भूमिब्यवस्था मन्त्रालयको सरुवामा करोडौं लेनदेन, सचिव दुवाडीकै भान्जा बिचौलिया !

दियो पोस्ट  

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार राति २५ भन्दा बढी प्रमुख नापी अधिकृत (उपसचिव)हरुको सरुवा गरेको छ । निजामती सेवा नियमावली अनुसार २ वर्ष अवधि नपुगेकाहरुलाई पनि सरुवा गरिएको छ । उपसचिव बढुवा भई सुरु पदस्थापना भएको २ वर्ष अवधि नपुगेकाहरुलाई भक्तपुर, चितवनजस्ता आकर्षक नापी कार्यालयमा सरुवा गरिएको छ ।

भूमिब्यवस्था मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सरुवामा आर्थिक चलखेल गरी २ वर्ष अवधि नै नपुगेका प्रमुख नापी अधिकृतहरुलाई काठमाडौं, ललितपुर, भक्तपुर नापी कार्यालयको प्रमुखमा सरुवा गरेका छन् । जग्गाको कित्ताकाट गर्दा र हालसाविक गर्दा आनाको १ लाखसम्म घुस आउने भएकाले काठमाडौंका ५ वटा नापी कार्यालय, भक्तपुर, ललितपुर, चितवन, बाँके, मोरङ, झापा, कास्कीजस्ता जिल्लामा सरुवा हुने करोडौंको चलखेल हुने गरेको छ ।

सचिव दुवाडीेले सरुवामा दररेट तय गर्नका लागि आफ्नै भान्जा सर्भेक्षक आनन्द बुर्लाकोटीलाई आफ्नो सचिवालयमा ल्याएर निजी सचिवमा राखेका छन् । तिनै सर्भेक्षक भान्जालाई प्रयोग गरी सचिव दुवाडीले सरुवामा आर्थिक चलखेल गरेको आरोप छ । सचिव दुवाडीले सरुवाका लागि जाने नापीका कर्मचारीहरुसँग आनन्दलाई भेट्नू भन्ने गरेका छन् ।

नापी अधिकृतबाट प्रमुख नापी अधिकृतमा बढुवा भई नापी विभागमा पदस्थापन भएको १ बर्ष ७ महिना मात्र भएका प्रदीप सापकोटालाई भक्तपुर नापी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ । नापी विभागमा पदस्थापन भएको १ बर्ष ७ महिना मात्र भएका प्रमुख नापी अधिकृत सुवास भण्डारीलाई भरतपुर नापी कार्यालयको हाकिममा पठाइएको छ ।
सापकोटा र भण्डारीको नयाँ पदस्थापन हो । नयाँ पदस्थापन भएको कर्मचारीलाई २ बर्ष नपुगी सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयले समेत सरुवा सहमति दिंदैन । तर भूमिब्यवस्था मन्त्रालयका सचिव दुवाडीले कानुन बिपरीत उनीहरुलाई सरुवा गरेका छन् ।

बाँके नापी कार्यालयको प्रमुखमा कार्यरत सहदेव सुवेदीलाई २ बर्ष नपुगी अर्को आकर्षक कार्यालय डिल्लीबजार नापीको प्रमुखमा ल्याइएको छ । उनी बाँकेमा सरुवा भएको १ बर्ष १० महिना भएको छ । उनलाई बाँकेबाट अर्को झन् आकर्षक डिल्लीबजारमा ल्याइएको छ । नापी कार्यालय भक्तपुरका प्रमुख रामकुमार सापकोटालाई पनि निजामती सेवा नियमावली अनुसार २ बर्षसम्म काम गर्न नदिई १ बर्ष ७ महिनामै भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा लखेटिएको छ ।

ललितपुर नापी कार्यालयका प्रमुख उमेशकुमार साहलाई १ बर्षमै लखेटिएको छ । उनलाई कार्यसम्पादन सन्तोषजनक नभएको र अनियमिततामा मुछिएकाले सरुवा गरिएको बताइएको छ । उनलाई धनुषा नापी कार्यालयमा सरुवा गरिएको छ । भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रका रमेश ज्ञवालीलाई ललितपुर नापी कार्यालयको प्रमु्खमा पठाइएको छ ।
सचिवले नै भान्जालाई भेट्नू भनेपछि भदौ अन्तिमदेखि नै सर्भेक्षक बुर्लाकोटीले होटल होटलमा डिल गरी प्रमुख नापी अधिकृत, नापी अधिकृत, सर्भेक्षक र अमिनहरुसँग डिल गर्दैआएका छन् । प्रमुख नापी अधिकृतको सरुवा मन्त्रालयले गर्ने गर्दछ । नापी अधिकृत, सर्भेक्षक र अमिनको नापी विभागबाट हुने गरेको छ । मन्त्रालयले गरेका प्रमुख नापी अधिकृतहरुको सरुवा नियम बिपरीत भएको बिषयमा महानिर्देशक जोशीले अडान राख्न नसकेको आरोप छ ।

सचिवकै योजनामा नापी अधिकृत र सर्भेक्षकको सूचीसमेत आनन्द बुर्लाकोटीले बनाएका छन् । उनीहरुको छिट्टै सरुवा हुँदैछ । नापी अधिकृत, सर्भेक्षक र अमिनको सरुवा नापी विभागबाट हुन्छ ।

यस विषयमा प्रतिक्रिया लिन सचिव दुवाडीलाई सम्पर्क गर्दा उनले फोन काटे । सन्देश मार्फत प्रतिक्रिया उपलब्ध गराइदिन अनुरोध गर्दा उनले हालसम्म जवाफ दिएका छैनन् । यदि उनले प्रतिक्रिया दिए अपडेट गरिनेछ ।

सम्बन्धित खबर