काठमाडौं । नेकपा (एमाले)सँग सहकार्यको कसरत गरिरहेको जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीको पद धरापमा पर्ने देखिएको छ । सत्ता गठबन्धन छाडेर प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गरेपछि चार मन्त्रीको पद धरापमा पर्ने देखिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादवको जिम्मेवारी खोस्ने भएका छन् ।
०७४ मा पनि तत्कालीन सत्ता सहयात्री दल नेकपा माओवादीले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । अहिले पनि सोही परिस्थिति आएको छ ।
निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना भने छैन । निर्वाचन आयोगका सह-प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्ने नमिल्ने बताएका छन् ।
आज बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिए । बिहीबारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।
लोसपाका नेता अनिल झाले सत्तारुढ गठबन्धनको वार्ताका आधारमा तालमेल हुने वा नहुने निश्चित हुने जानकारी दिए ।
कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट गरिसक्ने उनले बताए। निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रुपमा दिन निर्णायक वार्ता भइरहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्नेछ । यसका लागि अब भोलिसम्म समय बाँकी रहेकाले पनि आजै बाँडफाँट सक्न चार दल लागेका हुन् ।