हजुर आमा ! मैले पढेर पो दुःख पाएँ

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र २१, २०७८ | १७:४५:१४

यशु सापकोटा

भारतको पन्जाबमा म जन्मिएँ । मेरो बाल्यकालको करिब १३ वर्ष पञ्जावमै बित्यो । । पुख्र्यौली घर बाग्लुङ जिल्लामा थियो । म जन्मिएको १३ वर्षपछि हामी पुख्र्यौंली घर बाग्लुङ आयौँ स– परिवार ।


गाँउमा हजुरबुवा, हजुरआमा हुनुहुन्छ भन्ने थाहा थिएन ।


विध्यालय हिडेर जानुपर्ने भएकोले म निकै अल्छी गर्थें । हजुरआमा भन्नुहुन्थ्यो “हामीले पढ्न नपाएर धेरै दुःख पायौं, त्यसैले राम्रोसँग पढ्नुपर्छ स्कुल जाउ ।”


मलाई थाहा थिएन, हजुरआमाले पढ्न नपाएर के दुख पाउनु भएको थियो । आखिर दुःख र सुख के हो ?

तर मलाई अहिले लाग्छ मैले पढेर पो दुख पाएँ की !

मेरी आमालाई गाउँघरमा सबैले सोध्थे,‘तेरा छोराछोरीले खै पढेर के गरे ?” ‘ममी’संग जवाफ थिएन त्यसैले चुपचाप बस्नुको विकल्प हुन्थेन ।
नेपालमा ‘पीएचडी’ पास गरेकाहरु त बेरोजगार छन् भने मैले त १२ कक्षा मात्रै पास गरेर बसेकी थिएँ ।

१२ कक्षा पास गरेपछि विभिन्न कारणहरुले पढाई रोकियो ।

केही काम गरौं ७/८ हजारको लागि १ घन्टाको बाटो हिँडेर काम गर्नु भन्दा त घरमै कुखुरा, बाख्रा पाल्नु राम्रो भन्ने सोच आयो । हजुरआमाले खेतबारीमा काम गरेको देखेकी हुनाले कृषि प्रति निकै रुचि थियो तर गाँउमा भने पढेकाहरुले कृषि गर्नु हाँसोको विषय बनाँइदो रहेछ ।


नेपालमा जति पढेपनि राम्रो रोजगारी पाइने त होइन त्यहिमाथि कामलाई हेर्ने फरक फरक दृष्टिकोण । कसैले रोजगारी पाइहाले पनि जीवन धान्नै मुस्किल छ यो देशमा । थोरै पारिश्रमिकमा धेरै आवश्यकताहरु पुरा गर्नुपर्ने बाध्यता छ । त्यसमाथि शहरदेखि गाउँसम्म महँगीको महामारी बढ्दो छ ।


घरमै कुखुरा बाख्रा पाल्ने मेरो सोँच थियो । तर, समाज भने मेरो सोँच माथि भद्दा मजाक गरिरहेको हुन्थ्यो । ‘छोरी मान्छे न पढाई छ न त केही काम, बिहे गरेर जानुनी,’ गाउँकाहरु भन्थे ।

मलाईभन्दा धेरै मेरो चिन्ता गाँउघरको लाई थियो । तत्कालै विवाह गर्ने कुनै योजना नै थिएन । सानै उमेर । आफ्नो खुट्टामा नउभिई विवाह गर्दा समाजकै दिदिबहिनीहरुले पाएका दुखहरु आँखै अगाडी देखेको थिएँ ।

आर्थिक अवस्था राम्रो थिएन । ‘अलिकति पढेको केटी जस्तोपाई त्यस्तैसंग बिहे गर्न हुदैँन रे, राम्रो घरपरिवारसंग सम्बन्ध बनाउनको लागि आर्थीक स्थिति थिएन । आफ्नो जिन्दगीको सहयात्री रोज्न पनि मेरो पढाई दुश्मन बनेको थियो । न त आँफूले चाहे जस्तो काम गर्न पाईने, न त सहयात्री रोज्न । हामी किशोरीहरुको बाध्यता यस्तै हो ।


रहर नहुँदा पनि बाध्यताले मलाई काठमाण्डौ छिर्नुपर्यो । म गाँउमा हुर्कीएको मान्छे । गाउँघरको स्वच्छ वातावरणबाट धुँवा, धुलो, प्रदुषण र फोहोरको शहरमा आएँ । यही फोहोरी सहरमा मेरा सपनाहरु पुरा गर्नुपर्ने बाध्यताहरु । म जस्तै हजारौँले यो शहरमा सपनाहरु पालेका छन् । यो शहरले कयौँलाई बनाएको छ । कर्यौँलाई भत्काएको पनि छ । त्यसैले त भनिन्छ काठमाडौं पुगेपछि कि मान्छे बन्छ कि बिग्रन्छ ।


थाहा छैन मलाई म बिग्रे कि सप्रे तर काठमाण्डौले मलाई धेरै कुराहरु सिकाएको छ । भोक, निन्द्राको महत्व मैले यही शहरमा सिकेकी छु । मलाई थाहा थियो, काम सानो ठूलो हुदैँन तर बाध्यताको साङलोमा बाधीएकी थिएँ म ।

मैले खोजे जस्तो काम पाएकी थिइन । लापरबाही तरिकाले हिँडने, खाने बस्ने ठेगान नहुने वास्तवमा जिन्दगी जिउनुको अर्थ छ जस्तो लाग्दैन्थ्यो । भोकले पोलिरहेको पेटले सबै काम गर्न तयार थियो । तर, गाउँबाट बोकेर आएका सपनाहरुलाई मलाई झक्झक्याउँथ्यो ।

गाउँमा जिउन खासै पैसा चाहिँदैन । आफ्नो खेतबारीमा काम गरेर अर्गयानिक खानेकुराहरु खान पाइन्थ्यो ।

भोकले नै थला पर्नुपर्ने स्थिति गाँउमा थिएन । तर, काठमाडौं सहरमा त एक पाइला टेक्न पनि पैसा चाहिँन्छ । शहरमा स्क्वायर फिटको आधारमा बसेको भाडा बुझाउनुपर्छ ।


खाली पेटमा मलाई कहिलकाँहीँ मेरी हजुरआमाकै याद आउँछ । मनको एउटा कुनाबाट मेरी हजुरआमालाई भन्ने गरेकी छु,“आमा तपाँईले नपढेर ठिकै गर्नु भयो, मैले पढेर दुख पाएँ ।”

सम्बन्धित खबर