‘एक हप्ता सामाजिक सञ्जालबाट टाढा बस्दा तपाईको मानसिक स्वास्थ्यमा सुधार ल्याउछ’

बेलायतको बाथ युनिभर्सिटीको अध्ययन

दियो पोस्ट  

काठमाडौं, असोज १९ । इन्स्टाग्राम, फेसबुक, ट्वीटर, टिकटक, स्नापच्याट आज विश्वका धेरैजसो व्यक्तिहरूले निश्चित रूपमा यी सोशल मिडिया एपहरू प्रयोग गरिरहेका छन् । जसका कारण तनाव, चिन्ता र डिप्रेसन जस्ता मानसिक रोगको सिकार भइरहेका छन् । यी रोगहरूबाट बच्न स्वास्थ्य विशेषज्ञहरूले डिजिटल डिटक्सको अवधारणाको खोजी गरिरहेका छन् ।

हालै बेलायतको बाथ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले एक अनुसन्धानमा भनेका छन्, सामाजिक सञ्जालबाट एक हप्ताको ब्रेकले तपाईको मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्छ । अर्थात्, यदि तपाई डिप्रेसन र एन्जाइटीका लक्षणहरूसँग संघर्ष गर्दै हुनुहुन्छ भने, त्यसलाई एक हप्तामा कम गर्न सकिन्छ।

डिजिटल डिटक्स के हो ?

विज्ञहरूका अनुसार मानिस जसरी रक्सी र चुरोटको लतमा फसेका छन्, त्यसरी नै भर्चुअल संसारमा बाँच्ने बानी परेको छ । उनीहरुले चाहेर पनि यसबाट बाहिर निस्कन सक्दैनन् । यस्तो अवस्थामा आफूलाई प्रविधिको जालबाट टाढा राख्न केही समय डिजिटल बिदामा जानुलाई ‘डिजिटल डिटक्स’ भनिन्छ ।

यसरी गरियो अनुसन्धान

शोधकर्ताहरूले यस अनुसन्धानमा १८ देखि ७२ वर्षका १५४ जनालाई समावेश गरेका थिए । उनीहरुलाई दुई समूहमा विभाजन गरिएको थियो । पहिलो समूहलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइए पनि दोस्रो समूहले भने सामाजिक सञ्जालको प्रयोगलाई निरन्तरता दिएको छ । सहभागीहरूले सामाजिक सञ्जाल एपहरू खेल्न हप्तामा औसत ८ घण्टा बिताए ।

एक हप्ताको अनुसन्धानपछि सहभागीहरुको ३ वटा परिक्षण गरिएको थियो । यसमा डिप्रेसन र एन्जाइटीसँग सम्बन्धित प्रश्नहरू थिए । परिणामहरूले वारविक-एडिनबर्ग मानसिक कल्याण स्केलमा एक हप्ताको विश्राम लिने समूहको स्वास्थ्य ४६ बाट ५५.९३ मा बढेको फेला पार्यो । साथै, बिरामी स्वास्थ्य प्रश्नावली-८ मा उनीहरूको डिप्रेसन स्तर ७.४६ बाट ४.८४ मा आयो । यस मापनमा, चिन्ता ६.९२ बाट ५.९४ मा घट्यो ।

सामाजिक सञ्जालबाट छोटो ब्रेक पनि उपयोगी

अनुसन्धानकर्ता जेफ ल्याम्बर्ट भन्छन्, एक हप्तामा पहिलो समूहका मानिसहरूको मुडमा सुधार भयो र चिन्ताको लक्षणहरू कम भयो । यसको मतलब सामाजिक सञ्जालबाट सानो ब्रेकले पनि मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।

डेली मेलको रिपोर्ट अनुसार बेलायतमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या २०११ मा ४५ प्रतिशतबाट बढेर २०२१ मा ७१ प्रतिशत पुगेको छ । साथै, १६ देखि ४४ वर्ष उमेर समूहका ९७ प्रतिशत व्यक्तिहरूले सामाजिक सञ्जाल एपहरू प्रयोग गर्छन् । प्रयोगकर्ताहरूको सबैभन्दा सामान्य गतिविधि एपहरूमा सामग्री ‘स्क्रोल’ गर्नु हो । यस्तै केही अध्ययन अमेरिका र बेलायतमा पनि भइसकेका छन् ।

सम्बन्धित खबर