दिपक मनाङे निर्विरोध संसदमा निर्वाचित : यी हुन् मनाङेलाई जिताउने स्वतन्त्र उम्मेदवार !

दियो पोस्ट  

कास्की । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङे भनिने राजीव गुरुङ मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ निर्विरोध निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका उनी अन्तत निर्विरोध निर्वाचित भएका हुन् । औपचारिक घोषणा भने हुन बाँकी छ ।

उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उमेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ ।

गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् ।

मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा (एमाले) तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उमेदवारी उठाएका छैनन् ।

यसैबीच मनाङे र लामा लामो समयदेखि निकट रहेर काम गरेका व्यक्ति भएको खुलेको छ । उनीहरु दुवै जना एकै स्थानमा बसेको तस्विर फेला परेको छ ।

एमालेकै पहलमा स्वतन्त्र उम्मेदवार दोर्जेलाई उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘१’ का उम्मेदवार राजनबहादुर गुरुङले बताए ।

‘हाम्रो पहलमा राजीव गुरुङ र दोर्जे लामा गुरुङबीच छलफल भयो । हामीले फिर्ता लिएर राजीवलाई निर्विरोध गर्न अनुरोध गर्‍यौं । दोर्जेले स्वीकार गर्नुभयो,’ उनले भने, ‘दोर्जेले फिर्ता लिनेबित्तिकै राजीव निर्विरोध हुनेभयो ।’ डेंगु संक्रमित मनाङे भने उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं गएका छन् ।

सिफारिस