काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाउने पक्का भएको छ ।
अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले अछाम—१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट दिएन। रावलले लड्ने अछाम १ बाट झपट बोहरा अब प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । अध्यक्ष केपी ओलीको कटु आलोचकको छबी बनाएका रावलबारे ओली यसअघि देखि नै रुष्ट थिए ।
नेकपाको एकता बदर हुँदाताका माधव प्रचण्ड समूहमा रहेका रावल एमाले विभाजन भएपछि भने एमालेमै बसेका थिए । उनको स्थानमा टिकट पाएका बोहरा बैंक डुबाएर सम्पत्ति लिलामीको सुचनामा समेत प्रकाशित भइसकेका व्यक्ति हुन् ।
सुदुरपश्चिम सरकारका पूर्व आर्थिक मामिला मन्त्री मन्त्री समेत रहेका बोहरा दम्पत्तिको सम्पत्ति लिलाम विक्री हुने सुचना प्रकाशित भएको थियो । सनराईज बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले १५ दिन भित्र सम्पत्ति लिलामी गर्ने सुचना निकालेको हो ।
गत फागुनमा प्रकाशित एक दैनिक पत्रिकामा बोहरा र उनको पत्निको तस्विर समेत छापिएको छ । यसअघिको एमाले माओवादीको संयुक्त सरकारमा उनी आर्थिक मामिला तथा योजना मन्त्री थिए । समिकरण बदलिएपछि गत पुस २२ गते उनले पदबाट राजिनामा दिएका थिए ।
मन्त्री बोहराले सञ्चालन गरेको जेबी अटोबोइल्सले लिएको ऋण नतिरेपछि बैंकले सम्पत्ति लिलामीको सुचना निकालेको थियो । बैंकले बोहोराका छोरा कृष्ण बहादुर बोहराको तस्विर समेत पत्रिकामा छापेको थियो । उनीसमेत जमानतकर्ता भएका कारण बैंकले लिलामी सुचना निकालेको हो ।
बैंकले बैंकको नाममा हाइपोठिकेशन अन्तर्गत धितो सुरक्षण गरिएको ऋणी फर्मको स्टकमा रहेको मालसामानहरु लिलामी गर्ने सुचना निकालेको थियो ।
स्रोतका अनुसार सम्पत्ति लिलामीको सुचना निकालेपछि उनलाई बैंकले कालो सुचीमा राख्न समेत कर्जा सुचना केन्द्रलाई पत्राचार गरेको थियो ।