उम्मेदवारी फिर्ता लिन धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमलाद्वारा हेलिकोप्टर चार्टर

दियो पोस्ट  

धादिङ । नेपाली कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलाले अन्तत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेद्वारी दिएका कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारी विरुद्ध बागी उम्मेद्वारी दिएका धमलाले बुधबार उम्मेद्वारी फिर्ता लिएका हुन् ।

धमलाले धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट सदस्यका लागि उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीका कारण जिल्ला सभापति तथा उम्मेदवार रामनाथ अधिकारी सबैभन्दा बढी समस्यामा परेका थिए ।
पार्टी भित्र शेखर समुहमा रहेका धमलाले टिकट पाउने चर्चा थियो । उनले आफूले टिकट पाइसकेको समेत बताउँदै आएका थिए । शेखर समुहबाट टिकट हात पारेपनि सोही समुहमा रहेका अधिकारीले देउवासँग टेलिफोन वार्ता गरि आफूपनि संस्थापन तर्फ लाग्ने संकेत गरेपछि टिकट फेरी रामनाथको पोल्टामा पुगेको थियो ।

‘साथीहरुको चिन्ता र अनुरोधलाई मैले नकार्न सकिनँ । म जुनदिनदेखि राजनीतिमा आएँ । नेपाली कांग्रेसको विद्यार्थी भएर आएँ । आज जुन ठाउँमा छु नेपाली कांग्रेसकै कारण छु,’ उनले भनेका छन्,‘सबै त्याग्न सक्छु तर नेपाली कांग्रेस त्याग्न सक्दिनँ । तमाम कार्यकर्ता र साथीहरुको मनोभावनालाई त्याग्न सकिनँ । त्यसैले नेपाली कांग्रेस र गठबन्धनका साथीहरुलाई सहयोग गर्नका लागि मेरो भूमिका अझैपनि विशेषगरि कार्यकर्ता र सुभेच्छुकहरुको आग्रहलाई मैले नकार्न नसकेर मेरो उम्मेदवारी फिर्ता लिएँ ।’

हेलिकोप्टर चढेर जिल्ला सदरमुकाम धादिङवेशी पुगेका उनी उम्मेदवारी फिर्ता लिए लगत्तै हेलिकोप्टरमै काठमाडौं फर्किएका छन् ।

 

सम्बन्धित खबर