सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

दियो पोस्ट  

काठमाडौं । सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। लामिछानेलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो चौथो पटक म्याद थपिएको हो।

पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। पहिलोपटक ७ दिनको म्याद दिइएको थियो। दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो। असोज २७ गते ५ दिनका लागि म्याद थप गरी अनुसन्धान गर्न अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो। त्यसपछि गत बुधबार थप चार दिन म्याद अदालतले दिएको थियो। आइतबार पुनः दुई दिनको म्याद अदालतले दिएको हो। गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो।

१७ वर्षीया भनिएकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए। असोज २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी पेश गरेका थिए।

यससँगै सन्दीप तिहारसम्म हिरासतमै रहने भएका छन्। भोलिबाट अदालत बिदा हुने भएकाले उनी तिहारसम्म हिरासतमै रहने निश्चित भएको हो। तिहार लगत्तै सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता हुनेछ।

सम्बन्धित खबर