काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा नेपाल समाजवादीले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ लाई मूल नाराको रुपमा अघि सारेको छ । आइतबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता जनाइएको छ । जसमा नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीलाई समेटिएको छ ।
यसैगरी भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई पनि नेपाल समाजवादीले आफ्नो एजेण्डा प्रस्तुत गरेको छ । प्रतिबद्धतापत्रमा संविधान संशोधनमार्फत भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ भने संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुईतिहाइ मत दिन अपिल गरेका छन् । राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने नेसपाले उल्लेख गरेको छ । राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने भट्टराईले उल्लेख गरे ।
नेपाल समाजवादी पार्टी माओवादीको चुनाव चिन्ह हँसिया-हतौडाबाट चुनाव लड्दैछ । सस्तो र भरपर्दो स्वास्थ्य सेवा, सरकारी विद्यालयबाटै प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा उपलब्ध गराउने उल्लेखख गरिएको घोषणापत्रमा हरियो, सफा र खुल्ला सहर बनाउने एजेण्डा सो पार्टीले समेटेको छ ।
सबैको राम्रो स्वास्थ्य, जनताकेन्द्रित आर्थिक विकास, सबैलाई विश्वस्तरीय शिक्षा, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचाररहित सरकार, चुस्त सेवा दिने सरकार, सामाजिक न्याय/समानता र वातावरणमैत्री जीवनशैलीलाई मुख्य बुँदा समेटेर घोषणापत्र सार्वजनिक गरिएको छ ।