पक्राउ पुर्जी जारी भएका फरार अभियुक्त महेन्द्र भोटेसँग कास्कीका एसपी थापाको गोप्य भेटवार्ता !

दियो पोस्ट  

कास्की । पोखरालाई आधार क्षेत्र बनाएर गुण्डागर्दी र ठगीधन्दामा सक्रिय शिव बहादुर बनिने महेन्द्र भोटे विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले सुर्यदर्शन सहकारीको करोडौँ घोटाला काण्डमा उनीसहित ग्यालेश्सी टेलिभिजनका मालिक गितेन्द्र बाबु राईलाई समेत प्रतिवादी बनाएर पक्राउ पुर्जी जारी गरेको हो । तर, पक्राउ पुर्जीपछि फरार अभियुक्तसँग कास्की प्रहरी प्रमुख एसएसपी मोहन थापाले भेटेको खुलाशा भएको छ ।
दुई हप्ता अघि सेप्टेम्बर १९ मा थापाले पोखरास्थित फिस्टेल लजमा भेटवार्ता गरेको खुलेको हो ।

नेकपा एमाले निकट युवा संघका केन्द्रीय उपमहासचिव समेत रहेका भोटेलाई वार्ता गराउनका लागि एमाले नेता तथा युवा संघका ईन्चार्ज महेश बस्नेत आफै उक्त फिस्टेलमा पुगेका थिए । उनको बास नै सोही होटलमा भएको थियो । फरार प्रतिवादी रहेका भोटेले पोखरामा ट्रेजर नामक नाइट क्लब संचालन गरेका छन् । उक्त क्लबमा विभिन्न आपराधिक घटना हुने भएकाले बस्नेतले नयाँ एसपीसँग चिनजान गराई भोटेको आपराधिक धन्दामा आँखा चिम्लन अनुरोध गरेको स्रोत बताउँछ ।

पोखरास्थित सुर्यदर्शन सहकारीको करोडौँ ठगीमा मुछिएका भोटेसहितलाई पक्राउ गरि कारबाही माग गर्दै स्थानिय पीडितहरुले आज पनि जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना तथा आन्दोलन गरेका थिए । भोटे

को तस्विर समेत लिएर उनीहरु सडकमा उत्रिएका हुन् । तर, एसपीको आशिर्वाद पाएका भोटे खुलमखुल्ला पोखरामै रहेको स्रोतको भनाई छ ।
भाटेसँग वार्ता भएको विषयमा प्रतिक्रिया लिन कास्की प्रहरी प्रमुख एसपी मोहन थापालाई पटक पटक फोन गर्दा उनले फोन उठाएनन् ।

जानकारी भई भई भेटेको पाइए कारबाही हुन्छ : प्रवक्ता कुवेर कडायत

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुवेर कडायत पक्राउ पुर्जी जारी भएको जानकारी हुँदा हुँदै भेटेमा त्यस्ता प्रहरी अधिकरीमाथि कारबाही हुने बताउँछन् । ‘यदि त्यसरी भेटेको जानकारी आयो भने सम्बन्धित अधिकारीमाथि छानबीन हुन्छ । पुष्टि भयो भने कारबाही पनि हुन्छ,’ उनले भने ।