ढल निकास नहुँदा ३६ परिवार समस्यामा

दियो पोस्ट  

काठमाडौं । ढल निकास उचित व्यवस्थापन नहुँदा राजविराज नगरपालिका–७ मैथिलि टोलका तीन दर्जन परिवार समस्यामा परेका छन् । खुल्ला नाला वर्षाको पानी घरआँगनसम्म जम्मा भएपछि ३६ परिवार समस्यामा परेका हुन् ।

‘एकातिर नाला व्यवस्थित गरिएको छैन भने अर्को तिर ढल निकासको उचित व्यवस्थापन हुन सकेको छैन,’ स्थानीय चन्द्र कुमारी साहले भनिन्, ‘वर्षासँगै नालाको पानी घरआँगनमा जमेपछि ओहोरदोहोर गर्न मात्र समस्या नभई विभिन्न रोग फैलने त्रसमा बस्न बाध्य भएका छौ ।’

सोही टोलकी सुनिता झाले घरआँगन र आसपासमा नालाको फोहोर पानी र वर्षातसमेतको पानीले डुबान पर्दा टोल नै दुर्गन्धित बनाएको सुनाइन् ।

‘घरभित्र पानी छिरेको छ, निकास नहुँदा बर्सेनि समस्या भोग्दै आएका छौ,’ स्थानीय महेन्द्र साह भन्छन्, नगरपालिकामा पटकपटक समस्या समाधानका लागि अनुरोध ग¥यौं तर आश्वासनबाहेक केही पाएका छैनौं ।

वडा अध्यक्ष शुभाषचन्द यादव सो समस्याबाट आफू पनि जानकार रहेको बताउँछन् । ‘वडा कार्यालयको बजेटबाट नाला निर्माण र ढल निकासलगायत व्यवस्थापन कार्य गर्न कठिन छ,’ उनी भन्छन्, ‘समस्या समाधानका लागि नगरपालिकामा पहल गरिरहेका छौ ।’

अव्यवस्थित नाला र वर्षाको पानीले टोल जलमग्न भएको जानकारी पाएपछि सोमबार प्रदेशसभा सदस्य किरण कुमारी साह स्थलगत निरीक्षण पुगिन् । उनले ढल निकासका लागि व्यवस्थित गुरुयोजना निर्माण आवश्यक रहेको बताउँदै यसका लागि पहल गर्ने आश्वास दिएकी छन् ।

आजको राजधानी पत्रिकामा खबर छ ।