पतिका हत्यारा गुण्डा नाइके रिगललाई आममाफी दिएको विरोधमा अनशन बसिन् भारती

दियो पोस्ट  

काठमाडौं । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले आजदेखि अनसन थालेकी छन् ।

न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन बसेकी हुन् । आज २ घण्टा अनसन बस्ने बताइएको छ । त्यसपछि उनको समर्थनमा आशिष मल्ल ठकुरी, दीपक थापा, गणेश जोशी अनसन बस्ने छन् ।

भारतीले आममाफी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन् । आज उनको मुद्दाको प्रारम्भिक सुनुवाइ छ ।

सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

रिपोर्टस क्लबमा मंगलबार उनले मान्छे मारेर आममाफी पाउने भए बदला लिनका लागि आफूलाई हतियार दिन सरकारलाई आग्रह गरेकी थिइन् ।