२ अर्ब १७ करोडको कोशी अस्पताल निर्माण ठेक्कामा सेटिङ : सहरी विभागकै डिजी श्रेष्ठको संलग्नता

दियो पोस्ट  

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागले प्रतिस्पर्धालाई सीमित गरी कोशी प्रादेशिक अस्पताल बिराटानगर निर्माणको ठेक्का केसी कन्ष्ट्रक्सनलाई सेटिङमा दिएको भए पनि उसले काम सुरु नै गर्न सकेको छैन । १० महिनाअघि २०७९ मंसिरमा सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको संघीय आयोजना कार्यन्वयन इकाई मोरङले केसी कन्ष्ट्रक्सनसँग कोशी अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

२ अर्ब १७ करोड ६६ लाख २० हजार रुपैयाँको उक्त ठेक्का ठेक्का केसी कन्स्ट्रक्सनले पाएको एक बर्षसम्म पनि काम सुरु गर्नु त कता हो कता उल्टै ठेक्का बिक्री गर्न कम्पनीको खोजीमा लागेको छ । केसी कन्ष्ट्रक्सनले २३ प्रतिशत आफूलाई दिएर ठेक्का बिक्री गर्नका लागि कम्पनीको खोजी गर्नका लागि म्यानेजर बिजय मानन्धरलाई परिचालन गरेको छ । कोशी अस्पताल निर्माणको टेण्डर भएदेखि नै चलखेल भएको थियो ।
कोशी अस्पताल निर्माणको ठेक्का बोलपत्र सूचना निकाल्दादेखि केसी कन्स्ट्रक्सनलाई दिनका लागि स्पेसिफिकेसन बनाइएको स्रोत बताउँछ । भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले केसी कन्स्ट्रक्सनलाई कोशी अस्पताल निर्माणको ठेक्का दिनका लागि प्रतिस्पर्धालाई नै सीमित गरेको आरोप छ । सेटिङमा अस्पताल निर्माणको ठेक्का पाएको केसी कन्स्ट्रक्सनले एक बर्षसम्म पनि काम सुरु नगर्दा भवन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले एक्सन लिन सकेका छैनन् ।

स्रोतका अनुसार केसी निर्माण सेवाले कोशी अस्पताल निर्माणका लागि पेश गरेको अनुभवको प्रमाणपत्र समेत कीर्ते हो । नेपाली सेनामा काम गरेको भनेर कीर्ते अनुभवको प्रमाणपत्र पेश गरेको थाहा हुँदाहुँदै केसी कन्स्ट्रक्सनलाई महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ, भवनका ठेक्का हेर्ने विभागका प्रमुख मचाकाजी महर्जन र संघीय आयोजना कार्यन्वयन इकाई मोरङका प्रमुख गणेश महर्जनको तीन सदस्यीय टोलीले ठेक्का दिएको थियो । ठेक्का सेटिङ गर्न केसी कन्ष्ट्रक्सनको तर्फबाट म्यानेजर बिजय मानन्धर खटिएका थिए । उनैले महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठसहित, मचाकाजी र गणेशसँग सबै मिलाउने काम गरेपछि कोशी अस्पतालको ठेक्का केसी कन्ष्ट्रक्सनले पाएको थियो । कोशी अस्पतालको निर्माणका लागि २०७९ असार ७ मा बोलपत्र सूचना निकालिएको थियो ।

आर्थिक लाभ लिएर केसी कन्ष्ट्रक्सनलाई सेटिङमा ठेक्का दिएको तर एक बर्षसम्म पनि काम नगरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि छानबिन हुनुपर्ने माग भवन विभागभित्रैबाट उठेको छ ।

यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठलाई पटक पटक सम्पर्क गरेको थियो । तर, उनले फोन उठाएनन् ।