पछिल्लो समय राज्यले महिलाहरूले प्रयोग गर्ने सेनिटरी उत्पादनहरूलाई ‘लक्जरी वस्तु’ अन्तर्गत राखी १३ प्रतिशत मूल्यअभिवृद्धि कर तथा भन्सार महसुल लगाएको छ । अत्यावश्यकीय वस्तु ‘लक्जरी वस्तु ’बनाइ ट्याक्स असुल्ने धन्दामा सरकार लाग्दा महिलाअधिकारकर्मीहरू, सामाजिक अभिन्यान्ताहरू आवश्यक दवाब सिर्जना गर्न लागिरहेका छन् । सामाजिक सन्जाल, मिडियादेखि माइतीघरसम्म सरकारको यस कदमको विरोध भइरहको छ । आज मात्रै विनोद देउवा ठकुरीलगायतका व्यक्तिहरू ‘रातो कर, माफ गर’ लेखेको व्यानारसहित माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् ।
पपुलेसन सर्भिस इन्टर्नेसनल नेपाल (Population Services International Nepal) नामक संस्थाले गरेको अनुसन्धान अनुसार नेपालमा अनुमानित ८३ प्रतिशत महिलाहरूले महिनावारी भएको बेला प्रतिबन्ध वा अन्यप्रकारको बहिष्कार र भेदभावको सामना गर्नुपर्छ । महिलाहरूले दैनिक क्रियाकलापहरू गर्न, भान्छाकोठामा वा पूजास्थलहरूमा प्रवेश गर्नदेखि लिएर गोठबास (छाउपडीप्रथा) जस्ता चरम निषेधहरू (महिनावारी विभेद) को सामना समेत गरिरहेका छन् ।
धेरै सानो उमेर देखिनै महिलाहरूलाई घर परिवारहरूबाट नै रजस्वला चक्रले अपवित्र र अशुद्ध बनाउँछ भन्ने पाठ सिकाइरहिएको र यसको चर्चा गोप्यरूपमा गर्नुपर्ने, विशेष गरी पुरूषहरूबाट टाढा रहनुपर्ने लगायतका अनेकन अविवेकपूर्ण एवं तर्कहिन सल्लाहहरूको बोलवाला रहीरहेको समयमा सरकार महिलाको स्वास्थ्यप्रति असंवेदनशील हुँदै करमुखी होइदिनु लाजको पसारो शिवाय अर्कोथोक केही होइन।
महिनावारी हुँदा बग्ने रगतको व्यवस्थापनका लागि सेनिटरी प्याड हरेक किशोरी र महिलाका लागि अत्यावश्यक सामग्री हो । उसै पनि, शहरी क्षेत्रमा झन्डै ९० प्रतिशत महिलाले प्रयोग गर्ने सेनेटरी प्याडको मूल्यमा एकरुपता नहुँदा करोडौँ ठगी हुँदै आइरहेकै छ । ग्रामिण भेगमा सेनिटरी प्याडको महत्व प्रचार-प्रसार गर्न बाँकी नै छ । यतातर्फ ध्यान पुर्याउनुपर्ने अवस्थामा भ्याट लगाएर स्यानिटरी उत्पादनहरूको लागतमा ठूलो वृद्धि गर्न सरकार किन हौसियो ? सुरक्षित र किफायती सेनिटरी उत्पादनहरूको अभावले देशभरका महिला र ट्रान्सजेन्डर पुरुष समुहले कमजोर सेनिटरी स्वच्छता भोग्न बाध्य भइरहको अवस्थामा लैङ्गिक असंवेशनशीलता प्रदर्शन गर्न राज्य किन उत्साहित बायो ? सेनिटरी प्याड आधारभूत आवश्यकता नभएर कसरी लक्जरी वस्तु भयो ? लगायतका प्रश्नहरू सामाजिक सन्जालमा निरन्तर बोलिरहेकी काव्या रिजालसँग दियोपोस्टले गरेको कुराकानीको सम्पादित अंश:
१.महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बीबीसीले बत्ताइसकेको थियो । यस्तो बेलामा सरकारले सेनटरी प्याडको मूल्य अझ बढायो । तपाईँले ‘सरकार प्याड महँगो भयो’ भनेर लेख्नुभएको स्ट्याटसले सामाजिक सञ्जालमा तरङ्ग ल्याएको छ । सरकारको नालायककीलाई कसरी हेरिरहनु भएको छ ?
महिलाको स्वास्थ्य, सरसफाइ एकदमै संवेदनशील विषय हो । यस विषयप्रति सरकारले आफ्नो नीति तथा कार्यक्रमदेखि बजेटसम्ममा संवेदनशीलता देखाउनु पर्ने थियो । तर विडम्बना- स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रहरूमा उल्लेख्य प्रगति हासिल गर्ने सवालमा सरकार हमेशा नालायक ठहरिन्छ । नीतिगत रूपमा स्पष्टता भएतापनि पूर्णत: व्यवहारमा लागू भएको कहिले देखिएन ।
वर्तमान अवस्थामा हरेक क्षेत्रमा महँगी बढेको अवस्था छ । राज्य/सरकार यस्ता विषयहरूमा संवेदनशील होओस् भनेर खबरदारीस्वरूप ‘स्ट्याटस राखेको हु ।
२.अध्ययनअनुसार, नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन्। तपाईँको आफ्नो भोगाई के छ ? पेनकिलर ट्याब्लेट (यदि प्रयोग गर्नुहुन्छ भने), प्याड लगायतका लगायातका सामग्रीहरू प्रयोग गर्दा तपाईँको महिनावारी खर्च कति पुग्न जान्छ?
मेरो भोगाइ पनि सबैको जस्तै हो । महिनावारी हुँदा शारीरिक एवम् मानसिक दुवै रूपमा कमजोर हुने गर्छ । कसैलाई धेरै दुखाइ हुन्छ भने कसैलाई कम । मलाई एकदम धेरै दुखाई हुन्छ, बेहोस नै हुन्छु । म जस्तै कतिपय दिदीबहिनीहरू मेरै अवस्थामा हुनुहुन्छ । कसैलाई धेरै रगत बगिरहने समस्या हुन्छ । मैले महिनावारीको अवधिभर २ प्याकेट भन्दा बढी प्याडहरू फेर्ने गरेकी छु । अझ पेनकिल्लरको पैसा त अलग, जसको मूल्य हिसाब गर्ने हो भने चानचुन ५००-६०० रुपियाँसम्मको हाराहारी आउँछ ।
व्यक्तिगत रुपमा मलाई के लाग्दछ भने, यो खर्च सबैलाई सहज छ जस्तो लाग्दैन । अलिअलि आयस्रोत हुनेहरूका लागि त यो विषय सामान्य नै होला, त्यही भएर कोही बोलेको जस्तो पनि लागेन । तर अधिकांश महिलाहरूका लागि यो खर्च सामान्य खर्च होइन ।
सामान्यतया १३/१४ वर्षको उमेरबाट महिनावारी सुरु हुने गर्छ । र, १३ वर्ष को एउटा किशोरीले हरेक महिना आफ्नो स्वास्थ्य र सरसफाइ को लागि ५००-६०० रुपैयाँ आफ्ना अभिभावकसँग माग्नु पर्ने हुन्छ । अझ त्यसमाथि समाजले थोपर्दिएको लाजको ट्यागले पनि सानै उमेरदेखि महिलाहरूलाई अफ्ठेरो बनाइरहेको छ ।
३.प्याड महँगो भएपश्चात् प्रयोग कम हुने भयो नि, होइन ? स्वास्थ्यको दृष्टिकोणमा कमसल विधि अपनाइनु राष्ट्रकै लागि घाटाको कुरा होइन र ?
प्याडलाई राज्यको आर्थिक पाटोसँग जोडेर हेर्नु पूर्णतः गलत हो । यसमा नाफा-घाटाको कुरा नै छैन । यो त हरेक महिलाको स्वास्थ्य जोडिएको कुरा हो । नागरिकहरूको माग र उनीहरूले उठान गरेको कुरालाई सुनेर त्यसको व्यवस्थापन गर्नु राज्यको दायित्व पनि हो । राज्यले आफ्नो दायित्व छिटोभन्दा छिटो पुरा गरोस् ।
४.महिनावारीसँग जोडिएको मानसिक चिन्ता, हैरानी र उत्पीडनका बारेमा पाठ्यपुस्तक, सम्बन्धित निकायहरूको बेवास्ता के-कति कारण होला ?
साँच्चै, यस्ता विषयहरू त स्कुल लेभलकै पाठ्यक्रममा राख्नु पर्ने विषय हो । यसलाई सानै उमेरदेखि बुझ्नु एकदमै जरुरी हुन्छ । हाम्रो समाजमा महिनावारीका कुरा लुकाइन्छ । यस्तो कुरा गर्नु हुँदैन । अझ महिनावरी भनेको फोहोर कुरा हो भन्ने मानसिकता घुमिरहेको छ, यो गलत मानसिकता हो।
यस विषयमा हरेक स्थानीय सरकारहरूले आफ्ना नीति तथा कार्यक्रमहरूमा राख्नु पर्छ । पाठ्यक्रममा राखेर हुन्छ की अन्य कुनै तरिकाबाट हुन्छ, यसलाई सबैलाई बुझ्ने विषयका रूपमा कार्यक्रमहरू बनाइनुपर्दछ । यो लाज, फोहोरको विषय कदापि होइन । सम्बन्धित निकाय हरूले यस विषयलाई बेवास्ता नै गरेको देख्छु । यो विषयमा पहिलेदेखि नै आवाज उठ्दै आएको पनि हो । तर विडम्बना अझैसम्म पनि सुनुवाइ भएको छैन । कमजोर मानसिकताका कारण हो कि जस्तै लाग्छ ।
५.रगत लाज, भेदभाव, अपवित्र फोहोर, प्रदूषित रगत जस्ता भाष्यहरूको पछाडि के-कस्ता अर्थहरू लुकेको भेट्नुहुन्छ ?
हो, अझै पनि लाज भन्ने, भगवान्सँग जोड्ने , भेदभाव गर्ने , छुट्टै कोठामा सुताउने जस्ता चलनहरू हराएका छैनन् । यही काठमाडौँ जस्तो विकसित सहरमा पनि यस्ता क्रियाकलापहरू देखिन्छ ।
यो विषयमा परिवारका अभिभावकहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्छ । उहाँहरूले जसरी स्कुलिङ गर्नुहुन्छ- भोलि त्यो परिवारका बच्चाहरूले सिक्ने पनि त्यही नै हो ।
६.मर्यादित महिनावारीलाई लिएर सञ्चार क्षेत्र कत्तिको सचेत एवं उत्तरदायी भएको पाउनुहुन्छ ?
जस्तो सरकार, उस्तै सञ्चार क्षेत्र रहेको पाउँछु । सरकार सँगसँगै सञ्चार क्षेत्रको पनि एकदमै ठुलो भूमिका रहेको हुन्छ । बारम्बार यस विषयलाई उठान गर्दै राष्ट्रिय बहसको रूपमा अगाडि ल्याउनु जरुरी देखिन्छ । समाजमा महिनावारीका बारेमा चेतना फैलाउन सञ्चार माध्यम आफ्नो भूमिका रहन्छ भन्ने कुरा बिर्सनुभएन ।
७. महिनावारीलाई गौरवपूर्ण रूपमा व्यवस्थापन गर्न के गर्नुपर्ला ?
महिनावारी महिलाहरूमा हुने प्राकृतिक अवस्था हो । यसमा लाज मान्नु पर्ने, लुकाउनु पर्ने, भेदभाव गर्नुपर्ने कुरै छैन । यस्ता सम्पूर्ण हर्कतहरू अमान्य छन्।
महिनावारीका बेला सबैभन्दा महत्त्वपूर्ण कुरा सरसफाइ हो, त्यसका लागि सेनिटरी प्याडले एकदमै ठुलो भूमिका खेल्दछ । सेनिटरी प्याड सर्वसुलभ रूपमा पाउनु एकदमै जरुरी छ । यस विषयको संवेदनशीलतालाई बुझेर सरकार, सञ्चार माध्यम, नागरिक समाज, गैरसरकारी संस्था, परिवार, विद्यालय लगायत अन्य पक्षहरूआ -आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने देखिन्छ ।
यस विषयमा आएका नकारात्मक सोचाइ हरूलाई अब जरैदेखि उखेल्नु पर्ने बेला आइसकेको जस्तो लाग्छ । प्रत्येक सरकारी विद्यालयहरूमा प्याडको उचित व्यवस्था गर्नु पर्दछ । यसका लागि स्थानीय सरकारले ठोस कदम चाल्न जरुरी छ । किन्न सक्नेका लागि सुलभ मूल्यमा र किन्न नसक्नेका लागि निःशुल्क वितरण गर्नु पर्दछ ।