दुबईमा बसेर नेपालमा ठगीधन्दा : विजय सुनारबाट ठगिएका दर्जनौँ युवा दुबईमा बिचल्ली !

दियो पोस्ट  

काठमाडौं । दुबई बस्ने केही नेपालीहरुले नेपालमा रहेका हजरौं युवालाई वैदेशिक रोजगारीको सपना देखाएर ठगीधन्दा चलाउँदै आएका छन् । दुबईमा एउटा कम्पनि दर्ता गर्ने र सोही कम्पनि मार्फत रोजगारीका लागि डेमान्ड आएको छ भन्दै नेपालमा रहेका युवाहरुलाई लाखौँ उठाउने र कम्पनि नै बन्द गरेर भाग्नेहरु यतिबेला दुबईमा सयौँ भेटिन्छन् । दुबईमा कम्पनि खोलेर सयौँ युवाबाट करोडौं ठगी गर्ने कोमलराज उपाध्यायबारे दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेपछि उनी अहिले पनि दुबईको जेलमा छन् ।

उनकी पत्नि रञ्जना ढकाल प्याकुरेल पनि जेलमै छिन् । ठीक त्यस्तै गरि एक व्यक्तिले फेरी सयौँ युवाहरुलाई ठगी गरेको खुलेको छ । त्यसरी ठगी गर्नेमा विजय सुनार रहेका छन् ।
१२ वर्षदेखि दुबई बस्दै आएका सुनारले सयौँ युवालाई ठगी गरेको प्रमाण फेला परेको छ ।

उनले युवाहरुलाई ठगी गर्न सिल्भर लाइन फ्यासिलिटी म्यानेजमेन्ट सर्भिस नामक कम्पनि नै खोलेका छन् । उनले नेपालमा आफ्नै कम्पनिबाट अफर लेटर पठाउने र नेपालबाट राम्रो काम, तलबको प्रलोभन देखाएर ठगी धन्दा चलाउँदै आएका छन् । उनले प्रति व्यक्ति दुई देखि ३ लाख रुपैयाँसम्म असुली गरिरहेको पीडित युवाहरु बताउँछन् ।

उनले नेपाली युवालाई ठगीको जालमा पार्न समुह नै तयार पारेका छन् । जसमा झापा घर भएका अनुप थापा निजि सचिव सरह हिसाबकिताव गर्छन् । राजन कार्की गरेका युवा पनि उनका सचिवालयमा छन् । ईन्दिरा परियारलाई भने उनले एजेन्ट बनाएर ठगी गरिरहेका छन् । उनले ठगीको रकम हुण्डी मार्फत दुबई झिकाउने गरेका छन् । त्यसपछि उनी सम्पर्क विहिन हुँदै आएका छन् । उनीबाट पीडित भएकाहरुको लिस्ट समेत दियोपोस्टले फेला पारेको छ ।

तीन महिनादेखि दुबईमा अलपत्र परेका विजय तामाङले आफू तलब विहिन भएर बस्नुपरेको र दलाल विजय सुनार बेपत्ता भएको बताए । कयौँ युवाहरुलाई दुबईमा अलपत्र पारिएर राखिएको छ । ‘हाम्रो पासपोर्ट पनि छैन । साढे २ लाख रुपैयाँ तिरेर आयौँ,’ दियोपोस्टको प्रतिनिधिसँग उनले भने ।

 

अर्का रञ्जित तामाङले आफू पनि दुईमहिना देखि दुबईमा अलपत्र अवस्थामा रहेको बताए । उनलाई पनि विजयले नै दुबई पुर्याएका थिए । सिल्भर लाइनले कामका लागि ल्याएर अलपत्र पारेका हरिराम माझीले पनि आफूलाई न्याय दिलाइदिन र उद्दार गरिदिन अनुनय गरे । सुनिल खत्रीले आफू चार महिनादेखि दुबईमा अलपत्र परेको बताए । २० जना पीडितहरुले १ लाख रुपैयाँदेखि २ लाख ३० हजार रुपैयाँसम्म दिएको सुची समेत दियोपोस्टले फेला पारेको छ । पर्वत घर भएका उनी यतिबेला फरार छन् ।

 

नक्कली भिषा दिएर मेरो १२ लाख रुपैयाँ ठगीयो प्रहरी लगाएर उल्टो मैले दुख पाएँ : राजेश पुरी

यता उनीबाट पीडित भएका राजेश पुरीले आफ्नो पनि विजयले १२ लाख रुपैयाँ ठगी गरेको आरोप लगाए । ‘मलाई नक्कली भिषा दिएर प्रहरी समेत लगाएर दुख दिइयो । अहिले नेपाल आएको छु,’ उनले भने ।