काठमाडौंमा शंकाष्पद धन्दा गर्नेहरु गोरखाबाट कांग्रेस उम्मेदवार : फेक रेस्क्युदेखि ठगीसम्म !

diyopost.com
दियो पोस्ट  बिहिबार, आश्विन १४, २०७८ | १९:५४:३४

गोरखा । स्थानिय तहमा राजनीति गर्नु फलामको चिउरा चपाउनु सरह हो । कांग्रेस वा कम्युनिस्टका कार्यकर्ताहरु एक अर्कासँग संघर्ष गरेर गाउँघरमै टिकेर बस्नु निकै कठिन काम हो । बेरोजगारी, अभाव र गरिबीको समस्यासँग लड्नु त छँदैछ अर्को दलसँग लड्नु भिड्नु पनि स्थानिय तहका नेता कार्यकर्ताको दैनिकी हो ।

व्यक्तिगत ईच्छा र चाहानाहरुलाई तिलाञ्जली दिएर जनताको घर दैलोको समस्या बोकेर केन्द्रसम्म धाउनेपनि स्थानिय नेता कार्यकर्ता नै हुन् ।
तर, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा काठमाडौंमा रहेर विभिन्न शंकाष्पद धन्दा गर्नेहरु स्थानिय तहमा उम्मेदवार बनेको पाइएको छ । यो समाचार गोरखा जिल्लाको हो ।

गोरखामा रहेर कम्युनिस्ट र अन्य दलसँग संघर्ष गर्दै आएका कांग्रेस नेता कार्यकर्ताहरुले अब काठमाडौंमा रहेर ठगी धन्दा चलाउनेहरुलाई भोट दिनुपर्ने भएको छ । त्यस्ता व्यक्तिहरुले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको पाइएको छ ।

को–को छन् चिन्नुहोस् 

 

सहकारीको आवरणमा ठगीधन्दा चलाउने र फल्चा हडप्ने व्यक्ति उम्मेदवार !

राजनीति समाज सेवा हो । तर, यस्तो पवित्र कर्ममा आउने ‘अपवित्र’ व्यक्तिको पहिलो नम्बरमा पर्छन् सुरेन्द्र भण्डारी । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था नामक सहकारीबाट दर्जनौँको घरबार विहिन बनाएर ठगी गरेको आरोपमा छानबीनमा परेका व्यक्ति हुन्–सुरेन्द्र भण्डारी । उनीमाथि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबी, राष्ट्र बैंक लगायतले छानबीन गरिरहेको छ । तर, शक्ति केन्द्रको आडमा उनले उन्मुक्ति पाउँदै आएका छन् । उनै भण्डारीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन् । उनले गोरखा क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेता तथा सभापतिका उम्मेदवार विमलेन्द्र निधि समलग्न रहेको महेन्द्र नारायण निधि मेमोरियल ट्रष्टलाई सहकारीबाट करोडौँ रकम आर्थिक सहयोग गरेबापत उनलाई निधिले बोक्दै आएका छन् । निधिकै सिफारिसमा उनले कांग्रेस निकट वित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिव हात पारेका थिए । कांग्रेस नेताहरु आनन्द ढुंगाना, गृहमन्त्री बालकृष्ण खाँडसँग समेत उनको रहस्यमयी र शंकाष्पद सम्बन्ध छ । किन भने ढुंगाना र खाँडले ललितपुरमा निर्माणाधिन ऐतिहासिक समय फल्चा निर्माण रोक्न चर्को दबाव दिएका थिए । कांग्रेसबाटै निर्वाचित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अनावश्यक दबाव दिने र फल्चा निर्माण रोक्न गृह प्रशासनकै दुरुपयोग गरेर पत्राचार गरिएको थियो । निकै सालिन तथा आर्थिक विवादमा समेत नआएका महर्जनलाई भण्डारीले कांग्रेसी नेताहरुकै घेराबन्दी गरेर समस्यामा पार्दै आएका छन् ।

२०६ वर्ष पुरानो फल्चा हडपेर सहकारीको भवन बनाएपछि उनलाई ललितपुरका नेवार समुदायले चर्को आलोचना गर्दै आएका छन् । नेवार समुदाय उल्टिएपछि सहकारीका कर्मचारीनै भागाभाग हुनुपर्ने अवस्था समेत आएको थियो । उनै भण्डारीले समाजवादको नारा दिएर कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन् ।

फेक रेस्क्युको धन्दा चलाएर अकुत सम्पत्ति आर्जन गरेपछि नेता बन्ने चाह !

नेपाल भ्रमणमा आउने पर्यटक पदयात्री पर्यटकलाई उद्दारको नाममा ठगी गर्ने गिरोहको नाइके मध्ये हुन्– प्रेम कुमार खत्री । उनीद्वारा सञ्चालित एस द हिमालय नामक कम्पनिले नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई उद्दारको नाममा चरम रुपमा ठगी गरेको पुष्टि भएको थियो ।

ठगी प्ररणबारे छानबीन गर्न तत्कालिन पर्यटन मन्त्रालयका उपसचिव घनश्याम उपाध्यायको नेतृत्वमा गठित कार्यदलले उनको कम्पनिलाई कारबाही गर्न सिफारिस गरेको थियो । कार्यदलको सिफारिसको आधारमा खत्रीको कम्पनिलाई सिआइबीले समेत छानबीन गरेको थियो । तत्कालिन सिआइबी प्रमुख तथा हाल एआइजी निरज शाहीलाई मोटो रकम बुझाएर खत्रीले ठगीमा कारबाही हुनबाट उन्मुक्ति पाएका थिए । यद्धपी उनीमाथिको छानबीन अझै सकिएको छैन । उनै खत्रीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन् । गोरखाको आरुघाट ८ स्थायी घर भएका खत्रीले क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन् ।

फेक रेस्क्युका अर्का अभियुक्तको उम्मेदवारी

पदयात्री पर्यटकलाई उद्दारका नाममा ठगी गर्ने गिरोहको अर्का नाइके हुन् देवेन्द्र वाग्ले । उनले पनि महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन् । भ्रष्टाचार ठहर भएपछि जेल सजाय भोगेर बाहिरिएका चिरञ्जिवी वाग्लेका छोरा रहेका देवेन्द्रले गोरखाको क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् ।

 

उनको स्वामित्व रहेको नेपाल भिजन ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लीलाई कारबाही गर्न पर्यटन मन्त्रालयले सिफारिस गरेको थियो । उनको कम्पनिमाथि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले कारबाही गरेको हो ।

 

कालोधन ओसार पोसारमा समलग्न बजगाइँ पनि उम्मेदवार !

विभिन्न पेशा व्यावसायमा समलग्न रहेका राजेन्द्र बजगाइँको मुख्य धन्दा जुवा अर्थात क्यासिनो हो । तर, उनले क्यासिनो धन्दाकै बीचमा गरेको एउटा कारोबार भने शंकाष्पद छ । कालोधनको शंकाष्पद ओसार पोसार गरेको विषयमा खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले खुलाशा गरेको थियो ।

उनले ३ अर्ब रुपैयाँ नेपाली कालोधन भित्र्याएको खुलाशा भएको थियो । उनको स्वामित्व रहेको होटल म्युजियमले टुकुचा खोला नै हडपेर संरचना निर्माण गरेको छ । तर, पनि सरोकारवाला निकायले कुनै कारबाही गरेको छैन । उनले गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

उनी गोरखा क्षेत्र नम्बर एक खका प्रदेश सभाका पराजित उम्मेदवार समेत हुन् । उनीसँगै माइलो भनिने नन्द प्रसाद काप्रीले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । उनी पनि क्यासिनो दलाल हुन् ।

 

सम्बन्धित खबर