बझाङ भूकम्पः डिएसपी शाह भन्छन्, ‘अहिलेसम्म मानवीय क्षति भएको छैन’ (अपडेट)

दियो पोस्ट  

काठमाडौं । बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण ७ जना घाइते भएका छन‍्। भूकम्पका कारण सुदूरपश्चिमका जिल्लाहरूमा धक्का महसुस भएको छ। जसअनुसार बझाङमा ६ जना र अछाममा एक जना घाइते भएका हुन्।

बझाङमा सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई बझाङ जिल्ला अस्पतालमा लगिएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहका अनुसार जिल्लामा धेरै भौतिक संरचनामा क्षति भएको अनुमान छ। अहिलेसम्म मानवीय क्षति भएको छैन। उनले भने,’अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । भौतिक संरचनामा भने क्षति पुगेको छ । यस्तै तल्कोट गाउँपालिकामा किसानको एक बाख्रा मरेको भन्ने जानकारी आएको छ ।’

साथै घाइतेहरुको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनले भने,’घाइतेहरुको अवस्था सामान्य नै छ ।’

सदरमुकामका पक्की घरहरू चर्किएका छन्। गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन्। जिल्लामा भूकम्पका कारण जनजीवन प्रभावित बनेको छ। सुरक्षित ठाउँमा रहन जिल्ला प्रशासन बझाङले अनुरोध गरेको छ। कुन ठाउँमा कति क्षति भयो भन्नेबारे प्रहरीले तथ्यांक संकलन गरिरहेको छ।