धादिङ ससाह बलात्कार प्रकरण : पीडितले उजुरी दिए मिलापत्र गराउनेलाई पनि ३ वर्ष कैद !

दियो पोस्ट  

धादिङ । केहीदिन अघि आफ्नो घरमा काम गर्ने बालिका बलात्कार गरेको अभियोगमा मध्यपहाडी लोकमार्गका प्रमुख ईन्जिनियर हरि कुमार पोखरेल जेल चलान भए । घरेलु काममा कार्यरत युवतीलाई जबरजस्ती करणी गरेको भन्दै उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । यो घटनामा पोखरेल त मुख्य प्रतिवादी थिए नै तर, उनीसहित ५ जनालाई मुद्दा चलाइयो । जसमा अधिवक्ता भोजराज रेग्मी, एमान तामाङ, रञ्जिच कुमार जैसवाल र रामजी भनिने चेतन न्यौपाने विरुद्ध पनि पक्राउ पुर्जी जारी भयो । न्यौपाने र जैसवाल पक्राउ परे रेग्मी र तामाङ फरार छन् । उनीहरुलाई प्रहरीले जुनसुकै बेला पक्राउ गरेर अदालत बुझाउन सक्छ ।

उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी हुनुको कारण हो–मिलापत्रका लागि दबाव दिनु । अधिवक्ता रेग्मीले उनलाई पैसाको अफर गर्दै मिल्न दबाव दिएका थिए । एमान तामाङले कोठामै गएर धम्की दिएका थिए । यता न्यौपाने र जैसवालले पनि मिलेर पैसा लिन दबाव दिएका थिए । त्यसैले न्यौपाने र जैसवालले जनही ३/३ लाख धरौटी तिरेर रिहा भए ।

‘बलात्कार पीडितलाई धम्की दिने’ आपराधिक पृष्ठभूमिका एमान तामाङबाट किशोरीलाई खतरा !

घरेलु कामदारमाथि जबरजस्ती करणी गर्ने मध्यपहाडी लोकमार्गका प्रमुख जेल चलान

 

 

यो घटना सेलाउन नपाउँदै धादिङमा पनि नाबालिक बलात्कारको एक घटना मिलाउन राजनीतिक शक्तिबीच प्रतिष्पर्धा नै चलेको छ । एक १५ वर्षीया बालिका बलात्कारमा संलग्नलाई उन्मुक्ति दिन विभिन्न छलफल र वार्ता चलिरहेको छ । जिल्ला अदालतबाट ७ दिनको म्याद थपपछि पनि राजनीतिक विचौलियाहरु नै सक्रिय भएर पीडितलाई दबाव दिन थालेका छन् । ती बालीकालाई बलात्कार गरेको आरोपमा नीलकण्ठ नगरपालिका– ४ का ३३ वर्षीय पुर्णबहादुर श्रेष्ठ पक्राउ परेका थिए । धादिङ्गवेशी बजारमै रहेको निलकण्ठ सप्लायर्सका व्यापारी समेत रहेका उनलाई प्रहरीले भदौ २० मा पक्राउ गरेको हो ।

 

आरोपितले बालिकालाई भदौ २० गते बिहानै राती नीलकण्ठ नगरपालिका–८ जंगल क्षेत्रमा र र सिद्धलेक गाउँपालिका –६ मा कच्ची सडकमा बलात्कार गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा पेश गरिएको जाहेरीमा उल्लेख छ ।
आरोपित श्रेष्ठ विरुद्ध भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी मुद्दा दर्ता गरि जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको छ । पीडकलाई उन्मुक्ति दिन र पीडितलाई थप दबाव दिएर मिलापत्र गराउन निलकण्ठ नगरपालिका वडा नम्बर ३ कार्यालयमा छलफल नै भएको छ । यो छलफलको नेतृत्व वडाध्यक्ष राजकुमार श्रेष्ठले गरेको स्रोतले जनाएको छ । श्रेष्ठका आफन्त समेत रहेका बलात्कार अभियुक्त पुर्ण बहादुरलाई जोगाउन उनले वडाको शक्ति लगाएका छन् । त्यतिमात्रै होइन उनले कांग्रेसका ठूला नेता मार्फत समेत प्रहरीमा दबाव दिँदै आएका छन् ।

मिलापत्र गराए हुनसक्छ कानुनी कारबाही !

बलात्कार जस्तो जघन्य अपराधको घटना मिलापत्र गराउने विरुद्ध समेत कानुनी कारबाही हुने व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ मा यदि १८ वर्ष मुनिका बालीकाले सहमतिमै यौन सम्बन्ध राखेको भएपनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ । यस्तो घटना मिलाउने वा पीडितलाई मिलापत्र गराउन दबाव दिने विरुद्ध पीडितले जाहेरी दिन पाउँछन् । त्यसरी किटानी जाहेरी परे मिलापत्र गराउने व्यक्ति जो सुकैलाई ३ वर्षसम्म कैद हुने कानुनी हक पीडितलाई दिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २२७ (क) (१) मा भनिएको छ,‘यस परिच्छेद बमोजिम करणी सम्बन्धी कसुर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसुरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसुर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको दबाव दिन वा प्रभावमा पार्न हुँदैन ।’

त्यस्तै यसैको (२) उपदफा (१) बमोजिम कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ भनि उल्लेख गरिएको छ ।

याे पनि पढ्नुहाेस्

धादिङ्गको ससाह जंगलमा बालिका बलात्कार : बलात्कारी छुटाउन कांग्रेस नेताको दौडधुप

धादिङमा बालिका बलात्कार अभियुक्त ‘पैसावाला व्यापारी’ जोगाउन कांग्रेस नेताको दौडधुप !