देशभर मनोनयन दर्ता सुरु

प्रतिनिधि शभा तथा प्रदेश सभा चुनाव २०७९

दियो पोस्ट  

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता प्रक्रिया शुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि निर्वाचन आयोगले तय गरेको छ ।

सोही कार्यतालिका अनुसार देशैभर प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपराह्त ३ बजेसम्म, मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।

यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।