काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफू भ्रष्टाचारको अन्त्य गर्ने र सुशासन कायम गर्ने एकमात्र मन्त्रीको रुपमा चिनाउने कोशिसमा छन् । सार्वजनिक समारोहमा उनले गर्ने अधिकांश भाषण र सुरक्षा निकायलाई दिने कासनमा सुशासनका ठूला ठूला कुरा गर्ने श्रेष्ठकै सचिवालयमा भने सुशासनको धज्जी उडाइन थालेको छ । प्रहरी सरुवा बढुवा होस् वा प्रहरी शक्तिको दुरुपयोगमा उनको सचिवालयले सिमा पार गर्न थालेको छ । प्रेस सल्लाहकारको भूमिकामा रहेका कमल गिरी आफ्ना नातेदारलाई प्रहरीको प्रबन्ध शाखा नभई नहुने अडान लिन्छन् । त्यसबारे समाचार लेख्ने पत्रकारलाई जातमा उत्रिएर विभेद गर्न पछि पर्दैनन् । यता उनको सचिवालयमा रहेकी अर्का एक पात्रका कारण यतिबेला गृहमन्त्री झनै विवादित बन्दै गएका छन् । गृह प्रशासनमा आफूलाई गृहमन्त्री भन्दा एक कदम अगाडी राखेर गृहमन्त्री श्रेष्ठलाई नै छायाँमा पार्न सफल पात्र हुन्–सुसन कर्माचार्य । कर्मचार्यले प्रहरी सरुवा बढुवामा आर्थिक मोलमोलाई गर्ने गरेको विषयमा नेपाल फेस नामक एक अनलाइनले केही महिना अघि समाचार नै प्रकाशन गरेको थियो ।
उनै सुसन कर्माचार्यले आफू अध्यक्ष रहेको एक जलविद्युत कम्पनि चलाउन प्रहरी शक्तिको दुरुपयोग गरेको खुलाशा भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधिन ७.२६ मेगावट क्ष्मताको याम्बलिङ हाइड्रोपावर प्रालीका कारण त्यहाँका जनता समस्यामा छन् । उनीहरुले आफ्नो थाँतथलो नै जाने भएपछि विरोध गरिरहेका छन् । विभिन्न निकायमा गुहार मागिरहेका छन् । तर, उनीहरुको माग कसैले सुनुवाई गरेका छैनन् ।
जनतालाई मुआब्जा समेत नदिई जबरजस्ती निर्माण भइरहेको हाइड्रोपावरको अध्यक्ष हुन्– सुशन कर्माचार्य । उनले यो हाइड्रोपावर सेटिङमा हत्याएको विषय यसअघि नै विवादमा आएको हो । तत्कालिन माओवादी नेता कमानसिंह तामाङले आफ्नो मृत्युअघि नारायणकाजी श्रेष्ठका कारण आफू मृत्युको मुखमा पुगेको बताएका थिए । त्यतिबेला उनले नाम लिएको यही हाइड्रोपावर हो । यसमा अध्यक्ष रहेकी सुशन यतिबेला गृहमन्त्रालयको सत्ता चलाइरहेकी छिन् । उनले त्यहाँको जनतालाई खेदाउनका लागि सशस्त्र प्रहरी नेपाल प्रहरी दुवै परिचालन गर्न दबाव दिँदै आएकी छिन् । उनको दबाव थेग्न नसकेर जिल्लाका एसपी बालनरसिंह राणा हैरान भएका छन् । उनलाई सरुवाको दबाव समेत परेको छ । उनलाई हटाउन सुशनले नै चर्को दबाव दिएकी छिन् । हाइड्रोबाट पीडित भएका जनतालाई दमन गर्न सुसनले दिएको निर्देशन बालनरसिंहले नमानेको आरोप छ । सोही आरोपमा उनलाई त्यहाँबाट अन्यत्र सरुवा गर्न सुशनले गृहमन्त्रालयबाट पटक पटक दबाव दिइरहेकी छिन् । तर, वागमती प्रदेश प्रहरी प्रमुख किरण रानाले ऐन कानुन बाहिरको आदेश कसैको पनि नमान्ने अडान लिएका कारण अहिले राणाको सरुवा थामिएको स्रोत बताउँछ ।
के हो मुद्दा ?
सुशन अध्यक्ष रहेको उक्त हाइड्रो पावरले कम्पनिको प्रयोजनका लागि मोटरबाटो र पाइपलाईन विस्तार गरी स्थानिय जनताले बोल्दे बासीको १५० रोपनी खेतियोग् जमिन क्षतविक्षत गरिएको छ । आयोजना अन्तिम चरणमा पुग्दा पनि जग्गाधनी र स्थानियबासीलाई कुनै पनि मुआब्जा तथा क्षतिपूर्ति दिइएको छैन । कम्पनिले मनोमानी र जबरजस्ती ढंगले स्थानियको सहमति बिना नै ब्लाष्टिङ, ब्रेकर तथा स्क्याभेटर प्रयोग गरि प्राकृतिक स्रोत साधनको दोहन गरेको स्थानिय पासलाल तामाङ बताउँछन् ।
सुशनले सत्ताको दुरुपयोग गरि स्थानियबासीलाई झूटो आरोप लगाएर पक्राउपुर्जी समेत निकालेको आरोप छ । स्थानियबासीले मेसिन लगायत सामाग्रीय स्थान्तरण गर्न रोक लगाएका छन् । सोही स्थानियबासीलाई दमन गर्न सुशनले पटक पटक निर्देशन दिएकी छिन् । कतिपय जनतालाई प्रहरी लगाएर दमन समेत भइरहेको छ ।