यस वर्षको मदन पुरस्कार विजेता साहित्यकार नबराज लम्सालको अन्तरवार्ता हेरेपछि मलाई पनि केहि मनका हुटहुटी बगाउन मन लाग्यो । उनी भन्छन्– मारिन तयार छु तर द्वैध चरित्र लिएर बाँच्दिनँ । हो यस्तै सोच मभित्र पनि पटक पटक आउँछ । किन हो थाहा छैन म भित्रको चेतन मनले न असत्य स्वीकार्न दिन्छ न अन्याय सहन । जीवनमा थोरबहुत चेतना घुसेको कति पो भयो होला र ? तै पनि मैले सम्झेसम्म कुनै पनि परिस्थितिमा असत्यसँग सम्झौता गरेको छैन । बरू जानेर, बुझेर सक्छु भनेर गर्न खोजेको काम भनेजस्तो गर्न नसक्दा परिस्थितिलाई भन्दा पनि आफैँलाई जिम्मेवार ठानेर हात उठाएर सरेन्डर गरेर हिँडेको छु । अनेक हतकण्डा लगाएर द्वैध चरित्र प्रस्तुत गरेर सफल बन्नुपर्छ भन्ने मैले जानिनँ ।
आखिर जीवन के हो र ? हामीले विराट सफलता प्राप्त गरेका विलक्षण प्रतिभाका खानी भनेर महाकवि ठानेका देवकोटाले पनि आफ्नो जीवन कालको अन्त्यमा आफ्ना सबै कृति ‘जलाइदिए हुन्छ’ भने त । के देवकोटाले जीवन, संघर्ष, सफलता आदि नबुझेका होलान् त ? के त्यसो भन्नुमा देवकोटाको गल्ती हो त ? साँच्चै उनले भनेजस्तो गरेको भए के पो हुन्थ्यो होला र उनकै लागि ? यो प्रसङ्ग जोड्दा मलाई लाग्छ के महान् भनिएका सहित्यकार शेक्सपिएर अहिले विश्वले पुकारेको उनका साहित्यको सफलतामा मक्ख पर्दै होलान् त ? कार्लमाक्र्स उनले सोचेको यूटोपिएन समाज निर्माण नहुँदा दुखित हाेलान् त ? यी र यस्ता रेटोरिक्सहरूले मलाई बेलाबेलामा उथलपुथलको सोचाइमा धकेलिदिन्छ ।
“म के जान्दछु भने म केहि पनि जान्दिनँ” यो जसले भने उसैलाई हामी विद्वान् दार्शनिक मान्दछौँ । के सुकरातले साँच्चै केही पनि नजान्ने ठानेर आफूलाई त्यसो भने होलान् त ? भनिन्छ साँचो ज्ञान भनेको आफ्नो निर्दोषपन वा अज्ञानता कति छ भनेर जान्नु हो । यस्तो ज्ञान प्राप्त गर्ने माध्याम केवल विचार हो । विमर्ष हो । अन्तर संवाद हो । आफैँले आफ्नो बारेमा जो निर्भयका साथ ओकल्न सक्छ नि वास्तवमा ऊ ज्ञानी हो । मलाई लाग्छ जीवनका बारेमा राम्ररी बुझेका हामीले देखेका, भोगेका र सुनेका हाम्रै पालाका भनेर गर्व गर्न मिल्ने व्यक्ति भर्खरै स्वर्गीय भएका प्रदिप गिरी हुन् । मैले जाने, बुझे र भोगेअनुसार उहाँमा जीवनप्रतिको आशक्ति थिएन । जीवनलाई सहज रूपमा लिएर सहज रूपमा अन्त्य गर्ने क्षमता जो कोहिमा हुन्छ भन्ने छैन । जसले जीवनभर वि.पि.ले निर्माण गरेको पार्टीमा लागेर उहाँका कमजोरीलाई औँल्याउँदै वि.पि. लाई देवत्वकरण गर्ने हचुवाका मनुवाहरूलाई चेतनाको आलोक भर्न सक्ने क्षमता राख्नुभयो । जसले उहाँको ढोका खोलेर खोज्दै कोठाभित्र आएको मन्त्री पदलाई अस्वीकार गर्नुभयो । अपसोच ! आज हामी यस्तो परिवेशमा छौँ कि एउटा वडाको नेतृत्व गर्न अपाच्य तिकडमहरू गर्दै सत्ता प्रप्त गरेर त्यसको भोग गर्दे जनतालाई दास सम्झिरहेका छौँ ।
मैले देखेको छु । भोगेको छु । घरमा एउटा कुरा र व्यवहार । बाहिर अर्कै कुरा र व्यवहार । तर घटना उही अनि व्यक्ति पनि उही । हाम्रो परिवेशमा राजनीति गर्ने नेता भनौदाहरूलाई त भन्ने मेरो शब्द नै छैन । जसले आज यो युगमा पनि समाजलाई हिलो छ्यापेर आफूलाई काँचको सुन्दर महलभित्र सजाएका छन् । तिनीहरूको उदाङ्गो चरित्रको बयान के गर्नु ? म र मजस्ता पढेलेखेकामा गनिनेहरूका कुरा गर्ने हो भने आफैँलाई उदेक लाग्छ । हाम्रा गतिबिधि देख्दा लाग्छ हामी पटक—पटक जन्मिनेछौँ । जसको इतिहास पनि हामी आफै लेख्दै छौ । भविष्य पनि आफैले जानेका छौ । समाजमा आफू जसरी पनि स्थापित हुन सके जरा गाड्न लागि परिरहन्छौँ । हामी विद्घान् पण्डितहरू त कक्षा कोठामा गएर राज्यले कर राम्ररी उठाउन सक्दैन अनि कसरी विकास हुन्छ त भन्दै गर्जन गर्छौं । कक्षाबाहिर निस्किएपछि आफूचांिहँ कसरी कर छल्न सकिन्छ भन्दै सोच्न पनि नसकिने हतकण्डा अपनाउँछौ । त्यही कक्षामा गएर हाम्रो देश नेता र भ्रष्टाचारले सकिएको हो भन्ने अनि बाहिर निस्केर नेता कता छन् भन्दै हिँड्ने । पाए सम्म योजना कुम्ल्याउन लागि पर्ने अनि बाँडिचुँडीमा काम फत्ते गरेको विवरण बनाउने । हामी तिनै पण्डित आफू वर्षौँसम्म एउटा नयाँ पुस्तक नपढ्ने अनि आफ्ना शिष्यहरूले पढेनन् भनेर अलाप विलाप गर्ने । भो यी तथ्यहरूका बिट मारौँ । नत्र फेरि पङ्तिकारलाई तैँले के लेखिस् ? त चै को होस् ? भनेर आँखा तर्लान् मुर्मुरिएलान् ।
जिन्दगी दोहो¥याएर पाइन्छ भन्नेमा मलाई विश्वास छैन । पाएको जीवनमा पनि केही गर्न सकँे भन्ने पटक्कै लाग्दैन । आजसम्म जे गरेँ गरिहेको छु, फगत आफ्नो मजबुरीका लागि हो । भन्दिनँ मैले कसैलाई या समाजलाई ठूलो योगदान गरेँ । पच्चिस वर्ष भयो पेशामा लागेको कसैसँग केही नलिई कुनै दिन पढाइदिएको छैन । बरु दिल खोलेर भन्न सक्छु । जागिरमा झुण्डिएको दिनभन्दा अगाडि केही वर्षहरूमा आफ्नो टोल छिमेकका भाइबहिनीहरूलाई आफूले जानेको ज्ञान निशुल्क बाडेँ । साथीसङ्गीको रूपमा । नत्र भने सित्तैँमा त्यस्तो केही गरेजस्तो लाग्दैन । मैले नजानेको नबुझेको कुरोमा पण्डित्याइँ गर्न पनि मन लाग्दैन । गर्न पनि नपरोस् भन्ने लाग्छ ।
मनमा सँधै एउटा प्रश्नले चाहिँ सताएर नै राखेको छ । कतिपटक त त्यसले उखरमाउलो मच्चाएको छ । कति निद हराम भएको छ । हजारौँ चोटी टोलाएको छु । आफैँलाई बोलाएको छु । झकझकाएको छु । घण्टौँ चिन्तनमनन गरेको छु । संलेषण, विश्लेषण गरेको छु । मनलाई दरिलो बनाएको छु । कुनै बेला फेरि मन कोमल बनाएको छु । छियाछिया पार्न पनि खोजेको छु । सपना, चहानामा अन्तरघात गर्छ कि यो मनले भनेर सोचमग्न भएको छु । के मैले यो दुनियाँले फोहोरी देखेको राजनीति कर्मबाट समाजका लागि केही गर्न सक्दिन ? यही छ, हाल दिनचर्याको मेरो विषयवस्तु । आजकाल म कम मात्रामा नै बाहिर निस्कन्छु । पेशागत कर्म र स्वअध्ययनबाहेक अरूमा खासै समय दिएको छैन । सोचेको छु अब केही वर्षमा पेशालाई विश्राम दिएर त्यो चुनौतीको पहाड उक्लन प्रयास गर्ने छु ।
पटक पटक सम्झिन्छु अनि झस्किन्छु आफ्नै सोचाइलाई । जुन मैले आलेखको सुरुमा नै राखेको छु – के म बरु मारिन तयार छु । द्वैध जीवन जिउँदिन भन्नेले आजको राजनीतिमा लागेर केही लछारपाटो लगाउँला त ? म सोचमग्न छु ।