…म होइन हाम्रो संरचना हो अपाङ्ग !

अपाङ्गता भएका व्यक्तिको नजरमा हाम्रो समाज

diyopost.com
यशु सापकोटा
  बुधबार, आश्विन १३, २०७८ | १७:३६:५५

नेपाली समाजमा फरक क्षमता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण पनि फरक छ । समाजमा शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरू र तेस्रो लिङ्गीहरूलाई हेयको दृष्टिले हेर्ने गरिन्छ । अपाङ्गता भएका व्यक्तिलाई माया, सद्भाव र सहाराको खाँचो हुने गर्छ । तर, उल्टै दुर्व्यवहार गरिँदा उनीहरूको जीवन पद्धति झनै असहज बन्ने गरेको छ ।

‘पूर्वजन्मको पापका कारण अपाङ्गता हुनु परेको’ भन्ने गलत र अवैज्ञानिक अवधारणा जुन छ, यसले गर्दा  समाजमा अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिहरूलाई अपमान गर्ने गरिन्छ ।
फरक हुनुको अर्थ असक्षम हुनु होइन । त्यस्तै अपाङ्ग हुनु भनेको पनि असक्षम हुनु होइन । न त पूर्व जन्मको पाप नै हो । ‘अपाङ्गता भएका व्यक्तिहरू परिवार तथा समाजका बोझ हुन’ भन्ने पुरानो मानसिकताले पनि समाजमा उनीहरूलाई फरक व्यवहार हेर्ने गरिएको पाइन्छ । उनीहरूले केही गर्न सक्दैनन् अर्थात्, उनीहरू समाजका लागि प्रगतिका वाधक हुन भन्ने सङ्कीर्ण मानसिकता अहिले पनि हाबी छ ।

त्यसो त, अपाङ्गता भएका व्यक्तिहरूलाई ‘बिचरा’को संज्ञा दिन पनि पछि पर्दैन समाज । ‘विचरालाई भाग्यले ठगेछ, अब कसरी बाँच्छ होला?’ भन्ने साँघुरो मानसिकताका कारण अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले निरीह प्राणीजस्तै बनाएको छ । तर, शारीरिक रूपमा कमजोर हुनु भनेको असक्षम हुनु र मानसिक रूपमा पनि कमजोर हुनु होइन भनेर समाजले कहिले बुझ्ला?

अपाङ्गता भएर पनि समाजका लागि कैयौँ उदाहरणीय काम गरेका व्यक्तिहरू पनि समाजमा प्रशस्तै भेट्न सकिन्छ । ति मध्ये एक हुन्, सिन्धुपाल्चोककी रेवती कार्की ।

हो, रेवती कार्की अपाङ्गता भएका व्यक्तिहरूका लागि उदाहरणीय पात्र हुन् । शिक्षा नेपाल नामक संस्थाकी उपाध्यक्ष समेत रहेकी कार्की डोल्पा जिल्लामा पीछडिएका बाल–बालिकाहरूको शिक्षाका क्षेत्रका काम गर्छिन् । उनले स्वयंसेवक भएर काम गर्न लागेको आज ६ वर्ष भयो । उनी कविता लेख्छिन् । पुस्तक पढ्न रुचाउँछिन् । भिडियो निर्माणका साथै खोज र अनुसन्धानमा उनको लगाव छ ।

आफू अपाङ्ग भएर जन्मिएपछि समाज र परिवारबाट भोग्नु परको तितो यथार्थ बोकेर उनी सङ्घर्षमा होमिएकी थिइन् । अपाङ्ग होस या सपाङ्ग, सबै व्यक्तिको अधिकार बराबर हुने उनको तर्क छ । नयाँ पुस्ताले आफूले जस्तो दमन, पीडा र दु:खहरू खेप्नु नपरोस् भन्ने उद्देश्यले उनले नयाँ समाज निर्माणको सपना देखेकी छन् ।

सिन्धुपाल्चोकको ग्रामीण क्षेत्रमा जन्मिएकी उनी शारीरिक रूपमा अपाङ्ग भइन् । तर, उनले समाजका लागि गरेको योगदान अन्य सपाङ्गले गरेको भन्दा कम छैन ।

उनी जन्मेको दुई वर्ष नपुग्दै उनी परिवारसँग काठमाडौँ आइन् । काठमाडौँमै हुर्केकी कार्कीसँग पनि आफू अपाङ्गता हुँदा परिवार र समाजले हेर्ने हेय दृष्टिको तितो अनुभव छ । आफ्नो विगत कोट्याउँदै उनी भन्छिन्, ‘हो म अपाङ्ग हुँ तर, म असक्षम होइन । अपाङ्गता र असक्षमतालाई एउटै घेरामा राखेर हेर्न मिल्दैन ।’

यद्यपि, हरेक मानिसको जन्मिने प्रक्रिया एउटै हो । समयसँगै मानिस हुर्कँदै जान्छ र ऊभित्र विभिन्न परिवर्तन पनि आउने गर्छन् । तर, अपाङ्गता हुनु भनेको चाहना मर्नु होइन । रेवती कार्कीका पनि आफ्नै भोगाई र चाहनाहरू थिए । ‘हरेक मानिसको भोगाई फरक हुन सक्छ तर, अनुभव गर्ने मन त एउटै हो नि । हाम्रो चाहना पनि अरू मानिसहरूको जस्तै हुन्छ । हाम्रो पनि आफ्नै पहिचान हुन्छ ।’ उनी आफ्नो भावना व्यक्त गर्छिन् ।

त्यसो त, हरेक व्यक्तिका आ–आफ्नै तीता मीठा कथाहरू हुने गर्छन् । उनका पनि आफ्नै कथा छन् । केही मिठा अनि, केही तिता । मिठा कथाको खासै अनुभव भएन उनलाई । तर, तिता कथाको अनुभवले उनको जीवनप्रतिको बुझाई नै बदलिदियो । ‘सङ्घर्ष नै जीवन हो ।’
परिवारसँगको सङ्घर्ष, समाजसँगको सङ्घर्ष, साँघुरो सोँचसँगको सङ्घर्ष । पाइला–पाइलामा सङ्घर्ष । सङ्घर्ष कहाँ मात्र थिएन? त्यो भन्दा पेचिलो थियो आफैसँगको सङ्घर्ष । त्यसैले त उनको समाजप्रतिको दृष्टिकोण नै बदलियो । सोँच बदलियो । उनी स्वयमलाई सहाराको जरुरत हुँदा हुँदै पनि उनी आफूजस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि सहारा बन्न चाहिन् ।

त्यति मात्र होइन, समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन चाहिन् । उनी भन्छिन्, ‘मानिसहरूले हामीहरूलाई हेर्ने, दृष्टिकोण र सोँचमा परिवर्तन ल्याउनु छ । मभित्र जाँगर र साहस छ । म जस्तै धेरैका लागि साहस र हिम्मत बन्न चाहन्छु ।’
हो, सङ्घर्षले उनी भित्र साहस भरिदिएको छ । जाँगर र हिम्मतले उनी भित्र ऊर्जा भरिएको छ । त्यसैले उनी हरेक दिनलाई नयाँ तरिकाले परिभाषित गर्छिन् । कहिलेकसो उनी आफैसँग प्रश्न गर्ने गर्छिन्, ‘के यो समाजले हामीलाई बोझ सम्झिन्छ? के साँच्चिकै हामीसँग क्षमता छैन?’ अहँ ! त्यसो होइन, उनीभित्र अथाह क्षमता छ । मात्र समाजले नचिनेको हो ।

अपाङ्गता भएका व्यक्तिहरूसँग क्षमता भएर पनि राज्यले उपयुक्त वातावरण निर्माण नगरिदिएको उनको आरोप छ । भन्छिन्, ‘हामीलाई ‘कठै, बिचरा’ भनेर दया देखाउनेको आवश्यकता होइन, हामीलाई अवसरको खाँचो छ र हामी त्यो अवसरको सदुपयोग गरेर आफ्नो क्षमतालाई देखाउन सक्छौँ ।’

अपाङ्गता भएर जन्मिनु कसैको गल्ती होइन । गल्ती हो त, उनीलाई हेर्ने दृष्टिकोण र सोचको । सबै परिवारको सामाजिक र आर्थिक हैसियत सबल हुँदैन । आफ्ना अपाङ्गता भएका सन्तानलाई उपचार गराउन नसक्ने कैयौँ परिवार छन्, हाम्रो समाजमा । उनीहरूलाई राज्यले उपचार र अवसरको ढोका खोलिदिनु पर्ने उनको तर्क छ ।

आफ्ना सन्तान अपाङ्ग भएर जन्मिँदैमा परिवारले बोझ सम्झिनु हुँदैन । ऊ भित्रको फरक क्षमतालाई बुझेर उसलाई सहयोग गर्नु नै हरेक आमा बुवाको कर्तव्य भएको उनको भनाई छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई गरिने फरक व्यवहारका कारण दुखेको दिलमा मलहम लगाउने कोसिस उनी आफैले गरिन् । उनी सानै छाँदा स्कुलमा भर्ना गर्दा शिक्षकले आमालाई बोलाएर छुट्टै कागजमा हस्ताक्षर गर्न लाइएको कुरा उनले अहिले पनि बिर्सेकी छैनन् ।
आमालाई किन हस्ताक्षर गर्न भनिएको हो ? उनले खासै भेउ पाइनन् । पछि बुझिन्, आफू अपाङ्ग भएकै कारण शिक्षकले यस्तो गरेका रहेछन् । ‘म अपाङ्ग भएकै कारण यसो गरिएको रहेछ ।’

त्यसो त, अपाङ्गता भएका व्यक्तिलाई परीक्षा दिने बेलामा निकै समस्या हुने गर्छ । परीक्षा दिनु पर्यो भने एक महिना अगाडि नै लेखिदिने सहयोगी खोज्नु पर्ने समस्या उनले कैयौँपटक ब्यहोरेकीछिन् । भन्छिन्, एक महिना अघिदेखि नै मान्छे खोज्यो, आफू भन्दा दुई तह तल्लो कक्षामा पढिरहेको हुनुपर्ने, अनि उसको फोटो लिएर शिक्षकको लेटर लिएर, परीक्षा कार्यालय गई दुई-तीन दिन लगाएर ,हाकिमहरूलाई भेटेर चिठ्ठी बनाउन लगाउनुपर्ने झन्झटिलो प्रक्रियाले कति गाह्रो हुन्छ ।’

लामो श्वास तान्दै उनले थपिन्, ‘सबैभन्दा धेरै डर त परीक्षाको दिन परीक्षा हलमा छिर्न दिन्छ कि नाइँ, छुट्टै कक्षा छ कि नाइँ, भन्ने जस्ता धेरै प्रश्न हरू दिमागमा खेल्छ । त्यसपछि परीक्षा दिन सुरु गरेपछि कत्तिले मैले बोलेको बुझ्दैनन्, कत्तिले मैले गरेको उच्चारण बुझ्दैनन्, समस्या धेरै छ । मैले यसरी परीक्षा दिन थालेको धेरै वर्ष भयो तर कत्तिलाई यसरी परीक्षा दिन मिल्छ भनेर पनि थाहा हुँदैन ।’ आफ्नो परिवारले सहयोग गरे पनि आफन्तहरू भने ‘कहिले लड्छे र खुच्चिङ भन्छु ।’ भनौला भनेर बसेको उनको अनुभव छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई जिन्दगीमा सजिलै गर्न सकिने कामलाई पनि छुट्टै तरिकाले गर्नु पर्ने बाध्यता त छँदै छ, त्यसमाथि समाजले गरेको अवहेलना र बिचराको पात्र बनेर हाँसिहाँसी स्वीकार पनि गर्नु पर्ने स्थिति छ । त्यसैले पनि उनले बुझिसकेकी छिन्, ‘अधिकार मागेर होइन, खोसेर लिनु पर्छ ।’ परिवर्तन आफ्नो घरबाट सुरु हुनु पर्ने उनको तर्क छ । समाजलाई अपाङ्गता मैत्री बनाउनका लागि राज्यले नीति बनाउनु पर्ने उनी बताउँछिन् ।

हरेक व्यक्तिहरूको विचार र स्वतन्त्रताको सबैले सम्मान गर्नु पर्ने उनको धारणा छ । भन्छिन्, ‘मेरो समाजलाई देखेर म होइन मेरो समाजको विचार अपाङ्ग छ जस्तो लाग्छ । मलाई यो संरचना र मान्छेको सोचमा नै परिवर्तन आउनुपर्छ जस्तो लाग्छ ।’
यतिबेला, नेपालमा राष्ट्रिय जनगणना सुरु भएको छ । जनगणनामा कैयौँ परिवारले आफ्ना अपाङ्गता भएका सन्तानहरूको विवरण लुकाउने हुन कि भन्ने उनको चिन्ता छ । उनी भन्छिन्, ‘काठमाडौँमा मात्रै १७ हजार, एक सय २२ जना अपाङ्गता भएका व्यक्ति छन् । २०११ को जनगणनाले नेपालमा १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेको उल्लेख गरेको छ तर जनगणनामा देखाइएको भन्दा नेपालमा अपाङ्ग व्यक्तिहरू धेरै छन् । अहिलेको जनगणना अनुसार अझै धेरै मानिसहरू छन् होला तर राज्यले ती व्यक्तिहरूलाई कसरी अगाडि बढाउने र कसरी उपयुक्त वातावरणको निर्माण गर्ने भन्ने विषयमा रामो सँग सोचेको छैन ।”

‘जनगणनाले देखाएको अपाङ्गता भएका बालबालिका, युवा तथा वृद्धहरू कहाँ छन्? उनीहरूको अवस्था कस्तो छ?  उनीहरूको बाँच्ने आधार के हो? उनीहरूको अध्ययन सीपको विकास कसरी भइरहेको छ? परिवारमा कोही छन् छैनन् हेर्ने मान्छे ?’ उनले प्रश्न गर्छिन् ।
जनगणनामा उनीहरूको सबै खाले तथ्याङ्क खोजिनुपर्ने उनी बताउँछिन् । ‘अपाङ्गता छुट्टाछुट्टै प्रकारको हुन्छ । कोही भर्‍याङ चढ्न सक्दैनन्, कोही बोल्न सक्दैनन्, कोही लेख्न सक्दैनन् भने कोही हेर्न सक्दैनन् । यसको पहिचान गरी त्यसलाई कसरी हल गर्न सकिन्छ भनेर समस्या समाधान गर्न सकेमा शारीरिक रूपमा असक्षम भनेर कहालिनु पर्दैन तर भिन्न तरिकाले सक्षम मान्छेको जन्म भयो भनेर सोच्न सकिन्छ ।’

अपाङ्गता भएका व्यक्तिहरूको हितका लागि विभिन्न सङ्घसंस्थाहरू कृृयाशील छन् । उनीहरूका लागि छुट्टै कानुन समेत बनेका छन् । तर, नेपाली समाज भने अपाङ्गमैत्री छैन ।

यद्यपि, अबुझ सामाजिक संरचनाका कारण पनि घर परिवार र समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज वातावरण हुन सकेको छैन । सहज तथा सरल वातावरण निर्माण गरेर उनीहरूलाई अध्ययनका साथै सीपमूलक तालिम दिन सके उनीहरूको जीवन सहज बन्न सक्छ । साथमा सपाङ्ग व्यक्तिहरूको साथ र माया सधैँ आवश्यक हुने गर्छ ।

अपाङ्गता हुनु भनेको शरीरको कुनै अङ्गले काम गर्न नसक्नु हो । अपाङ्गता भएका व्यक्तिहरूले फरक तरिकाले आफ्नो काम गर्न सक्छन् ।
अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अवसर दिएको खण्डमा उनीहरूले सपाङ्गसरह काम गर्न सक्छन् भन्ने सोच बनाउनु आजको आवश्यकता हो ।

सम्बन्धित खबर