न्युरोडको मिलन बहुउद्देश्यीय सहकारीमा करोडौँ घोटाला : कर्जा प्रमुख तुलाधरको अकुत सम्पत्ति !

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको मिलन बहुउद्देश्यीय सहकारी संस्थाका उच्च अधिकारीले सर्वसाधरणको बचत रकम हिनामिना गरेको खुलाशा भएको छ । रकम फिर्ता नपाएपछि पीडितहरु यतिबेला सहकारीमा भिड् लाग्न थालेका छन् ।
सहकारीको रकम आफ्नो कम्पनि जस्तै बनाएर कर्जा प्रमुख अनिल तुलाधरले करोडौँ रकम हिनामिना गरेको आरोप छ । करिब १६ सय बचतकर्ताले आफ्नो निक्षेप डुबाएको स्रोतको भनाई छ ।

पीडितका अनुसार असनबजारमा २०–२५ वर्षअघि सानोतिनो व्यापार गर्ने अनिल तुलाधार त्यसयता मिलन सहकारीमा आबद्ध भएका थिए । सहकारीमा आबद्ध भएपछि एकाएक उनको आर्थिक हैसियत माथि पुगेको, नयाँ गाडी, घर जग्गामा लगानी, सेयरबजारमा लगानी गरेको र बचतकर्तालाई झुक्याउन माहिर बनेको आरोप लागेको छ ।

कम्पनीमा अध्यक्ष भागवतकृष्ण श्रेष्ठ तथा सीईओ दिनेशबज्र बज्राचार्य भए पनि आफ्नो हालिमुहाली चलाउँदै आएका अनिल तुलाधारले सबै कर्जामा आफूअनुकूलको निर्णय गरेर दिएकाले अहिले संस्था समस्यामा गएको आरोप लाग्दै आएको छ । सहकारीले अहिले प्रतिग्राहक प्रतिहप्तामा बढीमा पाँच हजारका दरले भुक्तानी दिनेगरेको छ ।

सहकारीमा एक समय स्थानीय नेवारहरूले कसले बढी पैसा राख्ने भनेर प्रतिस्पर्धा समेत हुनेगरेको थियो भने पछिल्लो समय आफू तथा आफ्ना नातेदारको नाममा कर्जा लिएर आफ्नो निजी सम्पत्ति आर्जन गर्न लागेपछि संस्था समस्यामा गएको पीडितहरूले बताएका छन् ।

स्थानीयहरूले आफ्नै समुदायका व्यक्तिहरू मिलेर चलाएको सहकारी भनेर विश्वास गरेर बुढेसकालको सहारा भन्दै २० वर्षअघिदेखि बचत गरेको पैसा अहिले साँवा र ब्याज समेत सहकारीले नदिएपछि घर चलाउन नै समस्या परेको पीडितहरूको भनाइ छ । यस विषयमा कुरा गर्न पीडितहरू संस्थामा जाँदा कहिले अध्यक्ष नभएको त कहिले सीईओ नभएको भन्ने तथा कहिले तुलाधार आफू बाहिर छु भन्ने गरेर झुलाउने गरेको आरोप लागेको छ ।

सहकारीमा मुख्य भूमिकामा रहेको अनिल तुलाधारले आफ्ना लागि सम्पत्ति जोडेर सहकारीलाई समस्यामा पारी आफूहरूको घर चलाउन समेत समस्या पारेपछि केही पीडितहरू तुलाधारविरुद्ध सम्पति शुद्धीकरण विभाग लगायत विभिन्न निकायमा उजुरी गर्ने तयारीमा छन् ।