काठमाडौं । एआईसी एशिया बैंक भित्रको करोडौँ घोटाला प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले अनुसन्धान गर्नुपर्नेमा गुपचुप बनाउने कोशिस गरिएको छ । रौतहटको गरुडा शाखामा भएको करोडौँ ऋण अपचलनको घटनामा रौतहट प्रहरीले फितलो अनुसन्धान गरि शाखा प्रमुखलाई उन्मुक्ति दिइएको छ ।
ऋणीबाट रकम असुली गरेको घटनाबाट पीडितहरुले उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको थियो । प्रहरीले उजुरीपछि शाखा प्रबन्धक अमोद गुप्तालाई पक्राउ गरेको थियो । तर, मिलेमतो र सेटिङमा उनलाई उन्मुक्ति दिइएको छ । स्रोतका अनुसार यो काण्डमा प्रमुख कार्यकारी अधिकृत न्यौपानेको नाम समेत उनले अनुसन्धान अधिकारी समक्ष पोलेका थिए । सिइओ समेत छानबीनमा तानिने भएपछि लेनदेनको आधारमा शाखा प्रबन्धक गुप्तालाई उन्मुक्ति दिइएको छ ।
गुप्ताले अम्बे कृषि फर्मलाई २ करोड ५ लाख ऋण दिएबापत ५० लाख असुलेको भन्दै असोज २ गते प्रशासनमा ठगीसम्बन्धी उजुरी परेको थियो । प्रबन्धक गुप्ताले दुर्गा भगवती–१ स्थित अशोका एग्रिकल्चर प्रालिका सञ्चालक अशोककुमार साहलाई ४ करोड ७५ लाख रुपैयाँ ऋण दिएबापत ८५ लाख, जय बाबा बैजनाथ एग्रिकल्चर चन्द्रपुर–९ का सञ्चालक राकेश साहलाई ३ करोड २० लाख ऋण दिएबापत ७० लाख, अनु कृषि फर्म चन्द्रपुर –५ का सञ्चालक चिन्टु रायलाई ३ करोड ५० लाख ऋण दिएबापत ३० लाख र आकार कृषि फर्म दुर्गा भगवती गाउँपालिकाका अरुण साहलाई ३ करोड १० लाख रुपैयाँ ऋण दिएबापत ३० लाख रकम लिएको आरोप छ । प्रमुख गुप्ताले उक्त रकम प्रमुख कार्यकारी अधिकृत सीइओ न्यौपाने सहित केही उच्च अधिकारीसम्म पुर्याएको बताइएको छ ।
प्रमुख गुप्ताले ऋणीहरूसित खाली चेकमा हस्ताक्षर गर्न लगाई विभिन्न मितिमा विभिन्न व्यक्तिको नाममा चेक काटेर गरुडाकै व्यापारी बादल गल्ला भण्डारका खातामा जम्मा गरेको खुलेको छ । गल्ला भण्डारका सञ्चालक हाल फरार छन् । उनले बैंकबाट ४ करोड ऋण लिएर फरार भएका हुन् । प्रमुख गुप्ताले फरार व्यक्तिको खातामा ऋण मिलाउन अर्कालाई ऋण दिएर रकम अशुलेको आरोप छ ।
सबै ऋण कृषि प्रयोजनका लागि बैंकले लगानी गरेको हो । ऋण स्वीकृत गरेपछि प्रमुख गप्ताले अशोका एग्रिकल्चरका सञ्चालक अशोककुमार साहसँग नौ वटा खाली चेकमा हस्ताक्षर गराई ०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैंकका सुरक्षा गार्ड धर्मेन्द्रकुमार महतोको नामबाट ९ लाख ९५ हजार बादल गल्लाभण्डारको खातामा रकम जम्मा गरेको खुलासा भएको छ ।
त्यस्तै सचिन श्रीवास्तवको नाममा ९ लाख ९५ हजार, सञ्जय यादवको ९ लाख ९५ हजार, पाना देवीको ९ लाख ९५ हजार, रामबच्चु राउतको ९ लाख ९५ हजार, आरएनकुमार साहको ९ लाख ९५ हजार र आशा देवीको नाममा ५ लाख ३४ हजारको चेक काटेर बादल गल्ला भण्डारको खातामा जम्मा गरेको हो । अन्य ऋणिको पनि यसै गरि रकम जम्मा भएको देखीन्छ ।
बैंकबाट ऋण लिएर फरार भएका बादल गल्ला भण्डारको ऋण मिलाउन प्रमुख गुप्ताले कृषि ऋण दिएबापत रकम अशुलेका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बैंकका शाखा प्रमुख गुप्ता र निवेदकहरूसित बयान लिएर छाडेको बताइन्छ । गुप्तालाई छाड्न प्रमुख कार्यकारी अधिकृत न्यौपानेले आफ्ना प्रतिनिधि मार्फत प्रहरीलाई दबाव दिएको स्रोत बताउँछ ।
त्यस्तै प्रकृतिको जाजरकोट शाखाको घटना पनि गुपचुपमै मिलाइएको छ । त्यस्तै एनआइसी एशिया खुमलटार शाखामा पनि सीइओ न्यौपानेकै निर्देशनमा अनियमितता भएको छ । तर, त्यहाँ भने शाखा प्रबन्धकलाई निलम्बनको नाममा कारबाहीको नाटक गरिएको छ । जबकी करोडौँको ऋणको फाइल केन्द्रीय कार्यालयको स्विकृत बिना अघि बढ्न मुस्किल छ ।
ऋण घोटालामा कामना विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रविन कुमार बस्नेत जेल चलान भएका छन् । झापा लगायत विभिन्न शाखामा यस्तो अनियमितताको घटना बाहिरिएपछि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले यो घटनाको छानबीन गरेको थियो । छानबीनपछि प्रहरीले बस्नेतलाई पक्राउ गरेको थियो । एनआईसी एशियामा भने यति ठूलो करोडौँ घोटालामा शाखा प्रबन्धकलाई बयान लिएर छाड्ने कार्य नहुनुपर्ने हो । ‘यति ठूलो घोटालाको घटना सिआइबीले हेर्नुपर्ने हो । तर, शाखा प्रबन्धकलाई बयान लिएर मिलेमतोमा छाड्ने काम भएको छ,’ स्रोतले भन्यो,‘माथिसम्म तानिने भएपछि यो प्रकरण गुपचुपमै मिलाइँदै छ ।’
ठूलो अपराध यसकारण सिआइबीले हेर्नुपर्छ
सामान्यतया नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त बैंकका शाखा कार्यालयबाट करोडौँको कारोबार सिइओको स्विकृति बिना हुँदैन । गरुडा शाखाको घटना पनि प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेको निर्देशन र स्विकृति बेगर भएको छैन । सर्वसाधरणको नाममा ऋण स्विकृत गराउने र ब्यालेन्स मिलाउनका लागि यताको पैसा उता पुर्याउने गरिएको छ । यस्तो घटनामा यतिबेला एनआइसी एशिया बैंक पहिलो बनेको छ । राजधानीको खुमलटार शाखामा बैंककै उच्च अधिकारीको मिलेमतोमा खाताको पैसा अपचलन भएको छ । जाजरकोटमा पनि त्यस्तै छ । तर, यस्ता घटनाको छानबिन स्थानिय प्रशासनबाट संभव नदेखिएपनि छानबिनको नाटक भने चलिरहेको छ । कामना सेवा विकास बैंकको घटना सिइआबीले अनुसन्धान गर्ने तर यति ठूलो करोडौँ घोटालाको घटना भने सामसुम पार्ने कोशिस हुँदैछ । यो घटना पनि बैंकिङ्ग कसुर अन्तर्गर्त सीईओलाई नै कठघरामा उभ्याउनुपर्ने विश्लेषकहरु बताउँछन् ।