आयल निगममा वेथिति : जनतालाई महँगोमा ईन्धन विक्री, उच्च अधिकारीलाई विदेश घुमघामको मस्ती !

दियो पोस्ट  

काठमाडौं । स्वचालित मूल्य प्रणालीको नाममा पेट्रोल, मट्टीतेल, ग्यासलगायत पेट्रोलियम पदार्थमा सर्वसाधारणबाट महँगो शुल्क असुली गरिरहेको नेपाल आयल निगमले कर्मचारीलाई भने विदेश भ्रमण मोज गराइरहेको छ ।
सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ बमोजिम अत्यावश्यक काममा बाहेक वैदेशिक भ्रमण गर्दा मितव्ययी रुपमा गर्नु पर्ने व्यवस्था रहेको छ ।
नेपाल सरकार मन्त्रीपरिषदको गत फाल्गुणमा बसेको बैठकले सरकारका मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ ।

सरकारको नीति तथा निर्देशन विपरित आयल निगमका प्रवन्ध निर्देशक उमेश थानीले निगममा कार्यरत नायव कार्यकारी प्रवन्धक नागेन्द्र साह, करुणा क्षेत्री र निगमको प्रशासन विभागका प्रमुख नकुल भण्डारी लगायतलाई दुबई लगायतका मुलुकमा कच्चा तेल तथा अन्य पेट्रोलियम पदार्थको अध्ययन भ्रमणका नाममा घुमफिरका लागि पठाउन लागेको आयल निगम श्रोतको दावी छ । उनीहरु यही शुक्रबार ७ दिन अवधिको लागि वैदेशिक भ्रमणमा जान लागेको आयल निगमका एक निर्देशकले बताए ।

आयल निगम श्रोतका अनुसार आयल निगममा हुने अर्बौ रकममा ठेक्का पट्टामा फाइल उठाउनेदेखि फाइल स्वीकृत गर्नेसम्म सबैलाई थानीले विदेश पठाउने तारतम्य मिलाएका छन् ।

 

त्यसैको फल स्वरूप सेवा निवृत हुन् करिब २ महिना मात्र बाकि रहेको अवस्थामा समेत निगमको लाखौ रकम खर्च गरी थानीले प्रशासन शाखा प्रमुख नकुल भण्डारी र करुणा क्षेत्रीलाइ वैदेशिक भ्रमणमा पठाउन लागेको निगम श्रोतको दावी छ । नकुल भण्डारी प्रशासन प्रमुख हुदा निगममा रहेको काङ्ग्रेस निकट कर्मचारी युनियनको जोडबलमा उनलाई नियुक्त गरिएको थियो । नवौँ तहका कनिष्ठ कर्मचारी नकुल भण्डारीले काङ्ग्रेस निकट कर्मचारीलाई पोस्ने गरेको र विराटनगर डिपोमा रहदा अनियमितताको आरोप लाग्दै आएको थियो । उनले भर्खरै झापाको चारआलीमा डिपो प्रमुख नियुक्त गर्दा मासिक ५ लाख रुपैयाँको डिल गरेको खुल्न आएको थियो ।

साधारणतया सेवा निवृत हुन् एक बर्ष बाकी रहेको व्यक्तिलाइ अध्ययन अवलोकन भ्रमणमा पठाउदा सो भ्रमणको उपादेयता नहुने सार्वजनिक प्रशासनका विज्ञहरु बताउने गर्दछन। विदेश भ्रमण जाने निगमका अधिकारीले के उपलब्धि हासिल गरे, विदेशबाट के सिकेर फर्किए, उनीहरूले सिकेका सीप, ज्ञान निगमका लागि कत्तिको लाभदायी छन् भनेर मापन गर्ने निगममा न कुनै संयन्त्र छ, न विभाग नै । आयल निगममा भ्रमणबाट फर्केपछि सामान्य प्रतिवेदन दिने चलनसमेत छैन । यसबाट निगम कोषको अनावश्यक खर्च बढ्ने बाहेक अरू केही उपलब्धि हुने देखिँदैन। दुई महिना जागिर अवधि भएका कर्मचारीबाट निगमले भ्रमणको के उपलब्धि पाउछ ?’ निगमका एक निर्देशकले बताए ।
निगमको अर्थ प्रशासन विभागका नायव कार्यकारी प्रवन्धक नागेन्द्र साह,संस्थागत विभागको नायव कार्यकारी प्रवन्धक करुणा क्षेत्री र सिमित केही व्यक्तिको मिलेमतोमा थानीले निगममा अर्बौ रकमको अनियमित खरिद गर्दै आएको निगम श्रोतको दावी छ।हाल निगममा थानीले अन्य निर्देशकहरुलाइ समेत विदेश जाने हो भन्दै प्रस्ताव गर्ने गरेको श्रोतको दावी छ।

 

थानी आफै समेत आपूर्ति मन्त्रालयका सचिव,सहसचिव, निगमका इन्जिनियरिंग तथा परियोजना विभागका अधिकारीहरु सहित केही दिन अघि हाइड्रोजन अध्ययनका नाममा परिवार सहित संयुक्त अधिराज्य अमेरिका भ्रमण गरी फर्किएका थिए । काठमाण्डौ विश्वविद्यालयको खर्चमा भ्रमणमा गएको भनिएतापनि निगमले काठमाण्डौ विश्वविद्यालयलाई अध्ययनका नाममा दिएको पैसाबाट भ्रमणको तारतम्य मिलाइएको काठमाण्डौ विश्वविद्यालय श्रोतको दावी छ। काठमाण्डौ विश्वविद्यालय श्रोतका अनुसार वास्तविक रुपमा अध्ययन तथा अनुसन्धानमा संलग्न प्राज्ञिक व्यक्ति जानुपर्ने ठाउमा उहाहरुलाई टोलीमा समावेश नगरी भ्रमण दलमा इन्जिनियरिंग तथा परियोजना विभागका निर्देशक सुरज शाहले श्रीमती बन्दना शाहलाइ समेत अमेरिका लगेका थिए ।

काठमान्डौ विश्वविधालयका एक प्राध्यापकका अनुसार “हाइड्रोजन अधययन तथा अवलोकन भ्रमण भन्ने अनि पारिवार सहितको भ्रमणले के कस्तो अनुसन्धान र अवलोकन भयो र उपलब्धि हुने हो ? हामी अचम्मित छौ” उनले भने।उक्त अमेरिका भ्रमणमा काठमाण्डौ विश्वविद्यालयको तर्फबाट सहायक प्राध्यापक विराजसिह थापा सहित भ्रमणमा गएका थिए।विराजसिह थापाको नेतृत्वमा काठमाण्डौ विश्वविद्यालयले हाइड्रोजन सम्बन्धि ल्याब स्थापना गरी अध्ययन तथा अनुसन्धान गरिदै आएको छ ।

कति हुन्छ निगमको खर्च ?

 

निगमको कर्मचारी प्रशासन विनियमावली २०६३ को अनुसूची १० मा भएको व्यवस्था अनुसार विशिष्ट तहको भ्रमणमा प्रति दिन २२५ अमेरिकी डलर सम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ।र निगमले आते जाते हवाई टिकट समेत उपलब्ध गराउने विनियममा व्यवस्था रहेको छ।सरदर विनिमय अनुसार प्रति दिन भ्रमणमा जानेले करिब तिस हजार नेपाली रुपैया प्रति दिन भुक्तानी पाउने व्यवस्था रहेको छ । निगमले विदेश भ्रमण गर्ने कर्मचारीलाई दिने भत्ता र दुईतर्फी हवाई भाडासमेतलाई मूल्यांकन गर्दा दुबई भ्रमणबाट निगमलाई करिब २५ लाख रुपैयाको आर्थिक भार पर्ने निगम श्रोतको दावी छ ।

निगममा नायव कार्यकारी निर्देशक नागेन्द्र साह निगममा सबै भन्दा बढी भ्रमण जाने कर्मचारीको रुपमा चिनिन्छन।यस भन्दा अघि नागेन्द्र साह गोपाल खड्काको कार्यकालमा समेत दक्षिण अफ्रिका लगायत अन्य विभिन्न मुलुकमा परिवार सहित भ्रमण गरेको निगम श्रोतको दावी छ । शक्तिकेन्द्र रिझाउन खप्पिस नायव कार्यकारी निर्देशक नागेन्द्र साह जुनसुकै कार्यकारी निर्देशक आए पनि उनकै नजिक रही अर्बौको ठेक्का पट्टामा संलग्न रहदै आएका छन् । उनले निगमबाट भत्ता मात्रै बार्षिक रुपमा सरदर ४० लाख बुझ्ने गरेको निगमको अर्थ शाखाका एक कर्मचारीले बताए ।

निगमका कर्मचारीहरुको स्वदेशी तथा वैदेशिक भ्रमण लगायतका अन्य बिषयमा सबै अधिकार थानीले आफै राखेका छन।निगमका कर्मचारी अत्यावश्यक रुपमा स्वदेश तथा विदेशमा भ्रमण गर्दा वैदेशिकको हकमा कार्यकारी निर्देशक र स्वदेशीको हकमा ५ दिन सम्म निर्देशक, ७ दिन सम्म नायव कार्यकारी निर्देशक तथा ७ दिन भन्दा माथि कार्यकारी निर्देशकबाट स्वीकृत गर्नुपर्ने नियम लागु गरिएको छ । स्वदेशी भ्रमणमा सामान्य तहका कर्मचारी कस्ने थानीले आफुलाई सहयोग गर्ने र बोलपत्र र निर्माण काममा संलग्न रहने कर्मचारीहरुलाई छानीछानी वैदेशिक भ्रमणमा पठाउने गरेको निगम श्रोतको दावी छ ।

सम्बन्धित खबर