वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओसामा विन लादेनका छोराको हत्या भएको पुष्टि गरेका छन् ।
लादेनका छोरा हम्जा विन लादेन ‘अमेरिकी आतंकवादविरोधी कारवाहीको क्रममा अफगानिस्तान–पाकिस्तानी क्षेत्रमा’ मारिएको जनाएका हुन् । ट्रम्पले शनिबार एक विज्ञप्ति नै जारी गरी उक्त खबरको पुष्टि गरेका हुन् ।
ट्रम्पले उनको मृत्यु कहिले भएको भन्नेबारे भने खुलाएका छैनन् । हम्जा लादेनका छोरा मात्रै नभएर अल क्वायदाका नेता पनि थिए । गत महिना मात्रै उनको हत्या भएको खबर सार्वजनिक भए पनि अमेरिकी राष्ट्रपतिले पहिलो पटक यसबारे औपचारिक रुपमा अभिव्यक्ति दिएका हुन् । यस क्रममा ट्रम्पले विभिन्न आतंकवादी समूहसँग साँठगाँठ गरेकोमा हम्जा जिम्मेवार भएको बताए ।