काठमाडौं महानगरमा मेयर शाक्यको मनोमानी : मदन भण्डारी फाउन्डेशनलाई घडेरी किन्न सवा ४ करोड !

diyopost.com
यशु सापकोटा
  सोमबार, आश्विन ०४, २०७८ | १७:२९:१८

काठमाडौं, ४ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले मनोमानी रुपमा आफू निकट व्यक्ति तथा संस्थालाई अनुदान वितरण गरेको पाइएको छ । आफू समलग्न रहेको दल नेकपा एमाले निकट एनजिओलाई निजि भवन बनाउन करोडौं रुपैयाँ मनोमानी हिसाबले वितरण गरेको पाइएको हो ।

महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा मेयर शाक्यले मनोमानी रुपमा वितरण गरेको अनुदानमा प्रश्न उठाइएको छ । मेयर शाक्यले नेकपा एमालेको अध्यक्ष केपी ओली निकट तथा राष्ट्रपति विद्या देवि भण्डारीका पति स्वर्गिय मदन भण्डारीको नाममा स्थापित एनजिओ मदन भण्डारी फाउन्डेशनलाई निजी भवन बनाउनका लागि जग्गा खरिद गर्न ४ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी दिएको पाइएको छ ।

२०७६ साउन २१ गतेको निर्णय अनुसार फाउण्डेशनलाई अनामनगर क्षेत्रमा ३ आनादेखि ४ आना र १० आना ३ पैसा ३ दाम क्षेत्रफलका ३ टुक्रा घडेरी खरिद गर्न ४ करोड २५ लाख भुक्तानी दिइएको पाइएको हो । महालेखाले फाउन्डेशनलाई निजि घर घडेरी उपलब्ध गराउँदा आम नागरिकलाई कस्तो प्रतिफल हुन्छ भन्ने प्रश्न उठाएको छ ।

मेयर शाक्यले आफ्नो एकल निर्णयबाट फाउन्डेशनका लागि २०७६ भदौ १० गते फेरी अर्को ३० लाख रुपैयाँ अनुदान दिएको कागजातमा उल्लेख छ । त्यस्तै मदन भण्डारीकै नाममा सञ्चालित ‘मदन भण्डारी स्पोर्टस एकेडेमीलाई एमेचर चेस प्रतियोगिताका लागि १० लाख रुपैयाँ अनुदान दिएको महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख छ ।

मदन भण्डारी फाउन्डेशनलाई दिएको चार करोड ६५ लाख रुपैयाँ अनुदानको विषयमा प्रतिक्रिया लिन मेयर शाक्यको मोबाइल नम्बरमा फोन गर्दा उनको मोबाइल स्विच अफ छ । प्रवक्ता ईश्वरमान डंगोलको नम्बरमा सम्पर्क गर्दा उनको नम्बरमा समेत सम्पर्क हुन सकेन ।

सम्बन्धित खबर