वासिङटन डिसीमा डा. युवराज खतिवडाको ‘लाजमर्दो हर्कत’ : संविधान दिवसमा नेपालीलाई प्रवेश निषेध

diyopost.com
दियो पोस्ट  बुधबार, आश्विन ०६, २०७८ | १०:२३:१४

वासिङ्टन डिसी । नेपालले २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी गरेको थियो । सोही दिनलाई नेपालीहरुले संविधान दिवसको रुपमा मनाउँदै आएका छन् । संविधान दिवस नेपालीका लागि एउटा उत्सव हो । विदेशमा रहेको नेपालका कुटनीतिक नियोग तथा राजदूतावासहरुले संविधान दिवसमा त्यहाँस्थित नेपाली नागरिकलाई समेत सहभागी गराएर मनाउँदै आएका छन् । तर, अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा आइतबार आयोजित संविधान दिवसको कार्यक्रममा भने राजदूत युवराज खतिवडाले अनौठो शैली अपनाएका छन् ।

अमेरिकास्थित नेपाली संघ संस्था तथा प्रतिनिधिलाई खबर नै नगरि उनले अमेरिकन प्रतिनिधिहरुलाई मात्रै साक्षी राखेर नेपालको संविधान दिवस मनाएका छन् । राजदूत खतिवडाले ‘नेपाली संघ सस्थाहरु र नेपालीहरुको के हैसियत छ र ?’ भन्दै कार्यक्रममा प्रवेश नै निषेध गरेको पाइएको छ ।

अमेरिकामा अमेरिका नेपाल सोसाइटी लगायत दर्जनौँ नेपाली संस्था छन् । अमेरिका नेपाल सोसाइटीले त भूकम्पदेखि कोरोना महामारीसम्म नेपाललाई निकै ठूलो सहयोग गर्दै आएको छ । संस्थाले कोरोना महामारीबीच दुतावासकै कर्मचारीलाई खोप उपलब्ध गराएको थियो । राजदूत खतिवडाले खोप उपलब्ध गराउन नसकेपछि अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले डिसीस्थित नेपाली दूतावासमा कार्यरत कर्मचारीलाई तत्काल खोप उपलब्ध गराएकी थिइन् । संविधान दिवसको कार्यक्रममा उनलाई समेत बोलाइएन ।

राजदूत खतिवडाले नेपालको संविधान दिवसमा अमेरिकन नागरिकलाई मात्रै बोलाएका थिए । राजदूतावासमा आयोजित कायक्रममा दूतावासकै कर्मचारी र अमेरिकन नागरिक मात्रै सहभागी भएपछि कार्यक्रम नै खल्लो भएको थियो ।
‘नेपालको संविधान दिवसमा नेपाली समुदाय खुसी हुनुुपर्छ । यसअघि दूतावासले संविधान दिवसको अवसरमा कार्यक्रममा अमेरिकामा रहेका प्रतिनिधिमुलक संस्थाहरुका पदाधिकारी उपस्थित हुन्थे,’ एक नेपाली प्रतिनिधिले भने,‘यसपाली त विदेशीलाई साक्षी राखेर नेपालको संविधान दिवस मनाईयो । साँच्चै नेपालको संविधानमा नेपाली पो खुसी हुनुपर्ने होइन र ? राजदूत खतिवडाले नेपालीलाई नै अपमान हुने हिसाबले कार्यक्रम गर्नु भयो । यो त नेपाल र नेपालीका लागि लाजैमर्दो हर्कत भयो ।’

यसैबीच अमेरिकामा रहेका राजदूत खतिवडालाई सरकारले फिर्ता बोलाउने भएको छ । तत्कालिन केपी ओली सरकारको निगाहमा राजदूत नियुक्त भएका उनलाई शेर बहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।
मंगलबारको मन्त्रिपरिषद बैठकले ओली सरकारले नियुुक्त गरेको सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सम्बन्धित खबर