घनश्याम भुसालले प्रतिनिधिसभाको टिकट नपाउने निश्चित

दियो पोस्ट  

काठमाडौँ । नेकपा एमालेले पूर्वउपमहासचिव घनश्याम भुसाललाई पनि प्रतिनिधिसभाको उम्मेदवार नबनाउने निश्चित भएको छ ।

अध्यक्ष ‌केपी शर्मा ओलीको पार्टी सञ्चालन प्रक्रियाको आलोचना गर्दै आएका भुसालले अघिल्लो पटक जितेको रुपन्देही ३ एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ । पूर्वउपाध्यक्ष भीम रावललाई पनि एमालेले टिकट दिएन ।

शुक्रबार साँझ अध्यक्ष ओली निवास बालकोटमा दुवै पार्टीबीच भएको वार्तामा ३ वटा निर्वाचन क्षेत्रको टुंगो लागेको स्रोतले जनाएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार साँझ सीट बाँडफाँटको विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको थियो । राप्रपाले सो क्षेत्रबाट दीपक बोहोरालाई उम्मेदवार बनाउने छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भुसालले बोहोरालाई पराजित गरेका थिए ।

स्थायी कमिटीका सदस्य भुसालसहितका तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे, दुर्गा भुसाल तथा सर्वजीत शाहको नाम सिफारिस गरेको थियो । भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न चाहेका थिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र जिल्ला कमिटीले भुसालको नाम सिफारिस गरेपछि प्रदेश कमिटीले रुपन्देही १ बाट सचिव छविलाल विश्वकर्माको नाममात्रै सिफारिस गरेको थियो । रुपन्देही १ बाट विश्वकर्माले टिकट पाउने निश्चित छ ।

सम्बन्धित खबर