निजि कलेजको व्यावसायीक विज्ञापनमा प्रधानमन्त्री र शिक्षामन्त्रीको लेटरप्याडकाे दुरुपयोग !

दियो पोस्ट  

काठमाडौं । सोमबार प्रकाशित सबैजसो छापा माध्यममा एउटा विज्ञापनले भरिएको छ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले आफ्नो स्थापनाको २५ औँ वर्षको उपलक्षमा प्रकाशन गरेको विज्ञापन कान्तिपुर दैनिकको पछाडीको एक पेज नै भरिएको छ । विज्ञापनमै आज हुने कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र संघीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको बहालीबाट उद्घाटन हुने जनाइएको छ ।

प्रकाशित उक्त विज्ञापनमा कलेजमा के कस्ता संकाय छन् । कार्यालय ठेगाना र आफ्नो विज्ञापन गरिएको छ । वार्षिकोत्सवको नाममा प्रकाशन गरिएको उक्त विज्ञापनमा प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।
उनीमात्रै होइन शिक्षामन्त्री अशोक कुमार राई र शिक्षासचिवले समेत शुभवकामना दिएका छन् । तर, उनीहरुको शुभकामनालाई कलेजले व्यावसायीक विज्ञापनको साधन बनाएको छ । यसरी आफ्नो व्यावसायीक उद्देश्यमा प्रधानमन्त्रीको लेटरहेड दुरुपयोग गर्नु अपराधजन्य कार्य हो ।
कलेजका कार्यकारी निर्देशक प्रकाश कुमार केजरिवाल र अध्यक्ष पंकज जलानले यसरी प्रधानमन्त्री लगायत अन्य उच्च सरकारी कार्यालयको लेटरहेडको दुरुपयोग गरेका हुन् । निजि कलेजको विज्ञापनमा प्रधानमन्त्री, शिक्षा मन्त्री र शिक्षासचिव समेतको लेटरहेडको शुभकामना राखेर यो कलेजले सत्ताको दुरुपयोग गरेको छ ।
शिक्षामन्त्रालयका सुचना अधिकारी शंकर अधिकारीले कलेजहरुले आफ्नो कबुकलेटमा छाप्न पाएपनि यसरी पत्रिकामै छापेको विषयमा आफू जानकार नरहेको बताए ।

शिक्षामन्त्रीका स्वकिय सचिव युवराज राईलाई यस विषयमा प्रतिक्रिया लिन पटक पटक फोन गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले शुभकामनाका लागि प्रधानमन्त्री कार्यालयमा निवेदन दिने व्यवस्था यसअघि नै भएको र सोही व्यवस्था अनुसार शुभकामना दिइएको बताए । *

अध्यक्ष पंकज जलान भन्छन्,‘पोजिटिभ लिइदिनुस्’

यता लर्डबुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलान यस्तो विषयलाई सकारात्मक दृष्टिले हेरिदिन अनुरोध गर्छन् । ‘हाम्रो २५ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना छापेका हौँ । हामीले देशलाई के दियौँ त्यो हेरिदिनु पर्यो नी । यसलाई सकारात्मक लिइदिनु पर्यो,’ उनले भने,‘अहिले उपराष्ट्रपति आउँदै हुनुहुन्छ । यस विषयमा पछि कुरा गरौँला ।’

सिफारिस