काठमाडौँ । टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोपमा जेलमा रहेका रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने भएका छन् ।
बर्दिया २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिसनामामार्फत उनले उम्मेदवारी दर्ता गरेका छन् । श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन् ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका थिए । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो ।
उक्त हत्याको अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा छन् । उनलाई टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप छ ।