारी सिर्जना, सुनौलो भविश्य निर्माणका लागि प्रेरणाको प्रस्फुटन गराउन सरकारले राष्ट्र निर्माण अभियानको सञ्चार गराउन नेपाल टेलिभिजनबाट यही भदौ २ गते शनिबारदेखि राष्ट्र निर्माण कार्यक्रम प्रशारण हुँदै छ ।

हरेक हप्ता प्रशारण हुने कार्यक्रम सम्मानित प्रधानमन्त्रीज्यूको सचिवालयको समन्वयमा अल थ्रि मिडिया घर प्रालिले उत्पादन गर्दै छ’, प्रधानमन्त्रीको कार्यक्रमको लागि सहयोग गरिदिनुहुन भन्दै संयोजक सूर्यकिरण शर्माले लेखेको पत्रमा भनिएको छ, ‘कार्यक्रमलाई व्यावसायिकरूपमा सहकार्य गर्न व्यवस्थापनको जिम्मेवारी मिडिया हब प्रालिलाई दिइएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूको राष्ट्र निर्माणको यो अभियानमा आवश्यक सहयोगको अपेक्षा गर्दै मिडिया हब प्रालिमार्फत कार्यक्रम उत्पादन तथा प्रसारण शुल्क व्यवस्थापनको लागि व्यावसायिक सहकार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

शर्माको सोही पत्रलाई साथमा राखेर मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले ‘सम्माननीय प्रधानमन्त्रीको सचिवालयअन्तर्गत रहेको मिडिया टिमको अगुवाइमा’ भन्दै विज्ञापन मागेर पत्र पठाएका छन् ।

मिडिया हबका कार्यकारी निर्देशक धितालले हस्ताक्षर गरी प्रधानमन्त्री कार्यालयकै आह्वानमा भन्दै विज्ञापन माग्न पठाएको पत्रमा भनिएको छ, ‘यस टेलिभिजन कार्यक्रममा आफ्नो संस्थाको प्रवर्द्धनात्मक सामग्री प्रचारप्रसार गरी राष्ट्र निर्माणको यो अभियानमा सहभागी भई सहयोग गरिदिनुहुन नेपाल सरकार प्रधानमन्त्री कार्यालय हार्दिक आह्वान गर्दछ ।’

पत्रमा १० मिनेटको १० लाख र ५२ मिनेटको ४० लाख भन्दै २६ वटा कार्यक्रमका लागि विज्ञापन शुल्क तोकिएको छ । तोकिएबमोजिम विज्ञापन दिनु भन्दै अहिले सरकारी कार्यालयमा प्रधानमन्त्रीको सचिवालयको तर्फबाट समेत प्रधानमन्त्रीकै प्रेस संयोजक सूर्यकिरण शर्माले ताकेता गर्दै फोन गरेपछि मिडिया हबसँग शर्माको सम्बन्धको पारदर्शितामा समेत प्रश्न उठ्न थालेको छ ।

प्रधानमन्त्रीकै सचिवालयबाट विज्ञापनको लागि भन्दै पत्र गएको विषयमा प्रश्न गर्दा प्रधानमन्त्रीका प्रेस संयोजक शर्माले आफूहरूले सचिवालयमा बसेर गलत मनासयले काम नगरेको र समाचार प्रकाशित नगरिदिन पटक–पटक आग्रह गरे । संयोजक शर्माले यस विषयमा आफूलाई समेत थाहा नभएको र सचिवालयमा बुझ्ने बताए । बाहिर गएको पत्रको विषयमा भने त्यो पत्र सचिवालयको नभएको बताए ।