काठमाडौं । मणिपाल शिक्षण अस्पतालको चिकित्सकमाथि आक्रमणको घटनामा गृहमन्त्रालयले दुई प्रहरी अधिकृतलाई सरुवा गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सिफारिसमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशी र प्रहरी निरीक्षक (इन्स्पेन्टर) मदन श्रेष्ठको सरुवा भएको छ । श्रेष्ठलाई निलम्बन समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले सञ्चार मन्त्रालयमा बताएअनुसार प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीको प्रहरी प्रधान कार्यालमा र इन्स्पेन्टर श्रेष्ठको उपत्यका प्रहरी गण २ नम्बरमा सरुवा गरिएको छ ।
‘श्रेष्ठको उपत्यका प्रहरी गण २ नम्बरमा र प्रहरी नायब उपरीक्षक जोशीको प्रहरी प्रधान कार्यालमा सरुवा भएको छ। आन्दोलनरत चिकित्सकलाई कुटे भनी अभिव्यक्ति दिएको कारण श्रेष्ठको सरुवा भएको हुनसक्छ । तर जोशीको सरुवाको कारण थाहा छैन्,’ उनले भनेका छन् ।
इन्स्पेन्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हानेँ भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो ।
तर, यो घटनामा निर्दोष प्रहरी अधिकारीमाथि कारबाही गरिएको पाइएको छ । कास्कीका एसपी थापाले दिएको बयानलाई आधार मान्ने हो भने डिएसपी वेदराज जोशीलाई किन सरुवा गरियो भन्ने उनलाई समेत जानकारी छैन । तर, गृहमन्त्रालयले उनको ठाउँमा स्याङ्ग्जाबाट डिएसपी राजेन्द्र श्रेष्ठलाई ल्याउन सिफारिस गरेको छ । स्रोतका अनुसार गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकट विचौलियाहरुले धमिलो पानीमा माछा मार्ने दाउ गरेका थिए ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिएसपी जोशीको सरुवामा गृहमन्त्री निकट केही विचौलियाले निकै चलखेल गरेका थिए । उनीहरुले यसअघि देखि नै उक्त स्थानमा आफ्ना मान्छे ल्याउन चलखेल गरेका थिए । स्रोतका अनुसार राजेन्द्र श्रेष्ठ गृहमन्त्री नारायणकाजी श्रेष्ठका सजातिय समेत हुन् ।
प्रहरी प्रवक्ता भन्छन्,‘कमाण्ड राम्रो गर्न नसकेका कारण सरुवा भयो’
यता प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायत डिएसपी जोसी फिल्डमा खटिएको कमाण्डर भएको र उनले नै कमाण्ड कन्ट्रोल गर्न नसकेका कारण हेडक्वार्टर तानिएको बताउँछन् ।