धादिङ, १८ भदौ । धादिङको गजुरी गाउँपालिकाको कार्यापालिका बैठकलाई लिएर तनाव भएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले सिद्धलेक गाउँपालिकामा पर्ने रिभरपार्क विच रिसोर्ट २ दिनका लागि बुक गरेपछि गाउँपालिका उपाध्यक्षसहित बहुमत सदस्यले बहिस्कार गरेका छन् ।
गाउँपालिकाको सरकारी कार्यालय हुँदा हुँदै गाउँपालिकाको बजेट दोहन गर्न रिसोर्ट बुक गरिएको भन्दै उपाध्यक्ष सिता ढुङ्गाना सहित बहुमत सदस्यले बहिस्कार गरेका हुन् । रिसोर्टका एक अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष बस्नेतले २ दिनका लागि सबै रिसोर्ट बुक गरेका थिए ।
‘भोली विहान ७ बजेदेखि हामीलाई ब्रेक फास्ट सहित बुक गरिदिनु भनेपछि हामीले बुक गरिदियौँ । अर्को टिमलाई समेत नदिएर गाउँपालिकालाई बुक गरिदिएका थियौँ । तर, अहिले आएर कोही पनि आउनु भएको छैन । हामीले बाहिरबाट सामान किनेर तयारी गरेका थियौँ । तर, गाउँपालिकाबाट कोही पनि आएको छैन,’ एक अधिकारीले भने,‘दैनिक भ्याट बाहेक ७० हजार रुपैयाँ खर्च हुन आउँछ । प्रतिव्यक्ति २५ सय रुपैयाँको दरले ३५ जनाका लागि बुक गरिएको छ ।’
गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले आफू कार्यापालिका बैठकमै रहेको बताए । यद्धपी कार्यापालिकाका बहुमत सदस्य भने बाहिर छन् । उनीहरु बैठकमा छैनन् । उनी रिसोर्टमा समेत नपुगेर बाहिरै रहेपनि कार्यापालिका बैठकमा रहेको भन्दै झूट बोलेका छन् ।
उपाध्यक्ष सिता ढुङ्गानाका अनुसार उनीसँग बहुमत सदस्यले बैठक बहिस्कार गरेका छन् ।
‘बिहान ७ बजे गाँउपालिकाको महत्वपुर्ण र नियमित बैठक बस्ने भनी अध्यक्षज्युद्वारा बोलाइएकोमा उक्त बैठक गाँउपालिका क्षेत्रभन्दा बाहिर त्यो पनि रिसोर्टमा गएर २/३ दिन बैठक बस्ने प्रस्ताबलाई स्विकार्न सकिएन,’ उनले सामाजिक सञ्जालमै लेखेकी छिन्,“रिसोर्ट बैठक“ बहिस्कार गर्ने निर्णय गरियो । साथै यहि कुरा भन्न अध्यक्षज्युलाइ फोन गर्दा समेत फोन उठाउनु भएन । गाँउपालिकाको बैठक गाँउपालिका भित्रै बस्न पर्ने जिकिर गर्दछौं ।’